विश्वकप छनोट खेल्ने नेपाली टोलीकाे घोषणा, अर्जुन र किशोरकाे पूनरागमन

विश्वकप छनोट खेल्ने नेपाली टोलीकाे घोषणा, अर्जुन र किशोरकाे पूनरागमन


आगामी महिना जिम्बावेमा हुने आइसिसी एकदिवसीय विश्वकप छनोटकाे लागि नेपाली टोलीको घोषणा भएको छ । 

नेपाल क्रिकेट संघ (क्यान)ले आईतबार  रोहित पौडेलको कप्तानीमा १६ सदस्य टोलीको घोषणा गरेको हो । टोलीमा अर्जुन साउद र किशोर महतोले पूनरागमन गरेका छन् । .

बन्द प्रशिक्षणबाट देव खनाल, अभिनाश बोहरा, कमलसिंह ऐरी, सूर्य तामाङ, मौसम ढकाल र सन्दीप जोरा बाहिरिएका छन् ।

नेपाली टोली अन्तिम तयारीको लागि बुधबार दक्षिण अफ्रिका जानेछ । सो क्रममा नेपालले नेदरल्यान्ड्स, स्कटल्यान्ड, ओमान र युएईसँग मैत्रीपूर्ण खेल खेल्नेछ ।

आईसीसीले गरेको ड्र अनुसार नेपाल दुई पटकको विश्व विजेता वेष्टइण्डिज र आयोजक जिम्बावे सम्मिलित समूहमा परेको छ । समूह ‘ए’मा नेपालसहित वेष्टइण्डिज, जिम्बावे, नेदरल्याण्ड्स र अमेरिका रहेका छन् । समूह ‘बी’मा भने श्रीलंका, आयरल्याण्ड, स्कटल्याण्ड, ओमान र यूएई छन् ।

विश्वकप छनोट आगामी जुन १८ देखि जुलाई ९ सम्म जिम्बावेमा हुनेछ । हरेक समूहबाट शीर्ष तीन टोली सुपर सिक्समा स्थान बनाउनेछन् । सुपर सिक्समा हरेक टोलीले एक अर्कासँग खेल्नेछन् । जसबाट शीर्ष दुई टोली फाइनलमा पुग्नेछन् । फाइनलमा पुग्ने दुई टोलीले नै भारतमा हुने एकदिवसीय विश्वकप खेल्न पाउनेछन् ।

नेपालले आफ्नो पहिलो खेल १८ जुनमा (असार ३) आयोजक जिम्बावेसँग खेल्नेछ। त्यस्तै, नेपालले २० जुनमा (असार ५) अमेरिका, २२ जुनमा वेस्ट इन्डिज (असार ७) र २४ जुनमा (असार ९) नेदरल्यान्ड्ससँग खेल्नेछ।

नेपालको टोली-

रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जि.सी, ललित राजवंशी, अर्जुन साउद र किशोर महतो ।

Logo