एजेन्सी ।
युरोपेली फुटवल महासंघ (यूईएफए) ले कोरोना भाइरसले प्रभावित आफ्ना सदस्य राष्ट्रहरुलाई आर्थिक सहयोग गर्ने भएको छ । यूईएफएले सोमबार आफूसँग आवद्ध ५५ सदस्य राष्ट्रलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।
यूईएफएले ५५ राष्ट्रलाई सहयोग गर्न २ सय ३६.५ मिलियन युरो निकासा भएको उल्लेख गरेको छ । यूईएफएको घोषणासँगै ५५ राष्ट्रले ४.३ मिलियन युरो आर्थिक सहयोग पाउने छन् । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण फुटवलमा आएको चुनौतीलाई सामना गर्न यस सहयोगले मद्दत पुग्ने यूईएफएले जनाएको छ ।
कोरोनाको कारण युरोपियन लिग ठप्प भएको छ । त्यस्तै नेदरल्यान्ड्सको डच लिग पनि कोरोनाकै कारण रद्द भईसकेको छ । यस अघि विश्व फुटवलको सर्वोच्च निकाय फिफाले पनि कोरोना भाइरसबाट प्रभावित आफ्ना सदस्य राष्ट्रका लागि आर्थिक सहयोगको घोषणा गरिसकेको छ । फिफाले केही समय पहिले हरेक सदस्य राष्ट्रलाई ५ लाख अमेरिकी डलर दिने घोषणा गरेको थियो ।































प्रतिक्रिया