दोस्रो हाफमा निकोलो बरेल्ला र रोमेलु लुकाकुले गरेको गोलमा इन्टर मिलानले मंगलबार राति च्याम्पियन्स लिग क्वार्टरफाइनलको पहिलो लेगमा बेनफिकालाई २-० ले पराजित गरेको छ । यस जितसँगै इन्टरको अन्तिम चारमा स्थान बनाउने सम्भावना बलियो बनेको छ ।
पाहुना टोली इन्टरले ५१औँ मिनेटमा बरेल्लाले गरेको गोलबाट अग्रता लिएको थियो । सेन्टर ब्याक एलेसान्ड्रो बास्टोनीको उत्कृष्ट क्रसलाई बरेल्लाले हेडमार्फत गोल गरेका हुन् ।
बैकल्पिक खेलाडी लुकाकुले खेल सकिन आठ मिनेट बाँकी हुँदा पेनाल्टीमा अर्को गोल थपेपछि इन्टरको जित पक्का भएको हो । बेनफिकाका कप्तान जोओ मारियोको हातमा बल लागेपछि भिडियो सहायक रेफ्रीले पेनाल्टी अवसर दिएको हो ।
पोर्चुगलको राजधानी लिस्बन आउनुअघि इन्टरको प्रदर्शन राम्रो थिएन । सबैखाले प्रतियोगितामा गरी इन्टर ६ खेलमा जितबिहीन थियो । तर, पोर्चुगलमा इन्टर विजय हासिल गर्न सफल भयो । बेनफिका पनि अघिल्लो खेलमा एफसी पोर्टोसँग पराजित भएको थियो ।
गएराति सम्पन्न अर्को खेलमा इङ्लिस प्रिमियर लिगको क्लब म्यानचेस्टर सिटीले जर्मन बुन्डेसलिगाको क्लब बायर्न म्युनिखलाई ३-० ले हराएकाे छ ।





























प्रतिक्रिया