रिकुं सिंहको विष्फोटिङ ब्याटिङमा कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ मा गुजरात टाइटन्समाथि रोमाञ्चक जित हात पारेको छ । गुजरातमाथि कोलकाताले ३ विकेटको जित निकालेको हो ।
नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा गुजरात टाइटन्सले जितका लागि दिएको २०५ रनको लक्ष्य पछ्याएको कोलकाताले १९.५ ओभरमा ७ विकेटको क्षतिमा पूरा गरेको हो । रिकुंले अन्तिम ओभरमा ५ वटा छक्का प्रहार गरेपछि खेल कोलकाताले जितेको हो । उनी २१ बलमा ४८ रनमा अविजित रहे । साथै वेन्कटेशले सर्वाधिक ८३ रन जोड्दा कप्तान नितिश रानाले ४५ रन बनाए ।
बलिङतर्फ गुजरातका कप्तान राशिद खानले ३ विकेट लिए । उनले १६.१ ओभरमा रसेल, १६.२ मा नारिने र १६.३ ओभरमा सार्दुल ठाकुरलाई आउट गर्दै ह्याट्रिक गरेका हुन् । उनी जारी आइपीएल ह्याट्रिक विकेट लिने पहिलो खेलाडी पनि हुन् । नियमित कप्तान हार्दिक पान्ड्या आजको खेलमा उपलब्ध थिएनन् ।
साथै अल्जारी जोसेफले २ विकेट लिए भने मोहम्मद शामी र जोश लिटलले एकएक विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको गुजरातले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय ४ रन बनाएको थियो । गुजरातका विजय शंकर सर्वाधिक ६३ रनमा अविजित रहे । साथै युवा ब्याटर साई सुदर्शनले ५३ रन बनाए । शुभमन गिल ३९ रनमा आउट भए ।
कोलकाताका सुनिल नारायणले ३ विकेट लिए भने सुयश शर्माले १ विकेट लिए ।































प्रतिक्रिया