विश्व पौडी च्याम्पियनसिपमा गौरिका सिंहले राखिन् अर्को नयाँ राष्ट्रिय कीर्तिमान

विश्व पौडी च्याम्पियनसिपमा गौरिका सिंहले राखिन् अर्को नयाँ राष्ट्रिय कीर्तिमान

केन्द्रबिन्दु
0
Shares

दक्षिण एशियाली खेलकुद (साग)की ४ स्वर्ण पदकधारी गौरिका सिंहले जापानको फुकुओकामा जारी २०औं संस्करणको वर्ल्ड एक्वाटिक च्याम्पियनसिप २०२३ मा अर्को नयाँ राष्ट्रिय कीर्तिमान राख्न सफल भएकी छिन् । 

बुधबार सम्पन्न ५० मिटर ब्याकस्ट्रोकमा गौरिकाले २०१६ मा भारतको गुवाहटीमा आयोजना भएको १२औं साग गेम्समा राखेको ३१.८७ सेकेन्डको समयमा सुधार गर्दै ३१.४४ सेकेन्ड समयको नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी हुन् । यसअघि गौरिकाले यसै च्याम्पियनसिपमा १०० मिटर ब्याकस्ट्रोकमा पनि नयाँ कीर्तिमान राखेकी थिइन् ।

ओलम्पिकको छनौट प्रतियोगिता समेत रहेको च्याम्पियनसिपको बुधबार भएको पुरुष तर्फको १०० मिटर फ्रिस्टाइलमा एलेक्जेन्डर शाहलेपनि आफ्नो समयमा सामान्य सुधार गर्दै नयाँ कीर्तिमान कायम गरेका छन् । एलेक्सले पुरानो समय ५२.९६ सेकेन्डको समयमा सामान्य सुधार गर्दै ५२.९४ समयका साथ नयाँ रेकर्ड राखेका हुन् । एलेक्सले हालै सम्पन्न ११औं एनएसए कप च्याम्पियनसिपमा ५२.९६ सेकेन्ड समयको कीर्तिमान राखेका थिए ।

यसअघि मंगलबार सम्पन्न प्रतियोगितामा डुवाना लामाले २०० मिटर फ्रिस्टाइलमा आफ्नो ब्यक्तिगत समयमा सुधार गर्दै २ मिनट १२.४६ सेकेन्ड समयमा दुरी पूरा गरेकी थिईन् । यस अघि डुवानको ब्यक्तिगत समय २ मिनट १५.०१ समय रहेको थियो । यस विधामा गौरिकाको नाममा २ मिनट ११.९४ सेकेन्डको समय रहेको छ । अब नेपाली खेलाडीहरुको दुई खेल बाँकी छ । बिहीबार डुवाना लामाले १०० मिटर फ्रिस्टाइल र एलेक्सले शुक्रबार ५० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्नेछन् । 

Logo