एसीसी प्रिमियर कप क्रिकेटको उपाधि जित्दै एसिया कपमा छनौट हुन सफल भएकोमा नेपाली क्रिकेट टोलीलाई देशका शीर्ष नेताहरुले बधाई दिँदै आगामी यात्राको लागि शुभकामना व्यक्त गरेका छन् । उनीहरुले ऐतिहासिक सफलता हात पारेकोमा देशले गौरवको बोध गरेको पनि बताएका छन् ।
मंगलबार संयुक्त अरब इमिरेट्स (युएई)लाई सात विकेटले हराउँदै एसिया कपमा छनोट भएकोमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली टोलीलाई बधाई तथा शुभकामना दिएका छन् । उनले देशको पहिचान र प्रतिष्ठा एवं नेपालीलाई उर्जा प्रदान गर्ने खेलाडीहरुलाई सरकारको तर्फबाट थप प्रोत्साहन र पुरस्कृत गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।
सामाजिक सञ्जालमार्फत बधाई दिँदै प्रधानमन्त्री दाहालले भनेका छन्, ‘एसीसी प्रिमियर कप जित्न सफल भएकोमा नेपाली क्रिकेट टोलीलाई हार्दिक बधाइ ज्ञापन गर्दछु । देशको पहिचान र प्रतिष्ठा एवं नेपालीलाई उर्जा प्रदान गर्ने खेलाडीहरूको योगदानप्रति उच्च सम्मान गर्दै सरकारको तर्फबाट थप प्रोत्साहन र पुरस्कृत गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।’
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि फाइनलमा युएईलाई पराजित गर्दै एसीसी प्रिमियर कपको विजेता बनेको नेपाली राष्ट्रिय क्रिकेट टिमलाई बधाई दिएका छन् ।
देउवाले पनि सामाजिक सञ्जालमार्फत बधाई दिँदै भनेका छन् ‘फाइनलमा युएईलाई पराजित गर्दै एसीसी प्रिमियर कपको विजेता बनेको नेपाली राष्ट्रिय क्रिकेट टिमलाई हार्दिक बधाई । यस जीतसँगै एसिया कप प्रवेश गर्न सफल भएकोमा सबै खेलाडी, प्रशिक्षकलगायत सम्पूर्ण टिमलाई शुभकामना।’
यस्तै, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि एसीसी प्रिमियर कप क्रिकेटमा जित्दै एसिया कपमा छनोट भएका खेलाडीहरुलाई बधाई दिएका छन् । उनले पनि सामाजिक सञ्जालमा नेपाली टोलीलाई बधाई दिँदै लेखेका छन् ‘नेपाल एसिया कपमा ! यूएईलाई ७ विकेटले हराउँदै नेपाल एसिया कपमा छनोट । नेपाली क्रिकेट टिमलाई धेरै धेरै बधाई, सम्पूर्ण नेपालीलाई बधाई !!’
सभामुख देवराज घिमिरेले पनि शुभकामना दिँदै खेलको अभूतपूर्व जितले नेपाल र नेपालीको शिर उँचो बनाएकोप्रति खुसी व्यक्त व्यक्त गरेका छन् । उनले नेपाली क्रिकेटको व्यवसायिकरणमा थप सहयोग पुग्ने विश्वास पनि व्यक्त गरेका छन् ।साथै युएईको क्रिकेट बोर्डले एसिया कपमा छनोट भएकोमा नेपाली टिमलाई बधाई दिएको छ । ‘बधाई नेपाल । एसीसी प्रिमियर कपको फाइनलमा नेपाल ७ विकेटले युएईलाई पराजित गर्दै यसै वर्ष हुने एसिया कपमा छनोट भएको छ’ बोर्डले लेखेको छ, ‘हामीलाई हाम्रा खेलाडीले गरेको प्रयासप्रति गर्व छ। हामी फेरि बलियो भएर आउनेछौँ ।’
नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्कालगायत थुप्रैले पनि नेपाली क्रिकेटले मारेको छलाङमा बधाई दिँदै आगामी यात्राको पनि कामना गरेका छन् । जितपछि सामाजिक सञ्जालहरु रंगिने क्रम जारी छ । जितले आम नेपालीमा चुलाएको हर्ष अहिले सामाजिक सञ्जालभर पोखिने क्रम तीब्र बनेको छ ।
प्रतिक्रिया