‘पल्सर स्पोर्टस अवार्ड’ आज

‘पल्सर स्पोर्टस अवार्ड’ आज

केन्द्रबिन्दु
0
Shares

सत्रौँ संस्करणको ‘पल्सर स्पोर्टस अवार्ड’ वितरण आज हुँदैछ । आयोजक नेपाल खेलकूद पत्रकार मञ्च (एनएसजेएफ)ले आज ललितपुरको सातदोबोटोस्थित कराते हलमा आयोजना गरेकाे हाे ।

कोरोना भाइरसको महामारीका कारण उक्त कार्यक्रम सेमी भर्चुअलका रुपमा आयोजना गरिएकाे हाे । उक्त कार्यक्रममा खेलाडी, प्रशिक्षक तथा खेलकूदको क्षेत्रमा योगदान दिएका १० विधाका व्यक्तित्वलाई पुरस्कार प्रदान गरिने छ ।

मञ्चले यसअघि नै ‘पिपल्स च्वाइस’, वर्ष पुरुष, महिला, युवा र वर्ष प्रशिक्षक विधाको मनोनयन सार्वजनिक गरिसकेको छ । ‘पिपल्स च्वाइस’ विधातर्फ पौडीकी गौरिका सिंह, करातेका मण्डेकाजी श्रेष्ठ, भलिबलकी अरुणा शाही, बास्केटबलकी सदिना श्रेष्ठ र फुटबलकी सावित्रा भण्डारी मनोनयनमा परेका छन् ।

यस्तै वर्ष पुरुषको मनोनयनमा फुटबलका विकेश कुथु, एथलेटिक्सका गोपीचन्द्र पार्की, तेक्वान्दोका कमल श्रेष्ठ, करातेका मण्डेकाजी श्रेष्ठ र गल्फका सुवास तामाङ परेका छन् । यसैगरी वर्ष महिलातर्फ करातेकी अनु अधिकारी, तेक्वान्दोकी आयशा शाक्य, पौडीकी गौरिका सिंह, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ र ट्रायथलनकी सोनी गुरुङ मनोनयनमा परे । वर्ष युवा खेलाडीतर्फ भारोत्तोलनकी सञ्जु चौधरी, तेक्वान्दोकी सिना लिम्बू मादेन, गल्फका सुवास तामाङ, जुडोकी पुनम श्रेष्ठ र तेक्वान्दोका भूपेन श्रेष्ठ मनोनयन परेका छन् ।

यस्तै वर्ष प्रशिक्षकतर्फ उसुका अमरकुमार थिङ, करातेका मदन उप्रेती, तेक्वान्दोका नवीन श्रेष्ठ, बक्सिङका प्रकाश थापामगर र पौडीका शङ्कर कार्की मनोनित छन् । मञ्चका सचिव एवं खेलाडी छनोट समितिका संयोजक गोविन्द रेग्मीका अनुसार वर्ष पुरुष, महिला, प्रशिक्षक र पिपल्स च्वाइस विधाका विजेताले पल्सर मोटरसाइकल पुरस्कार प्राप्त गर्नुहुनेछ । अन्य विधाका विजेतालाई जनही ५० हजारसहित पुरस्कृत गरिनेछ ।

Logo