इतिहास रच्ने होडमा अर्जेन्टिना वा फ्रान्स ?

इतिहास रच्ने होडमा अर्जेन्टिना वा फ्रान्स ?

केन्द्रबिन्दु
0
Shares

फिफा विश्वकप २०२२ अन्तर्गत केही घण्टापछि विश्वले नयाँ च्याम्पियन पाउने छ । फाइनल भिडन्त अविमस्णीय हुँदैछ, किनभने विश्व फुटबलका सुपरस्टार लियोनल मेसी पहिलो र उदाउदा युवा खेलाडी एमबापे दोस्रो उपाधिका लागि मैदानमा उत्रदै छन् । मेसी विश्वकप जित्दै अन्तराष्ट्रिय खेल जीवनबाट सुखद बिदा चाहन्छन्, भने एमबापे दोस्रो पटक विश्वकपको उपाधि जित्दै सर्वकालीन महान खेलाडीको सूचिमा अटाउन चाहन्छन् । यस्तै फ्रान्सका प्रशिक्षक डिडियर डेसच्याम्प प्रशिक्षकका रुपमा दोस्रो पटक विश्वकपको ट्रफी उठाउन चाहन्छन् । 

साविक विजेता फ्रान्स लगातार विश्वकप जित्ने अभियानमा छ भने ८ वर्षपछि फाइनल पुगेको अर्जेन्टिना ३६ वर्षपछि विश्वकप उपाधि जित्ने लक्ष्यमा छ । ३६ वर्षअघि डिएगो म्याराडोनाको प्रेरणामा विश्वकपको उपाधि उचालेको अर्जेन्टिना आज ३५ वर्षीय मेसीको पे्ररणामा सोही क्षणलाई दोहार्याउन चाहन्छ । हुनत मेस्सीको अर्जेन्टिना ८ वर्षअघि पनि फाइनल नपुगेको होइन तर भाग्यमानी जर्मनीविरुद्ध १–० गोलले हार बेहोर्दै अर्जेन्टिना उपविजेतामै सिमित भएको थियो । अर्जेन्टिनाका लागि सोही क्षण पुनः दोहोरिएको छ । तर यसपटक प्रतिद्धन्द्वी जर्मनी नभएर साविक विजेता फ्रान्स रहेको छ । 

यी दुई टोलीको भेट ४ वर्षअघि रुस–विश्वकपमा भएको थियो । राउण्ड अफ १६ कोे सो खेलमा फ्रान्सले अर्जेन्टिनालाई ४–३ गोलले पराजित गर्दै अर्जेन्टिनालाई घर फर्काएको थियो । अन्तिम १६ को त्यो खेलमा एम्बाप्पेकै कारण अर्जेन्टिना पराजित हुनु परेको थियो । सो विश्वकपको च्याम्पियन फ्रान्स नै भएको थियो । त्यसअघि यी दुईको भेट पहिलो विश्वकप अर्थात सन् १९३० र १९७८ को समूह चरणमा भएको थियो । यी दुबै खेलमा अर्जेन्टिना विजयी भएको थियो । 

जारी प्रतियोगितामा दुबै टोलीले समूहचरणमा १ खेलमा हार र दुई खेलमा जित निकाल्दै समूह बिजेता बन्दै अघि बढ्ेका थिए । अन्तिम १६ मा अस्ट्रेलियालाई २–१ को नतिजामा हराउँदै क्वार्टरफाइनल पुगेको अर्जेन्टिनाले क्वार्टरफाइनलमा नेदरल्यान्ड्सविरुद्ध पेनाल्टीमा नाटकीय जित निकाल्दै सेमिफाइनल यात्रा तय गरेको थियो । यस्तै सेमिफाइनलमा साविक उपविजेता क्रोएसियालाई हराएसँगै अर्जेन्टिना ८ वर्षपछि फाइनल पुगेको हो । अर्कोतर्फ फ्रान्सले अन्तिम १६ को खेलमा पोल्यान्डलाई ३–१ ले क्वार्टरफाइनलमा, इङल्यान्डलाई २–१ ले र सेमिफाइनलमा मोरक्कोलाई २–० गोलले हराउँदै फाइनलसम्मको यात्रा तय गरेको हो । 

समूहचरणमा पहिलो खेल हारेर अघि बढेको अर्जेन्टिना फाइनलसम्म आइपुग्दा खेल शैलीमा निकै परिपक्ता आइसकेको छ । अर्जेन्टिनाको टोली एकै शैलीमा खेल्ने नभएर परिस्थिति अनुसार परिवर्तन हुने भएकाले फ्रान्सभन्दा बलियो देखिएको छ ।  अर्कोतर्फ फ्रान्सको भने जारी प्रतियोगितामा खेल्ने शैली एकैनासको भएका कारण  फ्रान्स आफ्नो मिडफिल्डमा धेरै निर्भर छ । सोही कारण फ्रान्सको डिफेन्स कहिलेकाही निकै कमजोर हुने गरेको छ । जारी प्रतियोगितामा मोरक्को बाहेक अन्य सबै टोलीसँग गोल खाने राष्ट्र हो फ्रान्स । 

फाइनलअघि अर्जेन्टिनाका सबै खेलाडी स्वस्थ र उत्कृष्ट लयमा छन् । मार्कुस अकुना र गोन्जालो मोनिटेल फाइनलका लागि उपलब्ध हुनेछन् भने एन्जल डि मारिया पनि फाइनल खेलका लागि तयारी अवस्थामा छन् । तर फ्रान्स भने केही खेलाडीलाई फ्लु लागेकोको कारण तनावमा छ । रिपोर्टका अनुसार डिफेण्डर डायोट उपामेकानो र मिडफिल्डर एड्रिएन राबिओट निको भइसकेका छन् । तर राफेल भरान, किंग्सले कोमन र इब्राहिम कोनाटे फ्लुका कारण प्रशिक्षणमा आएका छैनन् । यी खेलाडीहरु फाइनलमा खेल्छन् खेल्दैनन् निश्चित भइसकेको छैन ।

आजको खेललाई सुपरस्टार मेसी विरुद्ध युवा खेलाडी केलियन एमबापेका रुपमा पनि हेरिएको छ । क्लब पिएसजीमा एक साथ खेल्ने दुबै खेलाडी कतार भ्रमणलाई सुखद बनाउन चाहन्छन् । ३५ वर्षीय मेसीको यो पाँचौ विश्वकप सहभागिता हो । उनले कतार विश्वकप जीवनको अन्तिम हुने घोषणा गरिसकेका छन् । यदि उनी फ्रान्सविरुद्ध जित हासिल गरेको खण्डमा च्याम्पियन्स लिग, बालेन डी’ ओर र विश्वकप उपाधि जित्ने विश्वको नवौ खेलाडी बन्ने छन् । विश्वकप र च्याम्पियन्स लिग र बालेन डी’ ओरबाट सम्मानित हुने भाग्यमानी खेलाडीको सूचीमा यसअघि ब्राजिलका काका, रोनाल्डिन्हो र रिभाल्डो छन् । त्यसैगरी फ्रान्सका जिनेदिन जिदान, इटालीका पाब्लो रोसी, जर्मनीका गर्ड मुलर र फ्रेन्च बेकेनबाउर तथा इंग्ल्याण्डका बबी चाल्टर्न पनि छन् । 

मेसीका लागि अन्तिम विश्वकप खेल सहज हुनेछैन । अर्जेन्टिनाले प्रतियोगिताकै सबैभन्दा बलियो टिम अझ भनौं साविक विजेता फ्रान्स प्रतिद्वन्द्वी पाएको छ । फ्रान्सको टिममा विश्वमै नाम चलेका प्रतिभाशाली खेलाडीको जमघट छ । अझ भनौं अहिलेका युवा स्टार केलियन एमबापे टिममा छन् ।

मेसीलाई झैं एमबापेलाई पनि यो विश्वकप जित्नु उत्तिकै महत्वपूर्ण छ । उनी अहिले २३ वर्षका मात्रै छन् । १९ वर्षको उमेरमा चार वर्षअघि रसियामा विश्वकपको ट्रफी उचालेका एमबाप्पे २३ वर्षको उमेरमा अर्को ट्रफी उचालेर इतिहासमा आफ्नो नाम सुनौला अक्षरले लेख्न चाहन्छन् । त्यो इतिहास लेख्नका लागि एमबापेमा क्षमता पनि छ । एमबापेको सबैभन्दा ठूलो हतियार उनको गति हो । उनी यति उच्च गतिमा दौडन्छन् कि विपक्षी टोलीका रक्षकलाई रोक्न हम्मेहम्मे पर्छ । सानै उमेरमा धेरै सफलता प्राप्त गरिसकेका एमबापे निकै छरितो तरिकाले ड्रिब्लिङ गर्दै बल अघि लैजान्छन् । 

जारी कतार विश्वकपमा उत्कृष्टलयमा रहेका एमबापे फाइनल खेलमा मेसीको अर्जेन्टिनाविरुद्ध गोल गर्दै फ्रान्सका लागि लगातार दोस्रो विश्वकप र आफ्ना लागि गोल्डन बुट जित्न चाहन्छन् । उनको यो इच्छाको अघि विश्वकै उत्कृष्ट खेलाडी लियोनल मेस्सी उभिएका छन् । यी दुई खेलाडीमध्ये कस्ले विश्वकपको उपाधि जित्नेछ भन्ने छिनोफानो केही घण्टापछि लुसेल रंगशालामा हुनेछ । प्रतियोगिता जसले जितेपनि फाइनल पुग्नु आफैमा एक जित हो । सोही कारण आजको खेल प्रतिस्पर्धात्मक भावनाले भन्दा पनि फुटबलका लिजेन्ड मेस्सीको सुखद बिदाइ र युवा खेलाडी एमबाप्पेलाई स्वागतका रुपमा हेरिनेछ ।

 
 

Logo