गुल्सन झाः भारतमा प्रशिक्षण, टियू मैदानमा कीर्तिमान

गुल्सन झाः भारतमा प्रशिक्षण, टियू मैदानमा कीर्तिमान

केन्द्रबिन्दु
0
Shares

नेपाल घरेलु मैदानमा सम्पन्न एसिसी प्रिमियर कपको च्याम्पियन बन्दै एसिया कपका लागि छनोट भयो । नेपालले चिरप्रतिद्वन्द्वी यूएईलाई फाइनलमा ७ विकेटले हरायो । वर्षाका कारण सोमबार रोकिएको फाइनल खेल मंगलबार बिहान सुरू भएको थियो । सोमबार नै ९ विकेट गुमाएको युएईले उपाधि जित्न नेपाललाई ११८ रनको लक्ष्य दियो । सामान्य लक्ष्य पाउँदा पनि नेपालको सुरुवात भने सम्झन लायक रहेन । 

दोस्रो ओभरको दोस्रो बलमा ओपनर कुशल भुर्तेल आउट भएपछि केही महिनाअघि मात्रै राष्ट्रिय टोलीमा स्थान बनाउन सफल १७ वर्षीय गुल्सन झा क्रिजमा आएका थिए । ६.१ ओभरमा अर्का ओपनर आसिफ शेख पनि आउट भए। त्यसपछि कप्तान रोहितकुमार पौडेल ब्याटिङ गर्न आएका थिए । एक रनमात्र बनाएर उनी ८औं ओभरको अन्तिम बलमा आउट भए ।

नेपालले २२ रन जोड्न ३ विकेट गुमाएको थियो । त्यसपछि मैदानमा आए, भिम सार्की ।  गुल्सान र भीमले सम्हालिएर खेले । र यही जोडीले ७ विकेटको जित निकाल्दै नेपाललाई महत्वपूर्ण उपाधि दिलायो ।

सो क्रममा उमेरले किशोर अवस्था पनि पार नगरेका गुल्सनले उत्कृष्ट प्रदर्शन गरे । टोली संकटमा रहेको अवस्थामा क्रिकेट इतिहासमै नेपालले पाएको सबैभन्दा ठुलो सफलता मध्ये एक एसिया कपमा छनोट हुँदा आफ्नै ब्याटले कमाल देखाउँछ भन्ने कल्पनासम्म पनि गुल्शनले सायदै गरेका थिए होला । हुन त क्रिजमा उत्रदै गर्दा जो कोही खेलाडी आफैले टिमलाई जिताउन सकौं भनेर सम्झन्छ । तर सबैको उद्धेश्य पूरा नहुन सक्छ । गुल्सन नेपालले उपाधि जितेको समय सरप्राइज प्याकेज नै बने । उनले ८३ बलमा ३ चौका र ६ छक्कासहित नटआउट ६७ रन बनाए । उनको एतिहासिक ब्याटिङमा सारा नेपाली खुसीले गदगद छन् । 

सन् २००६ मा सर्लाहीमा जन्मिएका गुल्सन झा केही महिनाअघि सम्पन्न आईसीसी विश्वकप लिग–२ अन्तर्गत ओमान भ्रमणका बेला पहिलोपटक राष्ट्रिय टोलीमा स्थान बनाउन सफल थिएका थिए । 

भारतको राँचीमा रहेको अरुणोदय क्रिकेट एकेडेमीमा क्रिकेट सिकेका झाका पिता मलंगवामा इँटाभट्टा संचालन गर्छन् । भारतमा रञ्जित ट्रफी खेलीसकेका खेलाडीहरुसँग क्रिकेट खेल्ने र सिक्ने मौका पाएका उनी पढाई नै छाडेर प्रधानमन्त्री कपको छनोट खेल्न नेपाल आए । नेपाल आएपछि भने उनी भारत फर्केका छैनन् । 

राष्ट्रिय टोलीमा पर्नुअघि झाले घरेलु प्रतियोगितामा २ खेलमात्र खेलेका थिए । घरेलु प्रतियोगिता मेयर्स कपका दौरान फाइनल खेलमा ४ विकेट लिएर विभागिय क्लब नेपाल पुलिसलाई उपाधि नै जिताएका झा सोही समयदेखि मुख्य प्रशिक्षक र राष्ट्रिय क्रिकेट खेलाडी छनोटकर्ताको नगरमा छन् । 

टोली संकटमा रहेको अवस्थामा क्रिकेट इतिहासमै नेपालले पाएको सबैभन्दा ठुलो सफलता मध्ये एक एसिया कपमा छनोट हुँदा आफ्नै ब्याटले कमाल देखाउँछ भन्ने कल्पनासम्म पनि गुल्सनले सायदै गरेका थिए होला ।

पुलिसबाट खेल्नुअघि गुल्सनले प्रधानमन्त्री कप छनोट प्रतियोगिता प्रदेश–२ बाट खेलेका थिए । पुलिस क्लबका फास्ट बलर ललित भण्डारी घाइते भएपछि मौका पाएका झाले काठमाडौँ मेयर्स कपको फाइनलमा गरेको प्रदर्शनले सबैको ध्यान खिचेका थिए । तत्कालिन समयका राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक डेभ वाट्मोरको नजर पनि झा माथि पर्यो । सुरुमा नेट प्राक्टिस गराई टोलीमा समावेश गर्ने सोचमा रहेका डेभ वाट्मोरले अब्बल प्रतिभा देखेर अमेरिकाविरूद्धको ओडीआई खेलमा झालाई राष्ट्रिय टोलीमा डेब्यू नै गराए । डेब्यू खेलमा महत्वपूर्ण प्रभाव छोड्न नसकेका कारण झा केही समय राष्ट्रिय टोलीको प्लेइङ ११ मा पनि पर्न छोडेका थिए । तर उनी अभ्यास खेलहरुमा भने परिरहन्थे ।  

यस्तैमा गत चैत महिनामा पुनः विश्वकप लिग–२ अन्तर्गत नेपाली टोलीमा स्थान बनाउन सफल गुल्सनले लिगको अन्तिम खेलमा यूएईविरुद्ध पहिलो र देशका लागि महत्वपूर्ण अर्धशतक प्रहार गरे । ओपनरहरु कुशल भुर्तेल १ रन, आशिफ शेख ८ रन र कप्तान रोहित पौडेल पनि क्रिजमा टिक्न नसकेका बेला मैदान प्रवेश गरेका झाले एकदिवसीय अन्तर्राष्ट्रिय करिअरको पहिलो अर्धशतक प्रहार गर्ने सुनौलो अवसर समेत पाए ।

यूएइविरुद्धको खेलमै पहिलो अर्धशतक बनाएका गुल्सनले मंगलबार सम्पन्न एसिसी प्रिमियरको फाइनल खेलमा सोही टोलीविरुद्ध नै महत्वपूर्ण दोस्रो अर्धशतक बनाए ।

सो खेलमा उनले यूएईविरुद्ध ४१औं ओभरमा २० रन ल्याएर नेपालका लागि जित सुनिश्चित गराए । यूएइविरुद्धको खेलमै पहिलो अर्धशतक बनाएका गुल्सनले मंगलबार सम्पन्न एसिसी प्रिमियरको फाइनल खेलमा सोही टोलीविरुद्ध नै महत्वपूर्ण दोस्रो अर्धशतक बनाए । गुल्सानले नेपाललाई आवश्यक परेको बेला महत्वपूर्ण र निर्णायक खेलहरुमा उत्कृष्ट ब्याटिङ गर्दै आइरहेका छन् । 

नेपाली टोलीलाई समस्याग्रस्त अवस्थाबाट उकास्न सक्ने क्षमता भएका गुल्सन झा नेपाली टोलीका अर्जुन नै बनेर आएका छन् । खेल क्षेत्रमा लागेका अधिकांश खेलाडीहरु भविष्य नदेखि रोजगारीका लागि बाहिरिरहेको समयमा नेपाली क्रिकेटले गुल्सन जस्ता प्रतिभाशाली खेलाडीलाई नेपालमै राम्रो करिअर बनाउने अवसर प्रदान गर्नुपर्ने आवश्यकता छ । जसले गर्दा क्रिकेट नै खेलेर आफ्नो भविष्य बनाउने चाहना राख्ने नयाँ प्रतिभाशाली खेलाडीहरुलाई ढाडस मिल्नेछ ।   

Logo