म्यानचेस्टर सिटी र पिएसजीको जित

म्यानचेस्टर सिटी र पिएसजीको जित


युरोपेली च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न खेलमा डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटी र पिएसजीले आआफ्नो खेलमा जित हासिल गरेका छन्।

समूह जि अन्तर्गतको खेलमा सिटीले सर्बियन टिम रेडस्टार बेलग्रेडमाथि ३-१ को पुनरागमन जित हासिल गरेको हो भने पिएसजीले बोरुसिया डर्टमन्डलाई २-० ले हराएको हो।

पहिलो हाफभरी विपक्षीमाथि दवाव कायम गरेको सिटीले हाफको अन्तिमतिर गोल खान पुगेको थियो। बेलग्रेडलाई ओसमान बुकारीले गोल गर्दै अग्रता दिलाएका थियो। सुरुमा गोलले अफसाइड दिइएपनि भीएआरले रेफ्रीको निर्णय उल्टाउँदै गोल दिएको थियो।

तर सिटीले दोस्रो हाफको सुरुवात मै बराबरी गर्यो। अर्जेन्टिनी खेलाडी जुलियन अल्भारेजले एर्लिङ हालान्डको पासमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। अल्भारेजले नै ६०औं मिनेटमा गोल गर्दै सिटीलाई अग्रता दिलाए।

उनले लिएको फ्रिकिक बेलग्रेड गोलरक्षकले रोक्न नसक्दा बलले जाली चुमेको थियो । ७३औं मिनेटमा रोड्रीले सिटीका लागि अर्को गोल थपेर अग्रता बढाएका थिए। सोही समूह अन्तर्गत जर्मन क्लब आरबी लाइपजिगले योङ्ग ब्वाइजलाई ३-१ ले हराएर सुखद सुरुवात गरेको थियो। यस्तै समूह एफ अन्तर्गतको खेलमा पिएसजीको लागि किलियन एम्बाप्पे र अचराफ हाकिमीले गोल गरेका थिए ।

एम्बाप्पेले खेलको ४९औँ मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै अग्रता दिलाएका थिए भने हाकिमीले ५८औँ मिनेटमा भिटिन्हाको पासमा गोल गर्दै अग्रता दोब्बर बनाएका थिए। यस्तै सोही समूहमा रहेका एसी मिलान र न्युक्यासल युनाइटेडले गएराति सम्पन्न खेलमा गोलरहित बराबरी खेल्दै अंक बाँडेका थिए।

Logo