एन्फाद्वारा प्रत्यक्ष निर्वाचन प्रणाली पारित

एन्फाद्वारा प्रत्यक्ष निर्वाचन प्रणाली पारित

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ ।

पदाधिकारी मनोनयन व्यवस्थालाई खारेज गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्रत्यक्ष निर्वाचित प्रणालीलाई पारित गरेको छ ।

काठमाडौँमा मंगलबार सम्पन्न एन्फाको १९औं साधारण सभाले निर्वाचन प्रणालीबाट मात्र पदाधिकारी चयनको व्यवस्था सुरु गरेको हो । यस अघिको व्यवस्था अनुसार केही कार्यसमितिले परिस्थिति अनुकुल पदाधिकारी मनोनयन गरिरहेको थियो ।

साधारण सभाले १७ सदस्यीय कार्यसमितीलाई बढाएर २१ सदस्यीय कार्यसमितिमा पु¥याउने निर्णय समेत गरेको छ । एन्फाका प्रवत्ता किरण राईले आगामी साधारण सभाबाट बन्ने कार्यसमितिमा संशोधित विधान लागू हुने बताए ।

निर्वाचनमार्फत आउने २१ सदस्यीय नयाँ कार्यसमितिमा २ जना महिला अनिवार्य गरिएको छ । फिफाको गाइड लाइन अनुसार एन्फाले मनोनितको कोटालाई बन्देज लगाउँदै सबै कार्यसमिति निर्वाचनमार्फत चुनिने व्यवस्था भएको हो ।

मंगलबारकै साधारण सभाले आगामी वर्ष २०७७÷७८ को लागि वार्षिक बजेट तथा कार्यक्रम पनि पारित गरेको थियो । राष्ट्रिय लिग, फुटसल छनोट प्रतियोगिता, विभिन्न वर्कसप, बाँकी रहेको ‘बी’ डिभिजन लिग, प्रदेश लिग, एन्फा प्रेसिडेन्ट कप, सहिद स्मारक ‘सि’ डिभिजन लिग, राष्ट्रिय महिला लिग, अन्तर्राष्ट्रिय पुरुष फुटबल प्रतियोगिता, फोर नेशन्स कप लगाएतका कार्यक्रम सार्वजनिक गरेको हो ।

उक्त कार्यक्रममा लागि एन्फाको ८२ करोड ६६ लाख ४२ हजार २ सय ४० रुपैयाँको वार्षिक कार्यक्रमलाई साधारण सभाले पारित गरेको प्रवक्ता राईले जानकारी दिए ।

साधारण सभाले अध्यक्षको बार्षिक प्रतिवेदन, आमदानी र खर्च विवरण लगाएका विषयलाई पारित गरेको हो । गत वर्ष एन्फाले ४० करोड २६ लाख आम्दानी गरेको छ भने ४१ करोड २६ लाख रुपैयाँ खर्च गरेको प्रवक्ता राईले जानकारी दिए ।

Logo