इटहरीमा जारी प्रधानमन्त्री कप महिला टी–ट्वान्टी प्रतियोगितामा नेपाल एपीएफ क्लबले लगातार दोस्रो जित निकालेको छ।
दोस्रो जित निकाल्ने क्रममा एपीएफले आइतबार बागमतीमाथि ५३ रनको जित निकालेको हो । एपीएफले दिएको १ सय ३७ रनको लक्ष्य पछ्याएको बागमती २० ओभरमा ९ विकेट गुमाएर ८३ रन बनायो । बागमतीका लागि ओपनर हेलिशा गुरुङले सर्वाधिक २२ रन बनाउँदा सोनी पाख्रिनले १३ रन बनाईन्। कन्चन श्रेष्ठले ११ तथा कप्तान अस्मिना कर्माचार्यले १० रन बनाईन्। एपीएफका लागि निशा भट्टले ३ तथा कप्तान सिता राना मगरले ३ विकेट लिईन्।
त्यसअघि पहिले ब्याटिङ गरेको एपीएफले २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ३६ रन बनाएको थियो। पहिलो विकेटका लागि ज्योती पाण्डे तथा कप्तान सिताराना मगरले ५४ रनको साझेदारी गरेका थिए । कप्तान रानामगरले २९ बलमा ३६ र पाण्डेले १५ रन बनाईन्। इन्दु बर्माले २७ बलले ३८ रन बनाउॅंदा नेरी थापा १९ रनमा अविजित रहिन् ।
बागमतीका लागि अस्मिना कर्माचार्य, मनिशा उपाध्याय,खुसी डंगोल र सोनी पाख्रिनले समान १–१ विकेट लिए । दोस्रो खेलमा दोस्रो जित हात पारेको एपीएफ ४ अंकका साथ समूह ‘ए’ को शीर्ष स्थानमा रहेको छ। बागमती प्रदेश दुई खेल खेल्दै अंकविहिन रहदै समूह ‘ए’ को पुछारमा रहेको छ।































प्रतिक्रिया