यू-१९ विश्वकपमा ‘जाइन्ट किलर’काे छवि कायम राख्न सक्ला त नेपालले ? यस्ता छन् प्रतिद्धन्द्धी

यू-१९ विश्वकपमा ‘जाइन्ट किलर’काे छवि कायम राख्न सक्ला त नेपालले ? यस्ता छन् प्रतिद्धन्द्धी

केन्द्रबिन्दु
0
Shares

आइसिसी यू–१९ विश्वकप आज शुक्रबारदेखि दक्षिण अफ्रिकामा सुरू हुँदैछ । १६ टिमले प्रतिस्पर्धा गर्ने प्रतियोगितामा नेपाल समूह 'डी' मा छ । नेपालले पहिलो खेलमा आगामी आइतबार उपाधि दावेदार टोली न्युजिल्याण्डविरुद्ध प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको समूह चरणमा नेपालले न्युजिल्यान्ड, पाकिस्तान र अफगानिस्तानको सामना गर्नुपर्नेछ, तीनवटै टेस्ट राष्ट्र हुन् । न्युजिल्याण्डपछि नेपालले माघ १० गते पाकिस्तान र माघ १२ गते अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ।

यसपटक संयोग नै मान्नुपर्छ, नेपालले समूह चरणमा खेल्न लागेका तीन वटै प्रतिद्धन्द्धी टोलीलाई विगतमा स्तब्ध पारिसकेकाे छ ।

नेपालले ८ वर्षपछि यू–१९ विश्वकप खेल्न लागेको हो । कुनै समय लगातार पाँच पटक सहभागिता जनाएको नेपाली टोली पछिल्ला तीन संस्करणमा छनोट हुन सकेको थिएन । यसपटक एसिया छनोटमा यूएइमाथि रोमाञ्चक जित निकाल्दै नेपाली टोलीले उमेर समूहको सबैभन्दा ठूलो क्रिकेट प्रतियोगितामा स्थान बनाएको थियो । नेपाली टोलीले अन्तिम पटक सन् २०१६ मा युवा विश्वकप खेल्दा ऐतिहासिक सफलता प्राप्त गरेको थियो । त्यतिबेला पहिलो चरणमा टेस्ट राष्ट्र न्युजिल्यान्डलाई नै हराएर नेपाल पहिलो पटक क्वाटरफाइनल प्रवेश गरेको थियो । 

यसपटक संयोग नै मान्नुपर्छ, नेपालले समूह चरणमा खेल्न लागेका तीन वटै प्रतिद्धन्द्धी टोलीलाई विगतमा स्तब्ध पारिसकेकाे छ । नेपालले पाकिस्तानलाई सन् २००२ को विश्वकपमा, न्युजिल्यान्डलाई सन् २००६ र २०१६ र अफगानिस्तानलाई सन् २०११ को विश्वकपमै पराजित गरेको थियो । 

अहिले नेपाली टोली विगत २ सातादेखि दक्षिण अफ्रिकामै अभ्यास गरिरहेको छ । अभ्यास खेलहरुमा नेपाल अपराजित नै रह्यो । नेपालले स्कटल्यान्डलाई दुई खेलमा हरायो भने नामिबियामाथि पनि रोचक जित हात पा-यो । वेष्ट इन्डिजविरुद्ध भएको खेल भने वर्षाका कारण रद्ध भयो । 

अभ्यास खेलहरुमा नेपाल अपराजित नै रह्यो ।

यू–१९ टोलीमा अहिले राष्ट्रिय टिमको अनुभव भएका देव खनाल र गुल्सन झा हुनु नेपाली टिमका लागि बलियो पक्ष हो । गुल्सनले नेपालको सिनियर टिमका लागि २४ एकदिवसीय र १४ टी–२० खेल खेलिसकेका छन् । जसमा उनले ३३ अन्तर्राष्ट्रिय विकेट लिएका छन् । टी–२० मा १४६.८७ को स्ट्राइक रेट भएका गुल्सनले टिमलाई चाहिएको बेला ब्याट र बल दुबै चलाउन सक्छन् । 

साथै कप्तान देव खनालसँग पनि सिनियर राष्ट्रिय टोलीबाट खेलेको अनुभव छ । उनले सिनियर अन्तर्राष्ट्रिय क्रिकेटमा १० खेल खेल्दै २ अर्धशतकसहित २५३ रन जोडेका छन् । देवकै कप्तानीमा नेपालले एसीसी यू-१९ प्रिमियर कप जितेको थियो । उनी माथिल्लो क्रममा टिकेर ठूला इनिङ खेल्न सक्ने क्षमता राख्छन् । साथै ओपनिङ ब्याट्सम्यान अर्जुनकुमार कुमाल, स्पीनर दीपेश कँडेल र दुर्गेश गुप्ता पनि उच्च लयमा छन् । आईसीसीले विश्वकपको आसन्न संस्करणमा प्लेयर्स टु वाच भन्दै यी नै नेपाली खेलाडीको नाम उल्लेखसमेत गरेको छ । 

तर, कस्ता छन् त नेपालका प्रतिद्धन्द्धी राष्ट्रहरु ? हेरौं, उनीहरुको विगत र अहिलेको प्रदर्शन-

न्युजिल्यान्ड 

विश्वकपमा नेपालको पहिलो प्रतिद्धन्द्धी न्युजिल्यान्ड इतिहासमा उपाधिको खडेरी तोड्ने लक्ष्यका साथ दक्षिण अफ्रिमा उत्रिसकेको  छ । सन् १९९८ को विश्वकप फाइनल र सन् २०२० को सेमिफाइनल खेलेको न्युजिल्याण्डले अघिल्लो संस्करणको विश्वकप कोभिड–१९ का कारण खेलेन । न्युजिल्यान्डले विश्वकपमा ब्याट र बल दुबैमा उत्कृष्ट प्रदर्शन गर्दै आइरहेको छ, जुन नेपालविरुद्ध पनि निरन्तर हुने पक्का छ । न्युजिल्यान्डका पूर्व खेलाडी क्रेग कमिङका छोरा ज्याक कमिङले न्युजिल्यान्डको घरेलु प्रतियोगितामा निकै उत्कृष्ट खेल देखाइसकेका छन् । गत नोभेम्बरमा १८ वर्षीया कमिङ न्युजिल्यान्डको ‘ए’ क्रिकेट प्रतियोगितामा सर्वाधिक विकेट लिने खेलाडी बनेका थिए । यस्तै उनले यू–१९ विश्वकपको छनोट खेलमा १४ विकेट लिँदै १५२ रन बनाएका थिए । न्युजिल्यान्डले विश्वकपमा उनको ब्याट र बल दुबैमा उत्कृष्ट प्रदर्शन गर्ने आशा लिएको छ । 

न्युजिल्यान्ड टिम 
ओस्कर ज्याक्सन (कप्तान), मासन क्लार्क, साम क्लोड, ज्याक कमिङ, रहमान हेक्मत, टम जोन्स, जेम्स नेल्सन, स्नेहिथ रेड्डी, म्याट रो, इवाल्ड श्रुडर, लाचलान स्ट्याकपोल, ओलिभर टेवाटिया, एलेक्स थम्पसन, रायन सोर्गास, ल्यूक वाटसन ।

पाकिस्तान  

यू–१९ विश्वकपको सधैंको मुख्य दाबेदार टोली हो पाकिस्तान । पाकिस्तान सन् २००४ र २००६ मा लगातार यू–१९ विश्वकप जित्ने एक मात्र टोली हो । यद्यपी पाकिस्तान सन् २०१४ देखि यू–१९ विश्वकपको फाइनलमा पुग्न सकेको छैन । सोही कारण यस वर्ष पाकिस्तानले उपाधि जित्ने लक्ष्य बनाएको छ । एसिया कपमा युएईसँग पराजित हुँदा पाकिस्तानको कमजोर पक्ष देखिएको थियो । यद्यपी पाकिस्तानले एसिया कपमा अफगानिस्तान, भारत र नेपाललाई हराउँदै सेमिफाइनल पुग्ने क्रममा निकै उत्कृष्ट प्रदर्शन गरेको थियो ।

पाकिस्तानका तीव्र गतिका बलर मोहम्मद जिशानले एसिया कपमा उत्कृष्ट प्रदर्शन गरेका थिए । ६ फिट ८ इन्च अग्ला जिशानले यू–१९ एसिया कपमा नेपालविरुद्ध सनसनीपूर्ण बलिङ गर्ने क्रममा ६ विकेट लिँदा १९ रन मात्र दिएका थिए । उनले भारतविरुद्ध पनि ४ विकेट लिएका थिए । अग्लो कदका उनले दक्षिण अफ्रिकाको ट्र्याकमा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास गरिएको छ ।  

पाकिस्तान टिम
साद बेग (कप्तान), अली असफन्द, अली रजा, अहमद हसन, अमिर हसन, अरफत मिन्हास, अजान अवेस, हारून अरशद, खुबैब खलील, मोहम्मद जीशान, नाभिद अहमद खान, शाहजैब खान, शमिल हुसेन, मुहम्मद रियाजुल्लाह, उबेद शाह ।

अफगानिस्तान 

दुईपटक सेमिफाइनलमा पुगिसकेको अफगानिस्तान यो संस्करणको विश्वकपमा भने फाइनल खेल्ने लक्ष्यका साथ दक्षिण अफ्रिकाको घाँसे मैदानमा उत्रदै छ । सन् २०१० मा पहिलोपटक विश्वकप खेलेको अफगानिस्तानले त्यसपछि भने प्रत्येक विश्वकपमा निकै प्रभावशाली प्रदर्शन गर्दै आइरहेको छ । मार्च २०२३ मा बंगलादेश र श्रीलंकासँग त्रिकोणात्मक सिरिज खेलेको अफगानिस्तालले हालै यू–१९ एसिया कप खेलेको थियो । आयोजक दक्षिण अफ्रिका र डिफेन्डिङ च्याम्पियन भारतसँगको त्रिकोणात्मक सिरिज पनि खेलेको अफगानिस्तानले विश्वकपका लागि पर्याप्त तयारी गरेको छ । अफगानिस्तानका अल्लाह मोहम्मदलाई प्रतिभाशाली मुजीब उर रहमानसँग तुलना गरिएको छ । उनले दक्षिण अफ्रिकामा हालै सम्पन्न त्रिकोणीय सिरिजमा आफ्नो क्षमता देखाए । उनले १५.७ को औसतमा १० विकेट लिए । उनी पनि नेपालका लागि खतरा बन्न सक्छन् । 

अफगानिस्तान टिम
नसीर खान (कप्तान), नुमान शाह, हसन इसाखिल, वाफिउल्लाह तरखिल, खालिद तानिवाल, अली अहमद नसर, जमशीद जद्रान, सोहेल खान जुर्मती, रहिमुल्लाह जुर्मती, अल्लाह मोहम्मद, अरब गुल मोमान्द, फरिदुन दाउदजाई, बशीर अहमद, खलील अहमद, जाहिद अफगान

यसपालिको यू-१९ टीमले नेपालको ‘जाइन्ट किलर’काे छवि कायम राख्न सक्ला त ? त्यो भने हेर्न बाँकी छ । 

Skip This
Skip This
Logo