दीपेन्द्र सम्मिलित टाइगर्स विजयी

दीपेन्द्र सम्मिलित टाइगर्स विजयी


नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी सम्मिलित मोन्टरिएल टाइगर्सले ग्लोबल टि२० क्यानडामा मिसिसौगा प्यान्थर्सलाई ७ विकेटले हराएको छ। टाइगर्सको यो लगातार दोस्रो जित हो।

जितको लागि १ सय ४१ रनको विजयी लक्ष्य पछ्याएको टाइगर्स १५.५ ओभरमा ३ विकेट गुमाउँदै विजयी भयो। कप्तान क्रिस लिनले ४५ बलमा ९ चौका र १ छक्कासहित ६४, सकिब अल हसन २४ बलमा ५ चौका र २ छक्कासहित ३६ र शेर्फान रदरफोर्ड २७ रनमा आउट भए।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको प्यान्थर्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४० रन बनायो। उसका लागि जेम्स निशमले ३५ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ५४ रन बनाए। तर दीपेन्द्रलाई भने यस खेलमा बेन्चमा राखेको थियो।

दीपेन्द्रले पहिलो खेलमा सर्रे जागुअर्सविरुद्ध २२ बलमा २ चौकासहित सर्वाधिक २८ रन बनाएका थिए। टोलीका लागि सर्वाधिक रन बनाएका दीपेन्द्रलाई टाइगर्सले बेन्चमा राख्ने निर्णय लिएको थियो। दीपेन्द्रलाई बेन्चमा राख्दा म्याथ्यु स्पोर्सलाई मौका दिएको थियो।

उता सन्दीप लाममिछाने सम्मिलित सर्रे र ब्राम्पटन वल्भ्सबीचको खेल बर्षाको कारण हुन सकेन। सर्रे जागुएर्सले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएको थियो। तर ब्राम्पटन ७.२ ओभरमा ५०-३ को अवस्थामा वर्षाको कारण खेल रोकिएको थियो।

 

Logo