काठमाडौं ।
राष्ट्रिय खेलकुद परिषद (राखेप) को कार्यवाहक सदस्य सचिवमा भक्तबहादुर ढकाल नियुक्त भएका छन् । युवा तथा खेलकुद मन्त्रालयले सोमबार ढकाललाई कार्यवाहकको जिम्मेवारी दिएको हो । उनी मन्त्रालयको खेलकुद विभाग महाशाखा प्रमुख हुन् । मन्त्रालयले ऐन कार्यान्यनको सुरुवात गरेको छ । यसै सन्दर्भ राखेपको दैनिक कार्यहरु संचालनका लागि मन्त्रालयले खेलकुद विभाग महाशाखा प्रमुखको हैसियतमा ढकाललाई जिम्मेवारी दिएको हो ।
नयाँ खेलकुद विकास ऐन गत बिहिबारबाट लागू भएसंगै राखेपको सदस्य सचिव पद रिक्त रहेको छ । खेलकुद विकास ऐन २०४८ निष्कृय भएसंगै राखेपका सदस्य सचिव रमेश सिलवाल, राखेप उपाध्यक्ष पिताम्बर तिम्सिना सहित बोर्ड सदस्यको कार्यकाल समाप्त भएको थियो ।
जसका कारण नयाँ सदस्य सचिव नियुक्त नभएसम्मका लागि ढकाललाई कार्यवाहकको जिम्मेवारी दिईएको हो । मन्त्रालयले नयाँ सदस्य सचिव नियुक्त गर्ने बताईसकेको छ । नयाँ ऐनमा सदस्य सचिव नियुक्तिका लागि मन्त्रालयले तीन सदस्यीय सिफारिस समिति गठन गर्ने उल्लेख छ । समितिले योग्यता पूरा भएका ब्यक्तिबाट सदस्य सचिवको नियुक्तिको लागि एक जना महिलासहित तीन जना उपयुक्त ब्यक्तिको नाम मन्त्रालयमा सिफारिस गर्नेछ ।
समितिबाट प्रस्तावित नामलाई मन्त्रालयले नियुक्तिका लागि मन्त्रीपरिषदमा पेश हुने उल्लेख छ । मन्त्रीपरिषद्ले उपयुक्त ठानेको ब्यक्तिलाई चार बर्षका लागि सदस्य सचिवमा नियुक्त गर्नेछ । सदस्य सचिवका लागि नयाँ ऐनले योग्यता समेत निर्धारण गरेको छ ।
नयाँ ऐन अनुसार सदस्य सचिव हुन नेपाली नागरिक, सरकारबाट मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातक तह उत्तीर्ण गरेको, खेलकुद क्षेत्रमा कम्तीमा ५ वर्ष काम गरेको, प्रचलित कानुनले अयोग्य नभएको र तीस वर्ष उमेर पूरा भएको योग्यता राखिएको छ ।































प्रतिक्रिया