नेपाली क्रिकेटको अग्नि परीक्षा यूएईमा

नेपाली क्रिकेटको अग्नि परीक्षा यूएईमा

केन्द्रबिन्दु
0
Shares

आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले त्रिदेशीय एकदिवसीय शृङ्खलामा सोमबार पपुवा न्यूगिनीलाई ४ विकेटले हराउँदै युएई सिरिजमा विजयी सुरुआत गरेको छ । नेपाललाई एकदिवसीय मान्यता जोगाउन र शीर्ष तीनमा रहन युएई शृङ्खलामा शतप्रतिशत जित निकाल्नु निकै महत्वपूर्ण रहेको छ । युएई भ्रमणको पहिलो खेलमै पपुवान्युगिनी विरुद्ध ४ विकेटको सान्दार जित निकालेको नेपाली क्रिकेट टोलीको मनोबल उच्च बनेको छ । 

नेपालले यसै साता स्कटल्यान्ड र नामिबियाविरुद्ध त्रिकोणात्मक ओडिआई सिरिजमा क्लिन स्वीप गरेको थियो । नेपालले क्लिन स्वीप गर्ने क्रममा लिग–२ को च्याम्पियन स्कटल्यान्डमाथि दुबै खेलमा जित हात पारेको थियो । युएईमा पनि सोही नतिजालाई दोहोर्याउने दाउमा रहेको छ नेपाल । ओडीआई क्रिकेटमा पहिलो पटक लगातार पाँच खेल जित्दै विश्वकप छनोट यात्राका लागि एक कदम अघि बढेको नेपाल यसअघि ओडीआईमा लगातार चार खेलमा मात्र जित हात पार्न सफल भएको थियो । 

युएई सिरिजमा नेपाली क्रिकेट टोलीको मुख्य चुनौती भनेको घरेलु मैदानमा देखिएको ब्याटिङको लयलाई कायम राख्नु हुनेछ । सधैँ घरेलु मैदानमा चम्किने नेपालको ब्याटिङले विदेशी भूमिमा सङ्घर्ष गरेको थुप्रै उदाहरणहरु छन् । यद्यपि, मुख्य प्रशिक्षक मोन्टी देसाईले टोली सम्हालेपछि टोलीमा धेरै सकारात्मक परिवर्तनहरु आएको प्रत्यक्ष देखिएको छ । ती सकारात्मक परिवर्तनहरुमा ‘टीम यूनिटी’ र खेलाडीको प्रदर्शन नै मुख्य हुन् । नेपालले टीयू मैदानमा खेलेको चारै खेलमा फरक–फरक खेलाडीहरुले उच्च प्रदर्शन गरेका थिए । टीयू मैदानमा कहिले ओपनर चम्किए त कहिले मध्य क्रमका खेलाडीले इनिङ धाने त्यो पनि धरापमा परेको अवस्थामा तल्लो क्रमका खेलाडीहरूले ‘म्याच विनिङ’ प्रदर्शन गरेका थिए । सोही कारण नेपाल, स्कटल्यान्ड र नामिबियाविरुद्ध त्रिकोणात्मक ओडीआई सिरिजमा क्लिन स्वीप गर्न सफल भएको थियो । यस्तै नेपालको बलियो पक्ष  भनेको बलिङ हो । सोमपाल कामीको फास्ट बलिङ र सन्दीप लामिछानेको स्पिनका अघि पपुवा न्यूगिनी र यूएई निरिह बन्न सक्ने सम्भावना प्रवल देखिएको छ । अर्कोतर्फ सन्दीपले पनि सर्वोच्च अदालतबाट विदेश जान पाउने आदेश पाएपछि नेपाली क्रिकेट टोलीले यूएईमा सन्दीपको साथ पाउने भएको छ । 

घरेलु मैदानमा सम्पन्न त्रिकोणात्मक ओडिआई सिरिजमा १३ विकेट लिएका सन्दीपले आइसीसीसँग यूएई जान पाउने अनुमति मागेका थिए । आइसीसीले पनि सन्दीपको सो मागलाई सम्बोधन गर्दै मौसम ढकाल घाइते भएको अवस्थालाई नियाल्दै सन्दीपलाई युएई जाने अनुमति दिएको हो । अनुमति पाएसँगै सन्दीपले नेपाली टोलीमा खाली रहेको स्पिन बलिङको अभाव पूरा गरेका छन् । 

यसरी खेल्नेछ नेपालले विश्वकप क्रिकेट
लिग–२ को अन्तिम खेलमा नामिबियाले यूएईलाई पराजित गरेसँगै बाँकी सात खेलमा नेपालले ६ खेल जिते सोझै विश्वकप छनोट खेल्ने समीकरण छ । पछिल्लो समय एकदिवसीय मान्यता पनि नजोगिएला कि भन्ने स्थितिमा रहेको नेपाल लयमा फर्किसकेको छ । त्यसैले नेपाललाई एकदिवसीय मान्यता जोगाउन ७ मध्ये चार खेल जित्नैपर्ने दबाब छ ।

लिग २ मा शीर्ष तीनमा रहने टोलीले आगामी जुलाईमा जिम्बावेमा हुने वल्र्डकप क्वालिफायरमा स्थान बनाउने छन् । स्कटल्यान्ड र ओमान यसअघि नै क्रमशः पहिलो र दोस्रो स्थानमा रही विश्वकप छनोट खेल्ने पक्का भइसकेका दुई टोली हुन् । तेस्रो स्थानका लागि नेपाल, नामिबिया र यूएईबीच महा–भिडन्त हुने पक्का छ । आफ्नो सबै ३६ खेल खेलिसकेको नामिबिया १९ खेलमा जित र १६ खेलमा हार व्योहोर्दै ३९ अंकका साथ अहिले तेस्रो स्थानमा छ । 

नेपाल २८ खेल खेल्दै १४ मा जित र चौधमा हार व्यहोर्दै समूहको छैटौँ स्थानमा छ । यूएई २८ खेलमध्ये १३ खेलमा जित र १२ मा हार व्योहोर्दै २९ अंकका साथ पाँचौँ स्थानमा छ । नेपालले अब बाँकी ७ ओटै खेल जिते ४२ अंक, ६ खेल जिते ४० अंक र ५ खेल जिते ३८ अंकका साथ चौथो हुनेछ । सोही कारण नेपालले नामिबियालाई पछि पार्दै शीर्ष तीनमा रहन ७ मध्ये ६ खेल जित्नुपर्नेछ । कुनै दुई खेलमा पराजय बेहोरे नेपालको विश्वकप छनोट खेल्ने सम्भावना सकिने छ । एकदिवसीय मान्यता जोगाउन नेपालले पाँच खेल जितेर ३६ अंक बनाएर ३५ अंकसहित चौथो स्थानमा रहेको अमेरिकालाई पछि पार्नु पर्नेछ ।

नेपालले लिग–२ मा बाँकी दुई शृङ्खलामा यूएईसँग ४ र पीएन्जीसँग ३ खेल खेल्नेछ । यूएईसँग खेलेका पछिल्ला ९ एकदिवसीय खेलमा नेपालले ४ खेलमा मात्र जित निकालेको इतिहास छ । यस्तै, पीएनजीलाई पछिल्ला ७ खेल मध्ये नेपालले ५ खेलमा पराजित गरेको छ ।

यूएई शृंखलाको पहिलो खेलमा नेपालले सोमबार पीएनजीलाई ४ विकेटले हराएको छ । यस्तै नेपालको दोस्रो खेल बिहीबार यूएईसँग, तेस्रो खेल शुक्रवार पीएनजीसँग र चौथो खेल सोमबार युएईसँग खेलेर नेपाल लिग २ को अन्तिम शृङ्खला खेल्न स्वदेश फर्किनेछ ।

Skip This
Skip This
Logo