प्रदेश–१ सरकारको पुरस्कारप्रति प्रशिक्षकको असन्तुष्टि

प्रदेश–१ सरकारको पुरस्कारप्रति प्रशिक्षकको असन्तुष्टि

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

१३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक जित्न सफल प्रदेश नम्बर १ का खेलाडीलाई प्रदेश सरकारले बुधबार एक कार्यक्रमको आयोजना गरेर सम्मान गरेको थियो । साग समापन लगत्तै आफ्ना प्रदेशका विजेता खेलाडीलाई सम्मान गर्ने निर्णय गरेको प्रदेश सरकारले ६ महिनापछि खेलाडीलाई सम्मान गरेको हो ।

प्रदेश एक बाट ८८ खेलाडीले विभिन्न बिधामा पुरस्कार जितेका थिए । बुधबार सरकारी कार्यालयमा २५ खेलाडीको उपस्थितिमा पुरस्कार वितरण गरिएको थियो । प्रदेश सरकारले खेलाडीलाई मात्रै पुरस्कार वितरण गर्दा सागका पदक विजेता प्रशिक्षक भने रुष्ट देखिएका छन् । सागका पदकधारी प्रशिक्षकले प्रदेश सरकारसँग असन्तुष्टि ब्यक्त गर्दै प्रादेशिक सरकारले निरुत्साहित बनाएको गुनासो गरेका छन् ।

बुधबार खेलाडीले सम्मान पाए लगत्तै महिला फुटबल टिमका मुख्य प्रशिक्षक हरि खड्काले सामाजिक सञ्जालमा प्रदेश नम्बर एक सरकार र मुख्यमन्त्री शेरधन राईसँग असन्तुष्टि जनाए । उनले हरेक खेलको सफलतामा खेलाडीसँगै प्रशिक्षक र ब्यवस्थापकको पनि भूमिका महत्वपूर्ण हुने भन्दै मुख्यमन्त्रीको ध्यानाकर्षण गराए ।

‘प्रदेश नम्बर एक ले खेलाडीहरुलाई नगद सहित सम्मान गरेकोमा खेलाडीहरुलाई बधाई अनि प्रदेश प्रमुख लगायत सम्पूर्ण टिमलाई धेरै धरै धन्यवाद तर एउटा जिज्ञासा प्रशिक्षक अनि ब्यबस्थापक को भूमिका के ? यदि भुमिका छैन भने भन्नू पर्यो नत्र नेपालमा बसेर काम गर्ने चाहे त्यो प्रशिक्षक होस् या ब्यबस्थापक सबैको भूमिका महत्वपूर्ण हुन्छ ।’ खड्काले भने ।

उनले अगाडि भनेका छन् ‘सबैले स–सम्मान आफ्नो मूल्यांकन होस् भनेर काम गरेका हुन्छन् यसमा मूख्यमन्त्री ज्युले के भन्न चाहनु हुन्छ या मूख्यमन्त्रीज्युलाई उहाँहरुको जिम्मेवारी, उत्तरदायित्व र योगदानको कदर नभएको हो कि भन्ने मलाई लागेको जिज्ञासा, म गलत हुँला तर जति पनि नेपालमा बसेर काम गर्ने प्रशिक्षक होस् या ब्यबस्थापन सबै सम्मानका भोका हुन्छन् त्यसैले यसतर्फ मूख्यमन्त्री ज्युको ध्यानाकर्षण गर्न चाहन्छु ! जय नेपाली फुटबल ।’

साग समापन लगत्तै प्रदेश सरकारले स्वर्ण विजेतालाई ३, रजत विजेतालाई २ र काँस्य पदक विजेतालाई १ लाख दिने निर्णय गरेको थियो । यस्तै सरकारले टिम स्पर्धातर्फ विजेताका खेलाडीलाई नगदसहित पुरस्कृत गरेको छ । प्रदेश सरकारले बुधबारनै विजेता खेलाडीको खातामा रकम राखिदिएको छ ।

कराँतेमा नेपाललाई १० स्वर्णपदक जिताएका प्रशिक्षक कुशल श्रेष्ठले समेत आफ्नै प्रदेश सरकारले आफूलाई निरुत्साहित बनाएको बताए । साग खेलकुदको इतिहासमा नेपालले ५१ स्वर्ण जित्दा कराँतेले १० स्वर्ण, ४ रजत र ५ काँस्य जितेको थियो । प्रशिक्षक श्रेष्ठले काम गर्ने मान्छेलाई सरकारले नै निरुत्साहित गर्दा अगाडिको दिनमा हौसला नमिल्ने बताउँछन् ।

साँच्चिकै एउटा राम्रो टिम बन्नका लागि खेलाडी, प्रशिक्षक, ब्यवस्थापक सबैको उत्तिकै महत्वपूर्ण भूमिका रहन्छ । यसरी सम्मान गर्दा भोलि प्रशिक्षकले कुन आत्मसम्मानले काम गर्ने भन्ने प्रश्न समेत धेरैले गरेका छन् ।

यता, प्रदेश सरकारले भने बजेट अभावका कारण प्रशिक्षकलाई पुरस्कार दिन नपाएको बताएको छ । प्रदेश १ का खेलकुद विभाग प्रमुख कोमल खड्काले सुरुवातमा प्रशिक्षकलाई दिने निर्णय भए पनि बजेट अभावका कारण यस आर्थिक बर्षमा नदिएको बताए ।

खेलकुद विभाग प्रमुख खड्काले प्रदेश सरकारले ८० लाख रुपैयाँ बजेट पुरस्कारका लागि छुट्टाएको उल्लेख गर्दै आगामी बर्षको बजेटमा प्रशिक्षकका लागि छुट्याउने बताए ।

Skip This
Skip This
Logo