नेपाल टि२० लिगः विराटनगर पनि फाइनलमा, लुम्बिनीसँग भेट पक्का

नेपाल टि२० लिगः विराटनगर पनि फाइनलमा, लुम्बिनीसँग भेट पक्का

केन्द्रबिन्दु
0
Shares

विराटनगर सुपर किंग्स नेपाल टि२० लिगको फाइनलमा पुगेको छ । मंगलबार भएको लिगको दोस्रो क्वालिफायर खेलमा जनकपुर रोयल्सलाई ३९ रनले हराउँदै विराटनगरले फाइनलको यात्रा तय गरेको हो । 

जितको लागि १६८ रनको विजयी लक्ष्य पछ्याएको जनकपुर १९‍१ ओभरमा १२८ रन बनाउँदै अल आउट हुन पुग्यो । जनकपुरका चाडविक वाल्टनले सर्वाधिक ५१ रन जोडे । साथै कप्तान ट्रभोन ग्रिफिथले ३४ रन बनाउनुबाहेक अन्य खेलाडी क्रिजमा टिक्न सकेनन् । 

विराटनगरका केओन जोशेफले ३ विकेट लिए । साथै राज नान्ननले २ विकेट तथा सूर्य तामाङ र हुसेन तालतले एकएक विकेट लिए । 

त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको विराटनगरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६७ रन बनाएको थियो । विराटनगरका ओपनर गौरांशु शर्माले सर्वाधिक ४२ रन जोडे । साथै अर्जुन साउदले ३५ रन, राज नाननले ३३ रन तथा हुसेन तलतले ३१ रन बनाए ।

जनकपुरका लागि जितेन्द्र मुखियाले सर्वाधिक दुई विकेट लिए भने शराफुद्दिन अशरफ, ललितनारायण राजवंशी र समिउल्लाह शिनवारीले एकएक विकेट लिए । 

अब उपाधिका लागि विराटनगरले लुम्बिनी अल स्टारको सामना गर्नुपर्ने भएको छ । आईतबार भएको पहिलो क्वालिफायर जितेर लुम्बिनीले फाईनलमा स्थान सुरक्षित गरिसकेको छ । फाइनल बुधबार हुनेछ ।

Logo