भ्यानकुभेरसँगकाे रोमान्चक जितसँगै दीपेन्द्रको टाइगर्स फाइनलमा

भ्यानकुभेरसँगकाे रोमान्चक जितसँगै दीपेन्द्रको टाइगर्स फाइनलमा

केन्द्रबिन्दु
0
Shares

नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी सम्मिलित मोन्टरिएल टाइगर्सले ग्लोबल टि२० क्यानडाको दोस्रो क्वालिफायर खेलमा भ्यानकुभेर नाइट्समाथि एक विकेटको रोमान्चक जित हात पार्दै फाइनलमा स्थान बनाएको छ ।

जितको लागि १ सय ३८ रनको मध्यम विजयी लक्ष्य पछ्याएको मोन्टरिएल टाइगर्सले १९.३ ओभरमा ९ विकेट गुमाउँदै पूरा गरेकाे हाे। टाइगर्सलाई अन्तिम ओभरमा जितको लागि १५ रन चाहिँदा शेर्फान रदरफोर्डले रायन पठानलाई लगातार तीन छक्का हान्दै खेल जिताएका थिए।

रदरफोर्ड ३४ बलमा २ चौका र ३ छक्कासहित ४८ रनमा अविजित रहे। दीपेन्द्रसिंह ऐरी २८ बलमा २ चौकासहित २५ रनमा आउट भए । एक समय ४.५ ओभरमा २९–४ को दयनीय अवस्थामा पुगेको टाइगर्सलाई दीपेन्द्रले रदरफोर्डसँग ४३ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । आयन खानले १४ बलमा १ चौका र १ छक्कासहित १८, आन्द्रे रसेल १७ र मोहम्मद वासिम १३ रनमा आउट भए ।

नाइट्सका जुनैद सिद्दिकले ४ ओभरमा २२ रन खर्चेर ४ विकेट लिए । फबिएन एलेन र कब्रिन बोसले समान दुई विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नाइट्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ३७रन बनाएको थियो । उसका लागि ओपनर मोहम्मद रिजवान ३३ बलमा २ चौका र १ छक्कासहित ३९ रनमा आउट भए ।

कब्रिन बोसले २८ बलमा १ चौका र ३ छक्कासहित ३६ रन बनाए । हर्ष ठाकेर २ बलमा ३ चौका र १ छक्कासहित २६ रनमा नट आउट भए । एक समय १२.३ ओभरमा ९०-१ को अवस्थामा रहेको अवस्थाबाट नाइट्सले लगातार चार विकेट गुमाएपछि ठूलो योगफलको सम्भावना गुमाएको थियो ।

टाइगर्सका अब्बास अफिदीले ४ ओभरमा ह्याट्रिकसहित २९ रन खर्चेर ५ विकेट लिए । टाइगर्सले उपाधिको लागि आज राती ९ : ४५ मा नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछाने सम्मिलित सर्रे जागुअर्ससँग खेल्नेछ।

Logo