अखिल नेपाल फुटबल संघको १९ औँ साधारण सभा

अखिल नेपाल फुटबल संघको १९ औँ साधारण सभा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

युवा तथा खेलकुद मन्त्री दावा तामाङले खेलकुद पुरस्कार र खेलाडी प्रोत्साहन भत्ताको लागि मन्त्रालयबाट बजेटको व्यवस्थापन गर्ने बताएका छन्।

मंगलबार ललितपुरमा आयोजित अखिल नेपाल फुटबल संघको १९ औँ एन्फा कंग्रेस (साधारण सभा) बैठकलाई सम्बोधन गर्दै मन्त्री तामाङले मन्त्रालयले विगतका वर्षमा दिंदै आएको तर हाललाई रोकिएर रहेको खेलकुद पुरस्कार र खेलाडी प्रोत्साहन भत्तालाई मन्त्रालयले पुनः व्यवस्थापनको प्रक्रिया अगाडि बढाउने बताएका हुन् । यसको सन्दर्भमा मन्त्रालय छिट्टै टुंगोमा पुग्ने उनको भनाइ छ ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवालले नेपाली खेलाडीहरुसँग योग्यता, क्षमता तथा सिप भएपनि व्यवस्थित प्रशिक्षणको अभाव रहेको बताए । नेपाली खेलाडीलाई अन्तर्राष्ट्रियस्तरमा प्रशिक्षण दिलाउन सके खेल क्षेत्रमा उपलब्धी हासिल गर्न सकिने उनको भनाइ छ । खेलाडीहरु फुट र विभाजनमा नलागी एकताबद्ध भएमात्रै फुटबल क्षेत्रले सफलता हासिल गर्न सक्ने उनले बताए ।

अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्माछिरिङ शेर्पाले नेपाली फुटबललाई परिणाममुखीरुपले व्यवस्थित गर्नका लागि बजेटको आवश्यकता रहेको बताए । बजेटको व्यवस्था मन्त्रालय तथा परिषद्ले गरिदिए नेपाली फुटबललाई चार वर्षभित्र व्यवसायिकतातर्फ उन्मुख गराउने उनको भनाइ छ ।

कोभिड १९ को मारमा खेल क्षेत्र पनि उत्तिकै प्रभावित भएको छ । खेलाडी तथा खेल क्षेत्रका व्यक्तिहरुले खेल क्षेत्रलाई पुनः पहिलेकै अवस्थामा फर्काउनको निम्ति सरकारले विशेष प्याकेज ल्याउनु पर्ने बताउने गरेका छन् ।

Logo