विभागीय टोली त्रिभुवन आर्मी क्लबले गिरिजाप्रसाद कोइराला स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको उपाधि जित्न सफल भएको छ । सोमबार राति विराटनगरमा भएको खेलमा साबिक विजेतासमेत रहेको आर्मीले अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।
आर्मीले प्रतियोगिताको उद्घाटन खेलमा पुलिसलाई पराजित गरेको थियो । पहिलो संस्करण गण्डकी र दोस्रो संस्करणमा लुम्बिनीले उपाधि जितेको थियो । नेपाल हक्की सङ्घद्वारा आयोजित प्रतियोगिताको उत्कृष्ट गोलरक्षक पुलिसका हरिदत्त पाण्डे, सर्वाधिक गोलकर्ता आर्मीका रोमन राना, उत्कृष्ट डिफेन्डर पुलिसका योगेश बारघरे, इमर्जिङ प्लेयर सुदूरपश्चिम प्रदेशका महेश नेपाली र सर्वोत्कृष्ट खेलाडी आर्मीका नितिश न्यौपाने भए ।
प्रतियोगिताको विजेता आर्मीले ७५ हजार र उपविजेता नेपाल पुलिसले ४१ हजार रुपैयाँका साथै ट्रफी प्राप्त गरे । त्यस्तै मधेस प्रदेशलाई पराजित गर्दै तेस्रो स्थान भएको सुदूरपश्चिम प्रदेशले २५ हजार प्राप्त गरेको छ । प्रतियोगितामा आर्मी, पुलिस, कोशी प्रदेश, मधेस प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको सहभागिता रहेको थियो ।
खेलाडीहरूलाई मुख्यमन्त्री हिक्मतकुमार कार्की, सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारी, हक्की सङ्घका वरिष्ठ उपाध्यक्ष अनिलप्रसाद शर्मा, नेपाली काँग्रेसकी केन्द्रीय सदस्य डा. डिला सङ्ग्रौला, प्रतियोगिताका संयोजक रञ्जन थापा, नेपाल हक्की सङ्घ मोरङका अध्यक्ष राजेश गुप्ता, विराट गोल्डकप ट्रष्टका अध्यक्ष सन्तोष बानियाँलगायतले पुरस्कार प्रदान गरेका थिए ।





























प्रतिक्रिया