सानदार ब्याटिङका बाबजुद पनि नेपाल भारतसँग २३ रनले पराजित

सानदार ब्याटिङका बाबजुद पनि नेपाल भारतसँग २३ रनले पराजित


चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताको पुरुष क्रिकेटको क्वार्टरफाइनलमा नेपाल भारतसँग २३ रनले पराजित भएको छ। जीतका लागि दुई सय तीन रनको लक्ष्य पाएको नेपालले मात्र ९ विकेटको क्षतिमा १ सय ७९ रन  बनाउन  सकेकाे हाे।   

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ३२ रन बनाए भने सन्दीप जोरा र कुशल मल्लले २९-२९ रनको योगदान दिए। ओपनर कुशल भुर्तेलले २८ रन बनाए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा चार विकेट गुमाएर दुई सय दुई रन बनाएको थियो। भारतका लागि ओपनर ब्याट्सम्यान यशस्वी जैसवालले एक सय रन बनाए।

भारतका लागि शिवम दुबेले अविजित २५ रन र रिन्कु सिंहले अविजित ३७ रन बनाए। नेपाली बलर दीपेन्द्र सिंह ऐरीले दुई तथा सन्दीप लामिछाने र सोमपाल कामीले एक-एक विकेट लिए। जैसवाल र रुतुराज गाइकवाडले ओपनिङ विकेटका लागि एक सय तीन रनको साझेदारी गरेका थिए। गाइकवाड २५ रन बनाउँदै आउट भए।

भारतको पहिलो विकेट नेपाली बलर दीपेन्द्रसिंह ऐरीले लिएका थिए। उनले भारतका ओपनर ब्याट्सम्यान रुतुराज गाइकवाडको विकेट लिएका हुन्। उनले रुतुराजलाई २५ रनको व्यक्तिगत स्कोरमा कप्तान रोहित पौडेलद्वारा क्याच गराएका थिए। रुतुराज भारतीय टोलीका कप्तान पनि हुन्। पहिलो विकेट गुमाउँदा भारतले ९.१ ओभरमा एक सय तीन रन बनाएको थियो। 

यसैगरी भारतीय टोलीको दोस्रो विकेट सोमपाल कामीले लिएका हुन्। उनले भारतीय ब्याट्सम्यान तिलक बर्मालाई दुई रनको व्यक्तिगत स्कोरमा पेभेलियन फर्काए। सोमपालले तिलकलाई बोल्ड गरेका हुन्। दोस्रो विकेट गुमाउँदा भारतले ११.४ ओभरमा एक सय ११ रन बनाएको थियो। 

यसैगरी भारतको तेस्रो विकेटका रुपमा जितेश शर्मा आउट भएका थिए । उनको विकेट नेपाली बलर सन्दिप लामिछानेले लिएका हुन्। सन्दीपले उनलाई पाँच रनको व्यक्तिगत स्कोरमा आफ्नो बलिङमा आफैले क्याच गरे। भारतले तेस्रो विकेट गुमाउँदा १२.५ ओभरमा एक सय १९ रन बनाएको थियो।

यसैगरी दीपेन्द्रसिंह ऐरीले भारतको चौथो विकेट लिएका थिए। उनले भारतका ओपनर ब्याट्सम्यान यशस्वी जैसवाललाई पेभेलियन फर्काएका थिए। जैसवाल शतक बनाएलगत्तै पेभेलियन फर्किएका थिए।

ऐरीले उनलाई अविनाष बोहराद्वारा क्याच गराएका थिए। चौथो विकेट गुमाउँदा भारतले १६.२ ओभरमा एक सय ५० रन बनाएको थियो भारतले अव बुधबार हुने बंगलादेश र मलेसियाबीचको विजेतासँग शुक्रबार सेमिफाइनल खेल्नेछ ।

Logo