चम्किँदै सुपरस्टार एमबापे

चम्किँदै सुपरस्टार एमबापे

केन्द्रबिन्दु
9
Shares

कतार विश्वकप फाइनलमा पुग्नुअघि एमबापेको फ्रान्सले जसोतसो फाइनलसम्मको यात्रा पार गरेको थियो । समूहचरणमा एक खेलमा हार बेहोरेको फ्रान्स उपाधिको दाबेदार भएपनि समूहचरणमै ट्युनिसियासँगको हारलाई बिर्सदै अघि बढे्को फ्रान्स राउण्ड अफ १६, क्वाटरफाइनल हुँदै सेमिफाइनलमा बलियो इङ्ल्याण्डलाई २–१ गोलले हराउँदै फाइनलसम्म पुगेको थियो । फ्रान्सको खेल कतार विश्वकपमा कहिल्यै पनि खास बन्न सकेन । फिनिसिङ राम्रो भएकाले पाएको एक दुई मौका मै फ्रान्सले नतिजा आफ्नो पक्षमा पार्दै फाइनलसम्मको यात्रा तय गरेको थियो । फाइनलसम्म पुग्दा फ्रान्सका लागि ओलिभर जिरुडले ४ र एमबापेले ५ गोल गर्दै टोलीलाई फाइनल पुर्याएका थिए । 

फाइनल खेल मेसीको बलियो र संगठित टोली अर्जेन्टिनाविरुद्ध पनि फ्रान्सले अघिल्ला खेल झै सजिलै नतिजा आफ्नो पक्षमा पार्ने लक्ष्यसहित मैदान प्रवेश गरेको थियो । तर नतिजा उसले सोचेको भन्दा भिन्न भइदियो । पहिलो हाफमै मेसीको अर्जेन्टिनाले एमबापेको फ्रान्सलाई २–० ले पछि पारिसकेको थियो । खेल सम्पूर्ण रुपमा अर्जेन्टिनाकै नियन्त्रणमा थियो । दोस्रो हाफमा खेल आफ्नो नियन्त्रणमा लिएपनि फ्रान्सले गोल गर्न सकिरहेको थिएन । त्यसै समय फ्रान्सका खेलाडीलाई पेनाल्टी बक्सभित्र लडाएका कारण फ्रान्सले पहिलो पेनाल्टी पायो । पहिलो पेनाल्टी प्रहारको लागि अघि सरे युवा खेलाडी एमबापे । 

उनले अर्जेन्टिनाका गोलकिपर मार्टिनेजलाई सहजै बिट गर्दै पहिलो गोल गरेर फ्रान्सका लागि आशा जीवित राखे । पहिलो गोल गरेको डेढ मिनेट नहुँदै एमबापेले अर्को उत्कृष्ट गोल गर्दै खेल दुई–दुई बराबरीमा ल्याए । खेल दुई दुईको बराबरीमा टुङ्गियो । अनि खेल अतिरिक्त समयमा धकेलियो । अतिरिक्त समयमा धकेलिएको खेलमा मेसीले अर्जेन्टिनाका लागि १०८ औं मिनेटमा तेस्रो गोल गर्दा सबैले खेल अर्जेन्टिनाले जित्ने अनुमान गरिसकेका थिए । तर सबैको अनुमान विपरित एमबापेले खेल सकिन २ मिनेट अघि फ्रान्सका लागि तेस्रो गोल तथा प्रतियोगिताको दोस्रो ह्याट्रिक गोल गरे । अतिरिक्त समयमा गएको खेल पनि बराबरीमै टुङगिएकाले खेल पेनाल्टीमा गयो । अर्जेन्टिनाका गोल किपर मार्टिनेजले फ्रान्सको एक गोल रोकेको र अर्को गोल बाहिर हानेको कारण खेल अर्जेन्टिनाले ४–२ ले जित्यो । 

खेल अर्जेन्टिनाले जितेपनि सबैको मन भने एमबापेले जितेका थिए । सन् १९६६ मा इङ्ल्यान्डका जियोफ हस्टले विश्वकप फाइनलमा ह्याट्रिक गरेका थिए । त्यस बेला हस्टकै ह्याट्रिकको मदतमा इङ्ल्यान्डले पश्चिम जर्मनीलाई ४–२ ले पराजित गर्दै उपाधि जितेको थियो । तर ५६ वर्षपछिको माहोल भने भिन्न थियो । तीन गोल गरेका एमबापेले फ्रान्सलाई जिताउन सकेनन् । एमबापेले कतार विश्वकपमा ८ गोल र दुई असिस्टका साथ सर्वाधिक गोलकर्ताका रुपमा गोल्डेन बुटको अवार्ड पनि जिते । अवार्ड लिने क्रममा एमबापेको मुहारमा कुनै हाँसो थिएन । नियाउरो भावमा एमबापेले गोल्डेन बलको ट्रफी हातमा लिएर मैदानबाट बाहिरिएका थिए ।

मेसीको अर्जेन्टिनाविरुद्ध फाइनल खेलमा ५६ वर्षपछि दोस्रो ह्याट्रिक गरेका एमबापे कतार विश्वकपको अन्त्यसँगै मेसी र रोनाल्डोको बिँडो थाम्ने खेलाडीका रुपमा अघि आएका छन् । कतार विश्वकपमा मात्र ८ गोल गरेका एमबापेको युग सुरुभएको खेल पंडितहरु बताउँछन् । २० डिसेम्बर १९९८ मा जन्मिएका एमबापे २४ वर्षका मात्रै छन् । ६ वर्षको उमेरदेखि फुटबल खेल्न सुरु गरेका एमबापे मोनाको हुँदै पीएसजीका लागि खेल्छन् । १६ वर्षको उमेरमा मोनाको आएका एमबापेले ३ वर्ष मोनाकोमै बिताएका थिए । तीन वर्षे यात्रामा एमबापेले मोनाकोका लागि २७ गोल गरेका थिए । 

१६ वर्षको उमेरमै सिनियर टोलीमा डेब्यू गरेका एमबापेलाई ४ वर्षअघि रुस विश्वकप खेल्न टोलीमा बोलाइएको थियो । उनले रुस विश्वकपमा पनि फ्रान्सका लागि ४ महत्वपूर्ण गोल गरेका थिए । जसमा क्रोएसिया विरुद्ध फाइनल खेलमा गरेको १ गोल पनि समावेश छ । अभूतपूर्व ड्रिब्लिङ क्षमताका एमबापे असाधारण गतिका साथ उत्कृष्ट फिनिसिङका लागि चिनिने गर्छन । मोनाकोका लागि सत्र वर्षपछि लिग वानको उपाधि र रुस विश्वकपमा देखाएको अभूतपूर्व प्रदर्शनका कारण एमबापे रियल मड्रिड, म्यान्चेस्टर सिटी र पीएसजी क्लबको नजरमा परे । तर आमा फ्रान्सेली भएका कारण एमबापेले फ्रान्सकै सबैभन्दा ठूलो क्लब पीएसजीलाई आफ्नो गन्तब्य बनाए । जसका लागि पीएसजीले एमबापेलाई १८० मिलियन युरोमा किन्न सफल भयो । पीएसजीलाई आफ्नो गन्तब्य बनाएसँगै एमबापे नेमारपछि विश्वका सबैभन्दा महँगो खेलाडी बने । पीएसजीका लागि सन् २०१७ मा डेब्यू गरेदेखि एमबापेले ५ वर्षभित्र १९० गोल गर्दै ५ लिग वान कप, कप डे फ्रान्स, र कप डे ला जिताई सकेका छन् । 

मेसी र रोनाल्डोको १६ वर्षे एकाधिकारलाई तोड्न आएका एमबापे आफूभन्दा १४ वर्ष जेठा पोर्चुगिज खेलाडी रोनाल्डोलाई आइडल मान्छन् । एमबापे बाल्यकालदेखि नै रोनाल्डोका फोटो कोठाको भित्तामा सजाउँदै आएका छन् । 

दुई संस्करणको विश्वकप खेलेका एमबापेले १२ गोल गर्दै एक विश्कपको ट्रफी पनि जितिसकेका छन् । विश्वकपमा गोल गर्ने मामिलामा एमबापेले लेजेन्ड पेले र क्रिस्टियानो रोनाल्डोलाई पछि पारिसकेका छन् । अर्जेन्टिनाका कप्तान लियोनल मेसी एमबापेभन्दा एक गोलले मात्रै अघि छन् । तर, मेसीले भने पाँच संस्करणको विश्वकप खेल्दै १३ गोल गरेका थिए । विश्वकप फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडी जर्मनीका मिरोस्लाभ क्लोज हुन् । उनको नाममा १६ गोलको रेकर्ड छ । एमबापेले यी सबै रेकर्ड सन् २०२६ मा अमेरिका, क्यानडा र मेक्सिकोद्धारा संयुक्त आयोजना गरिने विश्वकपमा तोड्न सक्ने क्षमता देखाइ सकेका छन् ।   

३६ किलोमिटरको गतिमा दौडिने एमबापे विश्वकपपछि सबैभन्दा सुनिएको र सुनाइएको नाम हो । २४ वर्षको उमेरमै संसारकै सबैभन्दा महङ्गो खेलाडी बनेका एमबापेको क्षमतालाई बराबरी गर्न म्यानचेष्टर सिटीका अर्लिङ हल्यान्ड र रियल मड्रिडका भिनिसियस जुनियरलाई हेरिएको छ । यी तीनै खेलाडीले मेसी र रोनाल्डोको युगलाई बिर्साउदै नयाँ युगको सुरुवात गर्न सक्ने आँकलन गरिएको छ । नेइमार, मोहम्मद सलाह, मेसी, क्रिस्टियानो रोनाल्डो, एन्जल डि मारिया, थिएगो सिल्भा लगायत धेरै स्टार खेलाडीहरु आफ्नो करिअरको अन्तिम चरणमा आइसकेकाले अबको युग केलियन एमबापेकै हो भन्दा फरक नपर्ला । एमबापे अहिले नै सुपस्टार खेलाडीको रुपमा चिनिइसकेका छन् । आगामी दिनमा उनी फुटबल क्षेत्रकै शिखर चुम्न सक्ने व्यक्ति बन्ने क्षमता उनीसँग यथेष्ट देखिएको छ ।

 

Logo