इटालीको सानदार जित

इटालीको सानदार जित


नर्थ म्यासेडोनियामाथि सानदार जित निकाल्दै डिफेन्डिङ च्याम्पियन इटालीले युरो २०२४ मा छनोट हुने सम्भावना बलियो बनाएको छ।

घरेलु मैदानमा शुक्रबार राति भएको खेलमा नर्थ म्यासेडोनियालाई ५-२ को भारी गोल अन्तरले पराजित गर्दै इटालीले युरोकपमा छनोट हुने सम्भावना बलियो बनाएको हो।

यस जितले समूह ‘सी’ मा दोस्रो स्थानमा उक्लिएको इटालीको ७ खेलबाट १३ अंक पुगेको छ। समान खेलबाटै युक्रेनको पनि १३ अंक नै छ। अब यि दुई टोलीबीच सोमबार हुने समूह चरणको अन्तिम खेलबाट नै युरो कपमा पुग्ने टोलीको टुंगो लाग्नेछ।

स्टेडियो ओलम्पिको रोमामा घरेलु टोली इटालीको जितमा फेडरिको चिइसाले दुई तथा, माटियो डरमिएन, जियाकोमो रस्पाडोरी र स्टेफन अल सरावेले समान एक गोल गरे। नर्थ म्यासेडोनियाका जानी एटानासोभले दुवै गोल गरेपनि जितकाे लागि पर्याप्त बनेन।

खेलको १७औं मिनेटमा नै माटियो डरमिएनको गोलबाट इटालीले खेलमा अग्रता लियो। ४०औं मिनेटमा जर्गिनो पेनाल्टीमा चुकेपनि ४१औं मिनेटमा फेडरिको चिइसाले गोल गर्दै इटालीको अग्रता दोब्बर पारे। उनले निकोलो बरेल्लाको पासमा गोल गर्न सफल भएका थिए।

पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा चिइसाले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरेपछि इटाली पहिलो हाफमा ३-० ले अघि रह्यो।

५२औं मिनेटमा जानी एटानासोभले गोल गर्दै खेललाई ३-१ को स्थितिमा ल्याए। ७४औँ मिनेटमा जानी एटानासोभले व्यक्तगत दोस्रो गोल गरेपछि खेल ३-२ को रोमाञ्चक स्थितिमा पुग्यो। तर, त्यसपछि इटालीले दुई गोल थप्दै जित पक्का गर्यो।

८१औं मिनेटमा जियाकोमो रस्पाडोरी र इन्जयुरी समयको थप गरिएको तेस्रो मिनेटमा स्टेफन अल सरावेले गोल गर्दै इटालीलाई सानदार जित दिलाए।

यो समूहबाट अपराजित रहेको इंग्ल्यान्ड युरो कपमा छनोट भइसकेको छ। एक खेल खेल्न बाँकी रहेको इंग्ल्यान्डले शुक्रबार राति माल्टालाई २-० ले पराजित गरेको छ। इंग्ल्यान्डको ७ खेलबाट १९ अंक पुगेको छ। माल्टा जित र अंकविहीन बनेकोछ। इटालीसँग पराजित नर्थ म्यासेडोनिया ७ अंक जोडेर चौथो स्थानमा छ।

Logo