दक्षिण अमेरिकाको सबैभन्दा दक्षिणी हिस्सामा करिब ५ करोडको जनसंख्या भएको देश अर्जेन्टिना आज खुसीले झुमिरहेको छ । विश्वको सबैभन्दा धेरै हेरिने खेल फुटबल, त्यो खेलको महासंग्राम अर्थात् विश्व कपको आज अन्तिम खेल हुँदैछ । अर्जेन्टिनाका हरेक नागरिक एक व्यक्तिको समर्थनमा छ जसले आफ्नो सपनालाई पुनः बाँचेका छन्, जो विश्वम्भर त्यो देशको सबैभन्दा ठूलो पहिचान हो जसले टुटेको एक देशलाई नयाँ आशा दिए । नाम हो लियोनेल मेस्सी ।
अर्जेन्टिनाको इतिहासलाई हेर्ने हो भने यो देश सधैँ राजनीतिक र आर्थिक समस्यासँग जुधिरहेको छ । सन् १९८३ मा अर्जेन्टिनामा लोकतन्त्र आयो । त्यसअघि करिब ६ पटक सरकार बन्यो तर सैन्य कू भयो र सत्तालाई आफ्नो कब्जामा लियो । सन् १९८३ मा अर्जेन्टिनामा लोकतन्त्र आयो जुन अहिलेसम्म यथावत् रह्यो ।सन् १९८३ पछि अर्जेन्टिना पुरानो घाउ बिर्सिएर अघि बढिरहेको थियो, त्यसको केही समयपछि २४ जून सन् १९८७ मा यहाँ एउटा बालकको जन्म भयो । रोजारियोको मध्यम वर्ग परिवारमा जन्मिएका लियोनेल एन्ड्रेस मेस्सी अर्थात् लियोनेल मेस्सी । जसलाई विश्वले हालको समयमा सबैभन्दा उत्कृष्ट फुटबलरको संज्ञा दिएको छ । मध्यम वर्गीय परिवारका मेस्सीले कसरी फुटबलको दुनियाँमा आफ्नो जरा कसरी गाडे ? यसको पनि आफ्नै कहानी छ । आज यसबारे जानकारी लिऔँ ।

लियोनेल मेस्सीका बुवा एक कारखानामा काम गर्दथे जबकी आमा सर–सफाईको काम गर्थिन् । यद्यपि, फुटबलको माहौल घरमा थियो किनभने उनका बुवा पनि एक क्लबलाई कोचिङ दिन्थे । यस्तोमा लियोनेल मेस्सी ५ वर्षको उमेरमा नै एक क्लबसँग आबद्ध भए जहाँ उनले यो खेलको निकै साधारण जानकारी सिके । ८ वर्षको उमेरमा मेस्सीले आफ्नो क्लब परिवर्तन गरे र न्युवेल ओल्ड बोयज क्लबसँग आबद्ध भए । तर केही समय पछि एउटा यस्तो घटना घट्यो जसले हर कोहीलाई चकित बनायो ।
११ वर्षको उमेरमा लियोनेल मेस्सीलाई एउटा रोग लागेको पत्ता लाग्यो जसको नाम ग्रोथ हर्मोन डिफिसिएन्सी थियो । यो रोगको असर मेस्सीमा हुन्थ्यो भने सायद विश्वका एक शानदार फुटबलसँग भेट हुँदैनथ्यो । यो रोग लागेका जो पनि व्यक्तिको विकास रोकिन्छ, ११ वर्षको उमेरमा मेस्सी यसको चपेटामा परेको भए उनी पुड्को हुन्थे । यसको उपचार गर्नका लागि उनको परिवारसँग त्यति पैसा पनि थिएन ।

यसैबीच लियोनेल मेस्सीको फुटबलरको रुपमा विकास जारी थियो । रिवर प्लेटले मेस्सीलाई आफूसँग राख्न चाह्यो तर उसले मेस्सीको औषधीको खर्च उठाउन सक्दैनथ्यो । यसैबीच मेस्सीको भाग्य बदलियो । फुटबल क्लब बार्सिलोन त्यतिबेला साना बच्चामाथि निगरानी राखिरहेको थियो जुन फुटबलमा कमाल गरिरहेका थिए । ट्यालेन्ट हन्ट अन्तर्गत साना शहर, स्कूल, कलेज र भिन्न भिन्न क्लबमा यस्तो गरिँदै थियो ।
बार्सिलोना फुटबल क्लबका स्पोर्टिङ डायरेक्टर कार्ल्स रेजेकलाई लियोनेल मेस्सीबारे थाहा भयो, क्लबले उनलाई साइन गरायो । साथै रोगको औषधी र उपचारको पूरा खर्च उठाउने कुरा पनि गर्यो । एउटै शर्त राखियो कि मेस्सी अर्जेन्टिना छोडेर बार्सिलोना सिफ्ट हुनुपर्ने थियो । परिवार यसमा राजी भयो र यसरी लियोनेल मेस्सीको व्यावसायिक फुटबल करियरको सुरुवात भयो ।

सन् २००१–२००२ को समय लियोनेल मेस्सी युरोपमा सेटल हुन, क्लब ट्रान्सफरको औपचारिकता पूरा गर्नमा नै बित्यो । तर उनी बार्सिलोना–बी टिममा छानिए । यतिबेला उनले लगभग हरेक खेलमा एउटा न एउटा गोल त गरे नै । यस्तोमा सिजनमा उनले ३० खेलमा कुल ३५ गोल हाने । १४ वर्षको उमेरमा लियोनेल मेस्सी यो टिमको हिस्सा रहे र अघि बढ्दै गए । मेस्सी साना लिगमा नाम कमाइरहेका थिए र दिन प्रतिदिन माझिँदै थिए ।
करिब १७ वर्षको उमेरमा लियोनेल मेस्सीले २००४–०५ मा बार्सिलोना क्लबका लागि आफ्नो डेब्यू गरे । उनी तेस्रो सबैभन्दा युवा खेलाडी बने जसले बार्सिलोनाका लागि फुटबल खेले । १ मे २००५ मा लियोनेल मेस्सीले सिनियर टिमका लागि आफ्नो पहिलो गोल हाने, २४ जूनमा लियोनेल मेस्सीले सिनियर प्लेयर बार्सिलोनासँग आफ्नो कन्ट्र्याक्ट साइन गरे र त्यसपछि जे भयो त्यो इतिहास हो ।
मेस्सी छन् त सम्भव छ…
आइतबार फ्रान्सलाई हराएर अर्जेन्टिनाले यदि विश्व कप जित्छ भने मेस्सीको नाम पेले र डिएगो म्याराडोना जस्ता दिग्गज खेलाडीको सूचीमा दर्ता हुनेछ । यो बहसमा पनि विराम लाग्नेछ कि म्याराडोना र मेस्सीमा को महान ? देशका लागि उपाधि जित्न नसकेको मेस्सीको हरेक घाउमा मलमपट्टी लाग्नेछ ।
सात पटक बलोन डिओर, ६ पटक युरोपियन गोल्डेन सुज (रेकर्ड), बार्सिलोनासँग रेकर्ड ३५ उपाधि, ला लिगामा ४७४ गोल, एक क्लब (बार्सिलोना) का लागि सर्वाधिक ६७२ गोल गरिसकेका मेस्सीलाई विश्व कप जित्न नसकेको कुराले सधैँ पोल्छ । उनलाई थाहा छ, यो उनका लागि अन्तिम मौका हो, त्यसैले यसलाई स्मरणयोग्य बनाउनका लागि उनले कुनै कसर बाँकी राख्न चाहँदैनन् ।
.jpg)
अर्जेन्टिनाले जब अन्तिम पटक सन् १९८६ मा विश्व कप जिते तब म्याराडोना देशका लागि भगवान बने । उनको वरिपरि पुग्न सक्ने मेस्सी मात्रै थिए तर विश्व कप जित्न नसकेका कारण उनको महानतामाथि प्रश्न उठिरहे । औँला त्यतिबेला पनि उठ्याे जब सन् २०१४ मा फाइनलमा जर्मनीले अर्जेन्टिनालाई एक गोलले हराएको थियो । प्रश्न त्यतिबेला पनि उठे जब यो विश्व कपको पहिलो खेलमा नै साउदी अरबले मेस्सीको टिममाथि अप्रत्याशित जीत हासिल गर्यो । तर त्यो हारले अर्जेन्टिना र मेस्सीमा थप निखार ल्यायो भन्दा फरक पर्दैन । प्रत्येक खेलमा दुबैको प्रदर्शनमा निखार आयो र पछिल्लो उपविजेता क्रोएशियालाई एकतर्फी सेमिप्रतिस्पर्धामा हराएर ऊ यसपटक फाइनलमा पुग्यो । यो जीतका सूत्रधार पनि मेस्सी नै रहे जसले ३४ औँ मिनेटमा पेनाल्टीमाथि पहिलो गोल दागे र त्यसपछि जुलियन अल्वारेजको दुबै गोलमा सूत्रधारको भूमिका निभाए ।
विश्व कप र मेस्सी…
मेस्सीको विश्व कपको यात्रा सन् २००६ मा सुरु भयो र हालसम्म उनले सबैभन्दा धेरै २५ खेल खेलिसकेका छन् । विश्व कपको इतिहासमा अर्जेन्टिनाका लागि सर्वाधिक ११ गोल गरिसकेका छन् । रोसारियोमा सन् १९८७ मा एक फुटबल प्रेमी परिवारमा जन्मिएका मेस्सीले पहिलो पटक घरको आँगनमा आफ्ना भाइहरुसँग फुटबल खेल्दा कसैले पनि सोचेका थिएनन् कि एक दिन उनी विश्वका दिग्गज खेलाडी हुनेछन् । बार्सिलोनाका लागि लगभग सबै उपाधि जितिसकेका पेरिस सेन्ट जर्मेनका यी स्टार स्ट्राइकरले सन् २००४ मा बार्सिलोनासँग आफ्नो क्लब करियरको सुरुवात १७ वर्षको उमेरमा गरे । उनले २२ वर्षको उमेरमा पहिलो बलोन डिओर जिते । अगस्ट सन् २०२१ मा बार्सिलोनाबाट बिदा लिनुभन्दा अघि उनले क्लब फुटबलको लगभग सबै रेकर्ड आफ्नो नाम गरिसकेका थिए ।

मेस्सीले विश्व कपमा पदार्पण सन् २००६ मा जर्मनीमा सर्बिया र मोन्टेनिग्रोविरुद्ध ग्रुप म्याचमार्फत् गरे । यो खेल हेर्नका लागि म्याराडोना पनि मैदानमा थिए । १८ वर्षका मेस्सी ७५ औँ मिनेटमा सब्स्टिच्युटको रुपमा मैदानमा उत्रिएका थिए ।
बेइजिङ ओलम्पिक सन् २००८ मा अर्जेन्टिनाले फुटबलको स्वर्ण पदक जित्दा सन् २०१० विश्व कपमा मेस्सीबाट अपेक्षा बढे । अर्जेन्टिनालाई क्वार्टर फाइनलमा जर्मनीले हरायो र पाँच खेलमा मेस्सीले एक गोल पनि गर्न सकेनन् । चार वर्षपछि ब्राजिलमा एक्लो दममा टिमलाई फाइनलमा पुर्याउने मेस्सीले आफ्नो आँसु रोक्न सकेनन् जब उनको टिम एक गोलले हार्यो ।
त्यसपछि सन् २०१८ मा रुसमा पहिलो नकआउट म्याचमा अर्जेन्टिनालाई फ्रान्सले ४–३ ले हरायो र तीनमध्ये दुई गोल मेस्सीको नाममा थियो । पछिल्लो चार वर्षमा यी खेलाडीले एउटै मात्र सपना देखे – विश्व कप जित्ने । क्वार्टर फाइनलमा पाएको जीतपछि मेस्सी आफैँले भनेका थिए, ‘डिएगोले आकाशबाट हामीलाई हेरिरहनुभएको छ र विश्व कप जित्नका लागि प्रेरित गरिरहेका छन् । अन्तिम खेलसम्म उहाँले यस्तै गरिरहनु हुनेछ भन्ने आशा छ ।’
एजेन्सी





























प्रतिक्रिया