मंगोलियामाथि टि२० इतिहासमा नेपालको कीर्तिमानी जित

मंगोलियामाथि टि२० इतिहासमा नेपालको कीर्तिमानी जित

केन्द्रबिन्दु
0
Shares

नेपालले १९ औँ एसियाली खेलकुदमा मंगोलियामाथि २ सय ७३ रनको विश्व कीर्तिमानी जित हात पारेको छ।  जितको लागि ३ सय १५ रनको विशाल विजयी लक्ष्य पछ्याएको मंगोलिया १३.१ ओभरमा ४१ रनमा अल आउट भएकाे हाे।

चीनको हांग्जाउमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै ३ सय १४ रन बनायो। टि२० आई इतिहासमा पहिलो पटक ३ सय रन बनेको हो। यसअघि टि२० आईमा उच्च योगफल अफगानिस्तान र चेक रिपब्लिकनको नाममा समान २ सय ७८ रन रहेकाे थियो।

यो टि२० आई इतिहासकै सबैभन्दा ठूलो जित हो। यसअघि २०१९ मा चेक रिपब्लिकनले टर्कीविरुद्ध २ सय ५७ रनको जित हात पारेको थियो। नेपालका करण केसी, अभिनाश बोहरा र सन्दीप लामिछानेले समान दुई विकेट लिए। सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले एक एक विकेट लिए।

नेपालका कुशल मल्लले ५० बलमा ८ चौका र १२ छक्कासहित १ सय ३७ रनको अविजित इनिङ खेले। कुशलले ३४ बलमै शतक प्रहार गरेका थिए । योसँगै कुशल टि२० आई इतिहासमा सर्वाधिक छिटो शतक प्रहार गर्ने ब्याटर बनेका छन्। यसअघि टि२० आईमा सर्वाधिक छिटो शतक ३५ बलमा थियो ।

दीपेन्द्रसिंह ऐरी १० बलमा ८ छक्कासहित ५२ रनमा क्रिजमा नटआउट रहे। दीपेन्द्रले ९ बलमै अर्धशतक प्रहार गरेका थिए। उनी कुनैपनि खेलमा सर्वाधिक छिटो अर्धशतक प्रहार गर्ने खेलाडी बनेका छन्। यसअघि भारतीय ब्याटर युवराज सिंहले टि२० आईमा २००७ मा इंग्ल्यान्डविरुद्ध १२ बलमै अर्धशतक हानेका थिए ।

कप्तान राहित पौडेल २७ बलमा २ चौका र ६ छक्कासहित ६१ रनमा आउट भए । तेस्रो विकेटका लागि कुशल मल्ल र रोहित पौडेलले १ सय ९३ रनको साझेदारी गरेका थिए । यो कुनैपनि खेलमा नेपाली ब्याटरले गरेको उच्च साझेदारी हो ।

नेपालका रोहित पौडेलले पनि १९ बलमै अर्धशतक प्रहार गरेका थिए । कुशल र रोहित दुबै नेपालबाट सर्वाधिक छिटो अर्धशतक प्रहार गर्ने ब्याटर बनेका छन् । २०१९ मा ज्ञानेन्द्र मल्लको मलेसियाविरुद्ध २० बलको कीर्तिमान तोडेका हुन्।

नेपालका ओपनर कुशल भुर्तेल २३ बलमा २ चौकासहित १९ र आसिफ शेख १७ बलमा २ चौकासहित १६ रनमा क्याच आउट हुन पुगे। नेपालले आफ्नो समूह चरणको अन्तिम खेल आइतबार माल्दिभ्ससँग खेल्नेछ । 

Skip This
Skip This
Logo