संयुक्त अरब इमिरेट्स (युएई)मा आजदेखि सुरु भएको एसिसी यु-१९ एसिया कप क्रिकेट प्रतियोगितामा पाकिस्तानविरुद्ध नेपालले अलराउण्डर गुल्सन झालाई पनि सस्तैमा गुमाएको छ ।
दुबईको आइसिसी एकेडेमी ओझल–२ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले पाँचौं विकेटको रुपमा १६औं ओभरको अन्तिम बलमा गुल्सन झालाई एक रनमै गुमाएको हो । उनी राष्ट्रिय टोलीबाट खेलिसकेका खेलाडी हुन्, उनी भरपर्दा युवा अलराउण्डर हुन् । तर, उनको अनुभव आज चल्न सकेन । उनी अल अस्फन्दको बलमा बोल्ड आउट भए ।
त्यसअघि ओपनर अर्जुन कुमालले २१ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो रन समेत छुन सकेका छैनन् । नेपालले तेस्रो विकेटको रुपमा कप्तान देव खनाललाई पनि सस्तैमा गुमायो । उनी ११औं ओभरको चौथो बलमा शून्य रनमै आउट भए । १३ बल खेले तर, खाता खोल्न सकेनन् । यसअघि दोस्रो ओभरको दोस्रो बलमा पहिलो विकेटको रुपमा नेपालले ओपनर तिलक भण्डारीलाई ७ रनमै गुमाएको थियो । त्यसपछि क्रिजमा आएका आकाश त्रिपाठी पनि ६ रनमै आउट भए । आकाश २२ बलमा एक चौकाको मद्दतले ६ रन बनाउँदै आउट भए । उनलाई पाकिस्तानी बलर उबैद शाहले एलबीडब्लूको धरापमा पारेका थिए ।





























प्रतिक्रिया