सिपिएल खेल्न सन्दीप उत्साहित, आज ट्रिनिडाड एन्ड टोबागो जाने (भिडियोसहित)

सिपिएल खेल्न सन्दीप उत्साहित, आज ट्रिनिडाड एन्ड टोबागो जाने (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

विश्वभर कोरोना भाइरसको महामारीको कहर थियो । यस्तोमा विश्व खेलकूदमा प्रत्यक्ष असर पर्यो । कोरोना भाइरसको सङ्क्रमण बढ्दै जाँदा नेपाल सरकारले गत चैत ११ गतेदेखि बन्दाबन्दी लागू गर्यो । यसको प्रत्यक्ष मारमा चर्चित क्रिकेट खेलाडी सन्दीप लामिछाने पनि परे । उनी यसबीचमा चार महिना बन्दाबन्दीमा घरमै बसे । “समय व्यतित गर्न निकै गाह्रो भयो”, कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भेटिएका लामिछानेले भने, “घरमा बस्दा बस्दा निकै छटपटी भयो ।”

गत असार २२ गते लामिछानेले सुखद खबर प्राप्त गरे । ट्रिनिडाड एण्ड टोबागोमा भदौ २ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने क्यारेबियन प्रिमियर लिग (सिपिएल) का लागि उनी छनोट भएको खबर आयो । आफूले मागेकै पारिश्रमिकमा खेल्न पाउने खबरले उनी कम्ता खुशी भएनन् । लामिछानेले सिपिएलका लागि आफ्नो अनुबन्धित मूल्य ९० हजार अमेरिकी डलर तोकेका थिए । जमैका तलावाजले उक्त रकममै लामिछानेलाई अनुबन्ध गर्यो ।

यसअघि सन् २०१९ मा उनलाई बार्बाडोस ट्राइडेन्सले ७० हजार डलरमा अनुबन्ध गरेको थियो । उक्त प्रतियोगितामा लामिछानेले पाँच खेलमा सात विकेट लिएका थिए। यस्तै सन् २०१८ मा सेन्ट किट्स एण्ड नाभिस प्याट्रियट्सले मात्र पाँच हजार डलरमा लामिछानेलाई अनुबन्ध गरेको थियो । सो प्रतियोगितामा उनले छ खेलमा आठ विकेट लिएका थिए ।

आफूले चाहेकै पारिश्रमिक पाउने भए पनि लामिछानेलाई खुशी त मिल्यो तर यस्तो बन्दाबन्दीमा ट्रिनिडाड एन्ड टोबागो कसरी पुग्ने भन्ने चिन्ताले सतायो । नेपालमा अझै आगामी भदौ १ गतेसम्मका लागि अन्तर्राष्ट्रिय हवाई उडान बन्द थियो । “हिजोसम्म सिपिएल खेल्न पाइन्छ कि पाइन्न भन्ने दुविधा थियो”, लामिछानेले भने, “आज जहाजको टुङ्गो लाग्यो, अब सिपिएल खेल्न उत्साहित छु ।” पछिल्लो समय जहाजको टुङ्गो नलाग्दा कैयौँ रात निद्रा नै भङ्ग भएको उनको भनाइ थियो । “जे होस् अब जान पाइने भयो, अब खेल्न पाइनेमा ढुक्क छु”, आफ्नो गृह मैदानमा खुशी हुँदै लामिछानेले भने ।

कोरोना भाइरसका कारण अन्तर्राष्ट्रिय हवाई उडान बन्द भएकाले लामिछानेले सिपिएल गुमाउने अवस्था थियो । अन्तिम समयमा चार्टर्ड विमानमार्फत उनी बिहीबार (आज) दक्षिण कोरियाहुँदै ट्रिनिडाड एन्ड टोबागो उड्ने निश्चित भएको हो । लामिछानेको यात्रा सुनिश्चित गराउनमा उनका व्यवस्थापक रमन शिवाकोटीको भूमिका अहम छ । शिवाकोटीको हप्तौँको दौडधूपले लामिछानेको ट्रिनिडाड एन्ड टोबागो उड्ने निश्चित भएको हो ।

“पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, युवा तथा खेलकूद मन्त्रालय लगायतको सहयोगले सन्दीप खेल्न जाने टुङ्गो लागेको हो”, शिवाकोटीले भने। सन्दीपको हवाई उडानका लागि केही खेलप्रेमीको रातदिनको दौडधूप सम्झिन लायक रहेको उनको भनाइ थियो । “हाम्रो व्यक्तिगत प्रयासले सिपिएल खेल्न पाउने सम्भावना थिएन”, सहयोगीप्रति अभार प्रकट गर्दै व्यवस्थापक शिवाकोटीले भने।

बिहीबार उडे पनि लामिछाने आइतबार मात्र ट्रिनिडाड एण्ड टोबागो पुग्नेछन् । यसका लागि उनले नेपालबाट कोरियन एअरलाइन्सको चार्टर्ड विमानमार्फत कोरिया, त्यहाँबाट अमेरिका हुँदै ट्रिनिडाड एण्ड टोबागोको हवाई यात्रा तय गर्नु पर्नेछ । “त्यहाँ पुगिसकेपछि १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने हुन्छ”, लामिछानेले भने ।

लामिछानेको टोलीमा विश्व क्रिकेटका प्रख्यात खेलाडी आन्द्रे रसेल, कार्लोस ब्रेथवेट, तरबेज शाम्सी, ओशन थोमस लगायत छन् । उनी आबद्ध जमैका तलाबाजले आगामी भदौ ३ गते सेन्ट लुसिया जौक्ससित खेल्नेछ । सिपिएलका लागि विश्वका २३ देशका ५३७ खेलाडीले नाम दर्ता गराएका थिए । भिडियोमा :

 

Logo