कीर्तिमानी जितसँगै जोगियो एकदिवसीय मान्यता, विश्वकप छनौट २ जित टाढा

कीर्तिमानी जितसँगै जोगियो एकदिवसीय मान्यता, विश्वकप छनौट २ जित टाढा


नेपालले आइसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिजमा युनाइटेड अरव इमिरेट्स(युएई) माथि १ सय ७७ रनको कीर्तिमानी जित हात पार्दै आगामी चार वर्षको लागि ओडीआई मान्यता पक्का गरेको छ । 

युएईले भने नेपालसँगको हारसँगै सोझै ओडिआई मान्यता बचाउने अवसर गुमाएको छ । नेपालले लिग–२ मा शीर्ष पाँचमा रहँदै सोझै ओडिआई मान्यता प्राप्त गरेको हो । साथै एक दिवसीय विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने सम्भावना पनि नेपालले जिवित राखेको छ । 

जितको लागि २ सय ४९ रनको बलियो विजयी लक्ष्य पछ्याएको युएई २२.५ ओभरमा ७१ रनमा अल आउट भएको थियो । यो युएईको ओडीआई इतिहासको सवैभन्दा कम योगफल हो । यसअघि युएई सन् २०१८ मा आयरल्यान्डविरुद्ध विश्वकप छनोटमा ९१ रनमा अल आउट भएको थियो । सो नै उसका लागि सबैभन्दा कम योगफल थियो । तर आज सो रेकर्ड तोडिएको छ । 

यो नेपालको ओडीआईमा रनको हिसाबमा सर्वाधिक ठूलो जित हो । यसअघि नेपालको ओडीआईमा सर्वाधिक रनको जित सन् २०२१ मा पपुवा न्युगिनीविरुद्ध १ सय ५१ रनको थियो । नेपालले आज उक्त कीर्तिमान तोडेको हो । 

आज त्रिवि मैदानमा नेपाली बलरसामु यूएईका ८ ब्याट्म्यानहरुले दोहोरो अंकमा रन बनाउन सकेनन् । युएईका लागि आयान अज्फल खानले सर्वाधिक २९ रन जोड्नुबाहेक अन्य खेलाडी क्रिजमा टिक्नै सकेनन् । 

बलिङतर्फ बलिङतर्फ नेपालका स्पिनर ललित नारायण राजवंशीले सर्वाधिक ५ विकेट लिए । करण केसीलाई आज बेञ्चमा राखेर उनलाई टोलीमा समावेश गरिएको थियो । त्यस्तै, स्पिनर सन्दीप लामिछानेले २ विकेट तथा दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र गुल्सान झाले समान एक–एक विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित ४९.२ ओभरमा अलआउट हुँदै २४८ रन बनाएको थियो । 

नेपालका लागि कप्तान रोहितकुमार पौडेलले कीर्तिमानी अर्धशतकीय इनिङ्स खेले । उनले ११२ बलमा ७७ रन जोडे । रोहित नेपालबाट ओडीआई क्रिकेटमा सर्वाधिक ८ अर्धशतक प्रहार गर्ने पहिलो नेपाली खेलाडीसमेत बनेका छन् । रोहितले ज्ञानेन्द्र मल्ल र आसिफ शेखलाई पछि पारेका हुन् । ज्ञानेन्द्र र आसिफले ओडिआईमा ७/७ अर्धशतक प्रहार गरेका छन् । 

त्यस्तै, आरिफ शेखले ४३ रन बनाए भने फिनिसिङमा दीपेन्द्रसींह ऐरी र गुल्सान झाले उत्कृष्ट प्रदर्शन गरे । गुल्सानले ३७ रन जोडे भने दीपेन्द्रले ३४ रन बनाए ।  साथै भीम सार्कीले २९ रन जोडे । 

बलिङतर्फ युएईका रोहन मुस्तफा, जाहुर खान, जवर फरिद र आयन खानले समान २/२ विकेट लिए ।

जितसँगै नेपाल ३६ अंक जोडेर अमेरिकालाई पछि पार्दै तालिकाको चौथो स्थानमा उक्लिएको छ । तेस्रो स्थानमा ३९ अंकसहित रहेको नामिबियालाई पछि पार्दै विश्वकपको ग्लोबल क्वालिफायरमा स्थान बनाउन बाँकी दुई खेल जित्नुपर्ने दबाव नेपाललाई छ ।

शृंखला क्निस्विप गर्ने लक्ष्यमा रहेको नेपालले पहिलो खेलमा पपुवा न्यूगिनी (पीएनजी) लाई ५२ रनले पराजित गरेको थियो । जारी सिरिजमा नेपालले अब फागुन २९ मा पिएनजी र चैत २ मा पूनः युएईसँग खेल्दै लिग–२ को ४ वर्षे यात्रा टुङग्याउनेछ । 

आइसीसीको नियम अनुसार लिग–२ को शीर्ष तीन टोली सोझै विश्वकप छनोटमा पुग्नेछन् । यस्तै पुछारका चार टोलीले क्वालिफायर प्लेअफ खेल्नु पर्नेछ । शीर्ष पाँच टोलीको भने एकदिवसीय मान्यता जोगिनेछ । 

यसअघि नै लिग–२ मा च्याम्पियन बनेको स्कटल्याण्डले सबै ३६ खेलबाट ५० अंक जोड्दा दोस्रो बनेको ओमानको ४४ अंक रहेको छ । स्कटल्याण्ड र ओमान विश्वकप छनोटका लागि छानिसकेका छन् । चौथो स्थानको नेपालसँग ३४ खेलबाट ३६ अंक रहेको छ । ३६ खेलमा ३५ अंकसहित अमेरिका पाँचाैँ स्थानमा रहँदा  लगातार हार व्यहोरिरहेको युएईसँग भने ३४ खेलबाट ३१ अंक मात्र छ । तालिकाको पुछारमा रहेको पिएनजीसँग भने ३४ खेलबाट ११ अंक रहेको छ । 

अब विश्वकप छनोटमा स्थान बनाउनको लागि तेस्रो स्थानको नामिबिया र चौथो स्थानको नेपालबीच प्रतिस्पर्धा हुनेछ । नेपाली टोलीको नतिजाले नै नामिबियाको विश्वकप छनोटमा सोझै स्थान बनाउने या नबनाउने भन्ने कुराको टुङ्गो लाग्नेछ ।

Logo