जिन्दगी पनि अचम्मको छ, जब कोही मानिस हामीसँग साथ रहन्छ, त्यो समय हामीलाई उनीहरुको आवश्यकताको उति महत्व हुँदैन तर जब ती मानिस हामीबाट टाढा जान्छन् । तब मात्र हामीलाई उनीहरुको आवश्यकता महसुस हुन थाल्छ । गएराती एउटा यस्तै घटना भयोे, विश्व फुटबलको सबैभन्दा पहिलो लिजेण्ड, फुटबलको पहिलो आइकन, फुटबलको पहिलो गोट ‘पेले’ अर्थात एडसन अरान्टोस दो नासिमेन्टोले ८२ वर्षको उमेरमा भौतिक शरीर त्यागे ।
जब हामी फुटबलको विषयमा कुरा गर्छौं । तब सबैभन्दा पहिले आउने नाम हो पेले । विश्व फुटबलमा म्याराडोना, मेसी, रोनाल्डो, जोहान क्राएफ, जर्ज बेस्ट, माइकल प्लाटिनीलगायत धेरै खेलाडीहरुलाई सार्वकालीन महान खेलाडीका रुपमा लिने गरिन्छ । तर यी नामहरु भन्दा पहिले एक नामलाई सधैँ लिइन्छ । त्यो नाम हो, पेले । फुटबलको दुनियाँमा सबैभन्दा पहिले र सबैभन्दा बढी सुनिने र सुनाइने नाम हो पेले । जब फुटबल एक हार र जितको मात्र खेल हुने गर्दथ्यो त्यतिबेलापेलेले फुटबललाई रोचक र रोमाञ्चक बनाएका थिए । आजको समयमा मेसीको जादु र रोनाल्डोले अविश्वसनीय गोल गरेको देखेर रमाउने गर्छौं हामी, तर ती सब कुरालाई मिलाएर एक पूरा खेलाडीको नाम लिइन्छ भने त्यो 'पेले' नै हुनेछ।
विश्वले एक हप्ता पहिले मात्र मेसीको अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकपको उपाधि जितेको देख्यो । झण्डै दुई हप्ता पहिले पोर्चुगल क्वाटरफाइनलबाट मोरक्कोसँग हार व्यहोर्दै आँसुुका साथ रोनाल्डो बाहिरिएको देख्यौं । हामीले हाम्रो समयका दुई लिजेन्ड खेलाडीलाई एक खुसीका साथ र अर्को दुखका साथ आँसु झार्दै अन्तर्राष्ट्रिय खेलमैदानबाट बाहिरिएको देख्यौँ । विश्वकप जित्नु आफैमा धेरै महत्वपूर्ण कुरा हो । त्यो हामीले मेसीले विश्वकप जितेपछि महसुस गरेको विषय हो । तर त्यही रोमाञ्चलाई ३ पटकसम्म दोहोर्याएका थिए पेलेले । विश्व फुटबलमा पेले बाहेक कसैले पनि ३ पटक विश्वकपको जितेका छैनन् । केही समय पहिले बालोन डी’ ओर प्रदान गर्ने फ्रान्स फुटबल एशोसियसनले यदि पेलेको समयमा बालोन डी’ ओर प्रदान गरिने थियो भने पेलेले ७ बालोन डी’ ओर पाउने बताएको थियो । यसैबाट पनि हामी के थाहा पाउन सक्छौं भने पेले आफ्नो समयका एक असाधारण क्षमताका खेलाडी थिए ।
![]()
पेले विश्वकपको उपाधि तीन पटक जित्ने, २० औं शताब्दीको सबैन्दा महान खेलाडी, गिनिज बुकमा १२ सय भन्दा बढी गोलको रेकर्ड राख्ने र सबैभन्दा पहिलो महान खेलाडी थिए ।
पेलेको वास्तविक नाम एड्सन अरान्तोस दो नासिमेन्तो हो। उनको जन्म ब्राजिलको त्रेश कोरसोंइसमा अक्टुबर २३, १९४० मा भएको थियो। गरिब परिवारमा जन्मिएका पेलेको बाल्यकाल अभावै अभावमा बितेको थियो। पेले बाल्यकालमा नांगो खुट्टाले झुम्राको बल खेल्ने गर्थे । ब्राजिलमा बोलिने पोर्चुगिज भाषामा नांगो खुट्टाले खेल्नुलाई पेलेदास भनिन्छ । उनको बालापन त्यसैगरी खेलेर बितेको थियो । पेलेले फुटबलको कला सडकबाटै सिकेका थिए । बाउरु एथलेटिक क्लबबाट खेल जीवन सुरु गरेका पेले पूर्व ब्राजिलियन खेलाडी भाल्डेमार डी ब्रिटोले सबैभन्दा पहिले पेलेको क्षमता पहिचान गरी उनलाई सान्तोस क्लब लिएर गएका थिए। सान्तोसमा पहिलो सिजन खेल्दै पेलेले लिगमा सर्वाधिक धेरै अर्थात ३२ गोल गरेका थिए । त्यसलगत्तै उनलाई सन् १९५८ को विश्वकप खेल्ने ब्राजिलको टिममा चयन गरियो, पेले त्यतिबेला १७ वर्षका थिए।१७ वर्षको उमेरमा विश्वकप खेल्ने विश्वकै कान्छो खेलाडी हुन् पेले।सन् १९५८ को विश्वकपमा ६ गोल गर्दै ब्राजिलका लागि विश्वकपको पहिलो उपाधि जिताएका पेलेले । त्यसलगत्तै एड्सन अरान्ते दो नासिमेन्तो पेलेका रुपमा चिनिन थाले । संसारले उनलाई पेलेको नामबाट बोलाउन सुरु गर्यो।
त्यसपछि भने पेलेको सम्बोधनमा कुनै नाम मात्र रहेन, आदर, माया र स्नेहसमेत गाँसिएर आयो। फुटबल, ब्राजिल र पेले एकअर्काका पर्यायवाची हुन्। ब्राजिल र पेलेबिना आधुनिक फुटबलको चर्चा असम्भव छ। विश्वकपका प्रत्येक संस्करणमा खेल्न सक्षम हुँदै आइरहेको एक मात्र देश ब्राजिलले पेलेको उदय हुनुअघिसम्म एकपटक पनि विश्वकप उपाधि जितेको थिएन। सन् १९५८ को विश्वकप पेलेकै पे्ररणामा ब्राजिल पहिलोपटक विश्व च्याम्पियन भएको थियो ।पेलेले फ्रान्स विरुद्धको सेमिमफाइनलमा ह्याट्रिक गरेपछि ब्राजिल ५–२ को जित निकाल्दै फाइनलमा प्रवेश गरेको थियो। फाइनलमा पनि पेलेले उत्कृष्ट खेल पस्केका थिए । स्विडेनविरुद्ध फाइनलमा पेलेले २ गोल गरेका थिए। उक्त खेलमा ब्राजिल ५–२ ले विजयी हुँदै पहिलो पटक विश्व च्याम्पियन बन्न सफल भयो। सोही विश्वकपदेखि पेले विश्व फुटबलमा चर्चित बनेका थिए ।
सन् १९६२ मा चिलीमा आयोजना भएको सातौं संस्करणको विश्वकपमा पनि पेलेको फर्म पहिलो विश्वकप जस्तै उच्च थियो। पेलेले समूह चरणमा मेक्सिकोविरुद्ध पहिलो खेलमै गोल गरेका थिए । बाँकीका खेलमा गोल गर्न नसके पनि पेलेको प्रभाव सो विश्वकपमा उस्तै थियो। फाइनल खेलमा ब्राजिलले चेकोस्लोभाकियालाई ३–१ गोलले पराजित गर्दै लगातार दोस्रो पटक उपाधि जितेको थियो। सन् १९६२ पछि कुनै पनि देशले लगातार दोस्रो पटक उपाधि जित्न सकेका छैनन्।
यस्तै, सन् १९६६ मा इंग्ल्यान्डमा आयोजना भएको विश्वकपमा भने पेले र ब्राजिलियन टिमको प्रदर्शन राम्रो हुन सकेन । ब्राजिल समूहचरणबाटै बाहिरिएको थियो। यद्यपि पेले बुल्गेरियाविरुद्ध भने गोल गर्न सफल भएका थिए । पेले सन् १९६६ को खराब प्रदर्शनलाई बिर्सदै सन् १९७० को विश्वकपलाई यादगार बनाउन चाहन्थे । यसपटक भइदियो पनि त्यस्तै। मेक्सिकोमा आयोजना भएको विश्वकपको पहिलो खेलमा ब्राजिलले चेकोस्लोभाकियालाई ४–१ गोलले हराउँदै शानदार सुरुवात गर्दा पेलेपहिलो खेलमा नै गोल गर्न सफल भएका थिए । समूह विजेता बनेको ब्राजिलले क्वार्टरफाइनलमा पेरुलाई तथा सेमिफाइनलमा उरुग्वेलाई पराजित गर्दै सहजै फाइनलमा स्थान बनाएको थियो। फाइनलमा इटाली विरुद्ध ४–१ को जित निकाल्दा पेलेले ब्राजिललाई सुरुवाती अग्रता दिलाएका थिए । सो विश्वकपमा पेलेले ४ गोल गरे। योसँगै विश्व फुटबल जगतमा सन् १९५८, १९६२ र १९७० मा गरी तीन पटक विश्व च्याम्पियन बन्ने टोलीमा सहभागी भएका पेले दुईपटक विश्वकपका सर्वश्रेष्ठ खेलाडी समेत घोषित भए।
पेलेको लोकप्रियता एक समय यति धेरै थियो कि सन् १९६७ मा पेलेको एक मैत्रीपूर्ण खेल हेर्नका लागि नाइजेरियाले ४८ वर्षको गृहयुद्धमा युद्ध विराम भएको थियो ।
३ विश्वकप खेलेका पेलेले १४ खेलमा १२ गोल गरेका थिए । आफ्नो २२ वर्षे लामो सक्रिय व्यावसायिक फुटबल जीवनमा १ हजार २ सय ८१ गोल गरेका पेलेले आजीवन ब्राजिलियन क्लब सान्तोसकै लागि मात्र खेले। उनले ब्राजिलकै पक्षमा रहेरविपक्षी राष्ट्रको पोस्टमा ७७ गोल गरेका थिए। सन् १९७४ मा पेलेले खेल जीवनबाट सन्यास लिएका थिए । त्यतिबेला फुटबल छाडेर अन्य व्यवसायमा रूचि बढेकाले पैसाकै लागि उनलाई फेरि फुटबलमा फर्कन आवश्यक थियो । धेरै युरोपेली क्लब पेलेलाई अनुबन्ध गर्न चाहन्थे, तर पेलेले रोजे, न्युयोर्क कसमस । पेलेले क्लब न्युयोर्क कसमससँग १९७५ मा अनुबन्धितभएर तीन वर्षसम्म खेले । भनिन्छ- पेलेले ब्राजिली क्लब सान्तोसका लागि पूरा खेलजीवनमा जति कमाएका थिए, त्यो भन्दा बढी कमसमका लागि ३ वर्ष खेलेर कमाए ।
































प्रतिक्रिया