साविक उपविजेता नेपालले भारतमा जारी १४औं संस्करणको साफ च्याम्पियनसिपको सुखद् अन्त्य गरेको छ ।
मंगलबार बेंग्लोरस्थित कान्तिराव स्टेडियममा भएको समूह चरणको अन्तिम खेलमा पाकिस्तानमाथि १-० गोलअन्तरको जित निकाल्दै नेपालले प्रतियोगिताको अन्त्य गरेको हो । नेपालको जितमा आशिष चौधरीले गरेको एकमात्र गोल नै निर्णायक बन्यो ।
खेलको पहिलो हाफमा राम्रो अवसर पाएपनि गोलमा परिणत गर्न नसकेर गोलरहित बराबरीमा रोकिएको नेपालले दोस्रो हाफमा भने अग्रता लिन सफल भएको थियो । खेलको ८०औं मिनेटमा चौधरीले पेनाल्टी क्षेत्रभन्दा बाहिरबाट गरेको शक्तिशाली प्रहार नै सानदार गोलमा परिणत भयो । उक्त प्रहारलाई पाकिस्तानका गोलरक्षकले रोक्न खोजे तर, सकेनन् । आशिषको यो नेपालका लागि डेब्यु गोल हो ।
प्रतियोगिताको समूह चरणबाटै बाहिरिसकेको नेपालको यो पहिलो जित हो । नेपालले यसअघिका दुवै खेलमा हार व्यहोरेको थियो । समूह ‘ए’अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल आमन्त्रित टोली कुवेतसँग ३–१ गोलले पराजित भएको थियो । यस्तै, दोस्रो खेलमा भारतसँग २–० गोले पराजित हुँदै नेपाल एक खेल अघि नै बाहिरिएको थियो।
पाकिस्तान पनि भारत र कुवेत दुवैसँग समान ४–० गोलको हार व्यहोरेर प्रतियोगिताबाट बाहिरिसकेको छ।































प्रतिक्रिया