टी-ट्वान्टी आई खेलमा आयरल्यान्डमाथि भारतको रोमान्चक जित

टी-ट्वान्टी आई खेलमा आयरल्यान्डमाथि भारतको रोमान्चक जित


भारतले पहिलो टी-ट्वान्टी आई खेलमा घरेलु टोली आयरल्यान्डलाई हराएको छ। डब्बिलमा शुक्रबार राती भएको खेलमा भारत डकवर्थ लेविस पद्धतिको आधारमा दुई रनले विजयी भएको हो। योसँगै तीन खेलको टी-ट्वान्टी सिरिजमा भारतले १/० को अग्रता लिएको छ।

आयरल्यान्डले दिएको १ सय ४० रनको लक्ष्य पछ्याएको भारतले ६ दशमलब ५ ओभरमा २ विकेट गुमाउँदै ४७ रन बनाएको अवस्थामा खेल वर्षाको कारण रोकिएको थियो। त्यसपछि निरन्तरको वर्षाको कारण खेल हुन नसकेपछि भारत डकवर्थ लेविस पद्धतिको आधारमा विजयी भयो। ओपनर ऋतुराज गायकवाड १६ बलमा १ चौका र १ छक्कासहित १९ रन र सञ्जु स्यामसन १ रनमा अविजित रहे।

अर्का ओपनर यशस्वी जैसवाललाई २३ बलमा ३ चौका र १ छक्का सहित २४ रनमा क्याच भए। आयरल्यान्डका क्रेग योंगले २ विकेट लिए। त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको आयरल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ३९ रन बनाएको थियो। 

आयरल्यान्डका लागि ब्यारी म्याकार्थीले ३३ बलमा ४ चौका र ४ छक्कासहित अविजित ५१ को अर्धशतकीय ईनिङ खेले पनि टोलीलाई जित दिलाउन सकेनन्। कर्टिस क्याम्फर ३३ बलमा ३ चौका र १ छक्कासहित ३९ रनमा आउट भए। 

करिब एक वर्षपछि भारतीय टोलीमा फर्किएका बुमराहले पहिलो ओभरमै दुई विकेट लिएका थिए।भारतका जस्प्रित बुमराह, रवि विश्रोई र प्रसिद्ध कृष्णाले समान २/२ विकेट लिए। दुई टोलीबीचको दोस्रो खेल आइतबार हुनेछ ।

Logo