‘खेलाडी छन्, खेलमैदान छैनन्’

‘खेलाडी छन्, खेलमैदान छैनन्’


भक्तपुरका विभिन्न स्कुलहरुका प्रिन्सिपल तथा शिक्षकहरुले आफूहरुसँंग थुप्रो विद्यार्थी खेलाडीहरु भए पनि खेलमैदान नभएकोले खेल क्षेत्रलाई अगाडि वढाउन नसकेको बताएका छन् । खेलकुद क्षेत्रलाई अगाडि लान आफूहरुले भरमग्दुर प्रयास गरेको तर खेल मैदान नहुँंदा आफूहरुको प्रयासले सफलता हासिल गर्न नसकेको उनीहरुले बताए । 

भक्तपुर जिल्ला खेलकुद विकास समितिको आयोजना र प्याब्सन जिल्ला कार्यसमिति भक्तपुरको व्यवस्थापनमा हामी विद्यालय अभियानअन्तर्गत विद्यार्थीलाई खेलकुदप्रति अभिप्रेरित गर्ने विषयमा भएको अन्तरक्रियामा सहभागी वक्ताहरुले यस्तो बताएका हुन् । कार्यक्रममा सहभागी वक्ता स्कुलका प्रतिनिधिहरुले यही कारण जिल्लामा खलकुद विकासले फड्को मार्न नसकेको बताए । 

कार्यक्रममा भक्तपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपक थापाले खेल मैदानको अभावमा जिल्लामा खेलकुद क्षेत्र पछाडि परेको स्वीकारे । ‘हामीसँंग एउटा पनि खेलकुद मैदान छ्रैनन्,’ उनले भने, ‘केही खेल मैदानहरु छन्, ती पनि स्थानीय निकायको नियन्त्रणमा छन् ।’ 

भक्तपुरमा सबैभन्दा ठूलो भक्तपुर नगरपालिका–७ मा  माहेश्वरी खेल मैदान छ । अहिले यस खेलकुद मैदान काम चलाउ मैदानको रुपमा प्रयोगमा छ । वर्षामा हिलाम्य भएर यसलाई प्रयोग गर्न सकिने अवस्था छैन । यसलाई फुटबल मैदानसहितको रंगशालाको रुपमा स्तरोन्नति गरिने योजना राखेको एक दशक भए पनि अहिलेसम्म यसले मूर्तरुप लिन सकेको छैन । 

‘अव्यवस्थित हुँदै रहेको उक्त मैदानलाई बाह्रै महिना फुटबल खेल्न मिल्ने गरी रंगशाला बनाउन लागिपरेका छौं,’ उनले भने । यसको लागि भक्तपुर नगरपालिकाले बजेट पनि विनियोजन गरेको छ ।

भक्तपुरकै एकमात्र उक्त मैदानमा पाँच हजारभन्दा बढी दर्शक अट्ने प्याराफिट निर्माण हुने जनाइएको छ । कृत्रिम घाँस बिछ्याएर उक्त मैदानलाई अन्तर्राष्ट्रियस्तरको बनाउन लागिएको बताइएको छ । उक्त खेल मैदानको स्तरोन्नती गर्दै रंगशाला बनाउनको लागि भक्तपुर नगरपालिकाले डिजाइनसमेत तयार गरिसकेको जनाइएको छ । तर यसले मूर्तरुप भने अहिलेसम्म लिन पाएको छैन । 

प्याब्सन भक्तपुर जिल्ला समितिका अध्यक्ष सुरेन्द्र श्रेष्ठले विद्यालयहरुमा खेलकुद विकास गर्न खेलमैदानको अभावसहित अन्य विविध समस्याहरु रहेको सुनाए । उनले एउटै स्कुलमा धेरै खेलमा विद्यार्थीहरुले रुचि राख्ने, तर त्यसअनुसार प्रशिक्षक राख्न नसकिने अवस्था रहेको बताए । आर्थिकभार पर्ने भएकाले धेरै जना प्रशिक्षक राख्न नसकिने साथै खेलकुदको क्रममा घाइते भई उपचार गर्नुपर्नेलगायतका आर्थिक भार रहेको उनले बताए । 

प्याब्सन मध्यपुर थिमिका अध्यक्ष नितेश आचार्यले विद्यार्थीहरु विविध खेलमा रुचि राख्ने, तर त्यस अनुसारको मैदान, प्रशिक्षक राख्न नसकिने समस्या रहेको बताए । 

कार्यक्रममा रामशरण त्वाती, श्याम तजलेलगायतका खेलाडी तथा विभिन्न स्कुलहरुको प्रतिनिधित्व गरी सहभागी विद्यालय प्रिन्सिपल तथा प्रतिनिधिहरुले ‘एक विद्यार्थी ः एक खेलाडी’ आवश्यक रहेको तर पनि खासै उपलव्धी हासिल गर्न नसकेको बाध्यता सुनाए । 

Logo