एसिसी एसिया कपः उपाधिको लागि भारत र श्रीलंका भिड्दै

एसिसी एसिया कपः उपाधिको लागि भारत र श्रीलंका भिड्दै

केन्द्रबिन्दु
0
Shares

एसिया कप २०२३ को फाइनलमा आज भारत र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समय अनुसार दिउँसो ३ः१५ मा कोलोम्बोमा सुरु हुनेछ। 

भारत उत्कृष्ट ब्याटिङका साथ उपाधि जित्न चाहन्छ। घरेलु टोली श्रीलंका स्पिन आक्रामणसँगै घरेलु मैदान तथा दर्शकको फाइदा उठाउँदै उपाधि जित्ने सोचमा हुनेछ।

भारत आठौं र श्रीलंका सातौं एसिया कप जित्ने लक्ष्यका साथ मैदान उत्रनेछन्। श्रीलंका र भारतको सुपर फोरमा ४-४ अंक थियो। नेटरनरेटको कारण भारत शीर्ष र श्रीलंका दोस्रो स्थानमा रहँदै फाइनल खेलेका हुन्।

श्रीलंका सुपर फोरमा भारतसँग ४१ रनले पराजित भएपनि पाकिस्तानलाई दुई विकेट र बंगलादेशलाई २१ रनले हराउँदै फाइनलमा स्थान बनाएको हो। उता भारतले श्रीलंकालाई ४१ रन र पाकिस्तानलाई २ सय २८ रनले हराएको थियो। बंगलादेशसँग भने ६ रनले पराजित भएको थियो।

भारत आठौं र श्रीलंका सातौं पटक एसिया कप जित्ने सोचमा हुनेछन्। श्रीलंकाले २०२२ मा टि२० र भारतले २०१८ मा एकदिवसीय एसिया कप जितेका थिए। भारतको रोहित शर्मा र श्रीलंकाको दासुन शानकाले कप्तानी गर्नेछन्।

स्पिनर दुनिथ वेलालागेले पाँच र चरिथ असलंकाले चार विकेट लिएपछि एक समय ८०–० को अवस्थाबाट भारत २ सय १३ रनमा अल आउट भएको थियो। स्पिनर दुनिथले सानदार प्रदर्शन गर्दै आएका छन्। भारतलाई उनले पुन निराश बनाउन सक्छन् । दुनिथ ब्याटिङ तल्लोक्रममा राम्रो गर्ने गर्दछन्।

कुशल मेन्डिस, चरिथ असलंका र कुशल परेरा प्रमुख ब्याटर हुन्। कुशलले अफगानिस्तानविरुद्ध ९२, बंगलादेशविरुद्ध ५० र पाकिस्तानविरुद्ध ९१ रन बनाएका थिए। तेस्रो नम्बरका ब्याटर कुशल आक्रामक ब्याटिङको खुबी राख्ने गर्दछन्।

उनको विकेट धेरै महत्वपूर्ण हुनेछ। चरिथ असलंकाले पनि राम्रो प्रदर्शन गर्दै आएका छन्। पाकिस्तानलाई हराउन उनले महत्वपूर्ण ४९ रन जोडेका थिए।

अनुभवी ओपनर कुशल परेराले पाकिस्तानविरुद्ध मात्रै खेलेका थिए। आक्रामक सुरुवात दिलाएपनि उनी रन आउट हुन पुगेका थिए। सदिरा समाविक्रमा र पाथुम निसंकाबाट ठूलो इनिङ चाहन्छ।

कप्तान दासुन शानकाको कप्तानी उत्कृष्ट छ। तर प्रदर्शन ब्याटिङमा छैन। फिनिसर शानकाबाट श्रीलंका फाइनलमा उत्कृष्ट प्रदर्शन चाहन्छ। शानकालाई उत्कृष्ट प्रदर्शनको लागि ब्यक्तिगत दबाब समेत हुनेछ।

श्रीलंकाका स्पिनर महेश थिक्सेना चोटका कारण टोलीमा हुनेछैनन्। थिक्सेना नहुँदा श्रीलंकालाई केहि घाटा लाग्नेछ। उनको स्थानमा श्रीलंकाले स्पिन अलराउन्डर सेहान अर्चाचिगेलाई मौका दिने सम्भावना देखिन्छ। तीव्र गतिका बलरमा मथिसा पाथिराना र कसुन रजिथा हुनेछन्।

उता भारतका ओपनर शुभमन गिल राम्रो लयमा छन् । युवा ब्याटर शुभमन गिलले बंगलादेशविरुद्ध १ सय २१ रनको शतकीय इनिङ खेलेपनि टोलीलाई जिताउन सकेका थिएनन् । त्यसअघि पाकिस्तानसँग ५८ र नेपालसँग ६७ रन बनाएका थिए । ओपनर गिल र रोहित शर्मा दुबै राम्रो लयमा छन् । यी दुई ब्याटरको सुरुवातले पनि धेरै फरक पार्नेछ ।

भारतको ब्याटिङक्रम उत्कृष्ट छ । तेस्रो नम्बरमा विराट कोहली, चौथो नम्बरमा लोकेश राहुल, पाँचौं नम्बरमा ईशान किशन र छैटौं नम्बरमा हार्दिक पान्ड्या छन् । कोहली र राहुलले पाकिस्तानविरुद्ध शतक हानेका थिए । यी दुई खेलाडी क्रिजमा टिकेको खण्डमा भारतले सहजै विशाल योगफल बनाउन सक्छ ।

तर स्तरिय स्पिन आक्रामण सामु भारतीय ब्याटिङ चल्न सकेको छैन । बंगलादेशसँग हारको मुख्य कारण स्पिन आक्रामण खेल्न नसक्नु थियो । श्रीलंकाले त्यसको भरपूर्ण फाइदा उठाएपनि ब्याटिङ नचल्दा हार्न पुगेको थियो । भारतको स्पिन आक्रामण पनि उत्कृष्ट छ । रविन्द्र जडेजा र कुलदीप यादवको बलिङ खेल्न श्रीलंकाका ब्याटरलाई सहज हुनेछैन ।

जस्प्रित बुमराह भारतका प्रमुख हतियार हुन् । बुमराहबाट बच्न कसे श्रीलंकाले राम्रो योगफल बनाउन सक्छ । पछिल्ला पाँच भेटमा भारत चार खेलमा विजयी भएको छ । श्रीलंकाले ओडिआईमा भारतलाई २०२१ मा कोलोम्बोमानै हराएको थियो ।

श्रीलंकाले सन् १९८६, १९९७, २००४, २००८, २०१४ र २०२२ मा उपाधि जितेको थियो । भारतले सन् १९८४, १९८८, १९९०/९१, १९९५, २०१०, २०१६ र २०१८ मा उपाधि जितेको थियो ।

Logo