विराट गोल्ड कप फूटबल प्रतियोगितामा पूर्व विजेता टीम नेपाल पुलिस क्लब बाहिरिएको छ ।
पहिलो खेलमा आयोजक विराटनगर सिटीले विजयी शुरूआत गर्दै सेमिफाइनलमा पुगेको छ । बिहीवार भएको उद्घाटन खेलमा पूर्व विजेता टीम नेपाल पुलिस क्लबलाई १–० गोलले निराश बनाउँदै घरेलु टोली विराटनगरले अन्तिम ४ मा स्थान पक्का पारेको हो ।
निर्धारित समयसम्म गोलरहित खेल बराबरी भएपछि थप गरिएको अतिरिक्त समयको ११७औं मिनेटमा विराटनगरका आशिष श्रेष्ठले निर्णायक गोल गरेका थिए । दिवाकर चौधरीले निकालिदिएको पासलाई आशिषले गोलमा परिणत गरेका हुन् ।
खेलको १०३ मिनेटमा सागर थापाको ठाउँमा मैदान प्रवेश गरेका आशिषले टीमको जीतका लागि निर्णायक गोल गरेका छन् । पहिलो हाफसम्म पुलिसले विराटनगरलाई दबाबमा राखेको थियो । निर्धारित समयसम्म प्रहरीका लागि निकै संघर्षपूर्ण बन्यो । प्रहरीले केही उत्कृष्ट अवसर सिर्जना गरे पनि गोलमा परिणत हुन नसक्दा निर्धारित समयसम्म दुवै टीमको गोलरहित खेल बराबरी भयो ।
पुलिसले २०७४ सालमा विराट गोल्ड कपको उपाधि हात पारेको थियो । पूर्व विजेता प्रहरीले दर्जन बढी सुन्दर अवसर खेर फाल्दा प्रतियोगिताबाट बाहिरिएकाे छ ।शुक्रवार नेपाल आर्मी र जावलाखेल युथ क्लबबीच खेल हुनेछ । चैत १६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा स्वदेशी र विदेशीसहित ८ टीमको सहभागिता रहेकाे छ ।































प्रतिक्रिया