दीपेन्द्रले सर्वाधिक रन बनाएपनि ब्राम्पटन वल्भ्ससँग टाइगर्स पराजित

दीपेन्द्रले सर्वाधिक रन बनाएपनि ब्राम्पटन वल्भ्ससँग टाइगर्स पराजित

केन्द्रबिन्दु
0
Shares

नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले सर्वाधिक रन बनाएपनि मोन्टरिएल टाइगर्स ग्लोबल टि२० क्यानडामा ब्राम्पटन वल्भ्ससँग १५ रनले पराजित भएको छ । जितको लागि १ सय ४३ रनको विजयी लक्ष्य पछ्याएको टाइगर्स १९.१ ओभरमा १ सय २८ रनमा अल आउट हुन पुग्यो।

दीपेन्द्रसिंह ऐरीले २४ बलमा २ चौकासहित सर्वाधिक २८ रन बनाए । तरपनि टोलीको जितको लागि पर्याप्त हुन सकेन । दीपेन्द्र नेदरल्यान्ड्सका तीव्र गतिका बलर लोगन भान बीकको बलमा क्रिस ग्रिनबाट क्याच आउट भए ।

त्यस्तै बंगलादेशका अलराउन्डर सकिब अल हसनले २१ बलमा ४ चौका र १ छक्कासहित २८ र दीलप्रित सिंहले २४ रन बनाए । अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

ब्राम्पटनका लोगन भान बीकले ४ ओभरमा २० रन खर्चेर सर्वाधिक ३ विकेट लिए । कोलिन डि ग्रान्डहोम र शाहिद अहमाड्जाईले समान दुई विकेट लिए। टिम साउथी र क्रिस ग्रीनले एक एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको ब्राम्पटन १९.५ ओभरमा १ सय ४३ रनमा अल आउट भयो । उसका लागि कोलिन डि ग्रान्डहोमले ४० बलमा ७ चौका र १ छक्कासहित ५६ रन बनाए । त्यस्तै ओपनर उस्मान खानले २१ बलमा ६ चौकासहित ३३ र मार्क च्यापम्यान २१ रनमा आउट भए।

टाइगर्सका कार्लोस ब्रेथवेटले ३.५ ओभरमा २१ रन खर्चेर ४ विकेट लिए । आयन खानले ४ ओभरमा २१ रन खर्चेर ४ विकेट लिए । दीपेन्द्रले २ ओभरमा २० रन खर्चिए ।

आठौं ओभरमा दीपेन्द्रले न्युजिल्यान्डका दुई खेलाडी मार्क च्यापम्यान र कोलिन डि ग्रान्डहोमलाई मात्रै चार दिएका थिए । तर १० औं ओभरमा दीपेन्द्रले १६ रन खर्चिन पुगेका थिए । दीपेन्द्रलाई पहिलो बलमा च्यापम्यान र तेस्रो बलमा ग्रान्डहोमले चौका हानेका थिए ।

चौथो बलमा ग्रान्डहोमले छक्का हानेपछि महँगो ओभर हुन पुगेको थियो । त्यसपछि उनले बलिङको अवसर पाएनन् । अव दीपेन्द्रको टोलीले शनिबार साँझ टोरोन्टो नेशनलसँग खेल्नेछ।

Logo