संयुक्त अरब इमिरेट्स (युएई)ले त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिजको उपाधि जितेको छ । शुक्रबार भएको फाइनल खेलमा घरेलु टोली नेपाललाई ४ विकेटले पराजित गर्दै उपाधि जितेको हो । लिगमा शतप्रतिशत जित हात पारेको नेपाल फाइनलमा भने स्तब्ध बनेको हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले जितका लागि लिएको १६३ रनको लक्ष्य पछ्याएको युएईले १९.५ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको हो ।
युएईका लागि कप्तान मुहम्मद वासिमले सर्वाधिक ४५ रन बनाए । त्यसअघि वासिमले दुई महत्वपूर्ण जीवनदान पाएका थिए । करण केसीको तेस्रो ओभरको चौथो बलमा प्वाइन्टमा कुशल मल्लले मोहम्मद वासिमको ब्यक्तिगत २३ रनमा क्याच छाड्न पुगेका थिए । साथै ललित राजंवशीको चौथो ओभरको पाँचौ बलमा पुनः ३४ रनमा वासिमले जीवनदान पाएका थिए ।
पहिलो ओभरमै नेपालका तीव्र गतिका बलर सोमपाल कामीलाई उनले १७ रन प्रहार गर्दै ड्रीम सुरुवात गरेका थिए । साथै वृत्य अरविन्दले २६ रन तथा अर्यान्स शर्माले २५ रन जोडे । बसिल हमिद २२ रनमा नटआउट रहे ।
बलिङमा नेपालका तीव्र गतिका बलर अविनाश बोहरा र गुल्सान झाले समान २/२ विकेट लिए भने कुशल मल्लको हातमा एक विकेट रह्यो ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १६२ रन बनाएको थियाे । नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ५० रनको अर्धशतकीय इनिङ खेले । उनले २९ बलमा ६ चौका र ३ छक्का प्रहार गरे ।
४३ रन बनाउँदा पहिलो विकेटको रुपमा नेपालले ओपनर आशिफ शेखलाई ७ रनमा गुमाएको थियो । त्यसपछि क्रिजमा आएको विष्फोटक ब्याटर कुशल मल्ल एक रनमै आउट हुँदा नेपालको प्रदर्शन खस्कियो । त्यसपछि भुर्तेल पनि अर्धशतक पूरा गरेर आउट भए । क्रिजमा रहेमा कप्तान रोहितकुमार पौडेल र दिपेन्द्रसिंह ऐरीबीच साझेदारी बढ्दै गर्दा कप्तान रोहित नै आउट भए । खराब शट खेल्ने प्रयासमा उनी १८ रनमा क्याच आउट भए ।
१२ ओभरमै १०९ रन जोडेको नेपालले पाँचौं विकेटका रुपमा दिपेन्द्रलाई पनि गुमायो । यसअघि सानदार प्रदर्शन गरेका उनी पनि २० रनमा आउट भएपछि नेपालको ब्याटिङ लय खस्कियो । उनीहरु एकै ओभरमा आउट भएका हुन् । सन्दीप जोरा १० रन तथा गुल्सान झा ५ रनमै आउट भएपछि क्रिजमा आएका सोमपाल कामीले १३ रन जोडे । साथै करण केसी २३ रनमा नटआउट रहे ।
बलिङमा युएईका आयान अज्फल खानले सर्वाधिक ३ विकेट लिए । उनले तीन दिनअघि मलेसियामा नेपालसँग यू१९ प्रिमियर कपको फाइनलमा युएईको कप्तानी गरेका थिए । उक्त फाइनल नेपालले जितेको थियो । त्यस्तै, अलि नासर जाहुर खानले समान २/२ विकेट लिए ।
यसअघि भएको लिगको खेलमा नेपाललले पहिलो खेलमा युएईलाई ७ विकेट पराजित गरेको थियो भने दोस्रो खेलमा ५ विकेटले हराएको थियो । तर, मध्यम लक्ष्य भएकाले नेपालको सुरुवातमा बलिङ र फिल्डिङ कसिलो हुन नसक्दा हार व्यहाेर्न पुग्याे ।





























प्रतिक्रिया