जिम्बावेमा जारी आइसिसी एकदिवसीय विश्वकप छनोटमा सेन विलियम्सको शतकको सहयोगमा घरेलु टोलीले विश्वकपमा छनोट हुने सम्भावना बलियो बनाएको छ।
क्विन्स स्पोर्टस् क्लबको मैदानमा भएको सुपर सिक्सको पहिलो खेलमा जिम्बावेले ओमानलाई १४ रनले पराजित गरेको हो। जिम्बावेले दिएको ३ सय ३३ रनको लक्ष्य पछ्याएको ओमानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३ सय १८ रन मात्र बनायो।
ओमानका लागि ओपनर कश्यप प्रजापतीले ९७ बलमा १२ चौका र १ छक्काको सहयोगमा १ सय ३ रनको शतकीय ईनिङ खेले पनि टोलीलाई जित दिलाउन भने सकेनन्। ओडिआई करियरको दोस्रो शतक प्रजापतीले ९३ बलमा पूरा गरे।
ओमानले २९ रनमा नै पहिलो विकेट गुमाएको थियो। तर, दोस्रो विकेटका लागि प्रजापती र अकिव ईलियासले ९९ बलमा ८३ रनको महत्वपूर्ण साझेदारी गरे। ईलियास ६१ बलमा ५ चौकाको सहयोगमा ४५ रन बनाउँदै सिकन्दर राजाको बलमा आउट भए।
३० औं ओभरको तेस्रो बलमा कप्तान जिशान मकशुद २३ रन बनाउँदै रिटायर्ट हर्ड आउट भएका थिए। आयान खानले ४३ बलमा ५ चौकाको सहयोगमा ४७ रनको ईनिङ खेले। मोहम्मद नदिम १८ बलमा ३० रन बनाएर अविजित रहे।जिम्बावेका लागि ब्लेसिङ मुजरवानी र टेन्डि चतराले समान ३/३ तथा रिचार्ड नगर्भाले २ विकेट लिए । सिकन्दर राजाले १ विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जिम्बावेले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३ सय ३२ रन बनाएको थियो। सुपर सिक्सको पहिलो खेलमा जित निकालेको जिम्बावे समूह चरणबाट ल्याएको ४ अतिरिक्त अंक सहित शीर्ष स्थानमा रहेको छ।पराजित ओमान अंक बिहिन रहँदै पुछारमा रहेको छ।





























प्रतिक्रिया