कोरोनाका कारण एलपिएलको पुरस्कार राशी घटाइयो

कोरोनाका कारण एलपिएलको पुरस्कार राशी घटाइयो

केन्द्रबिन्दु
0
Shares

आउँदो फागुन १५ देखि २४ गतेसम्म धनगढीमा हुने लिटिल फ्लावर प्रिमियर लिग(एलपिएल)को पाँचौँ संस्करणको तयारी तीव्र पारिएको छ । पाँचौँ संस्करणको मुख्य प्रायोजक टीकापुरको चण्डिका ग्रुप हुने भएको छ । धनगढीमा हुने लिटल फ्लावर प्रिमियर लिगको पाँचौँ संस्करणमा चण्डिका ग्रुपसँग मुख्य प्रायोजकका रूपमा सम्झौता गरिएपछि प्रतियोगिताको पाँचौँ संस्करणको नाम चण्डिका ग्रुप लिटिल फ्लावर प्रिमियर लिग हुने भएको छ ।

लिटल फ्लावर स्पोर्टस एण्ड इभेन्ट्सले प्रतियोगिताको मुख्य प्रायोजन सम्झौता गरेको जानकारी दिएको हो । आयोजकका तर्फबाट इभेन्ट्सका अध्यक्ष रामचन्द्र शाही र चण्डिका ग्रुपका तर्फबाट निर्देशक श्याम कुँवरले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । कैलालीको टीकापुरमा रहेको चण्डिका ग्रुपले खाद्यान्न, हार्डवेयर तथा आयात निर्यातको व्यवसाय सञ्चालन गर्दै आएको छ ।

लिटिल फ्लावर स्पोटर्स एन्ड इभेन्ट्सका अध्यक्ष रामचन्द्र शाहीले विद्यालयस्तरबाटै खेलाडी उत्पादन गर्न प्रतियोगिता आयोजना गरिएको जानकारी दिए । लिग कम नकआउटमा खेलाइने प्रतियोगिता धनगढीस्थित सङ्घीय प्रहरी एकाइको खेल मैदानमा हुनेछ । प्रतियोगितामा विद्यालयस्तरका १९ वर्षमुनिका खेलाडीले सहभागिता जनाउनेछन् । देशभरका करिब १२ विद्यालय प्रतियोगितामा सहभागी हुने शाहीले जानकारी दिए ।

विगतका वर्षभन्दा पुरस्कार राशि पनि यो वर्ष घटाइएको छ । चौथो संस्करणको विजेताले दुई लाख र उपविजेताले एक लाख पाएकामा यसपालि विजेतालाई  एक लाख र उपविजेतालाई ५० हजार दिइनेछ । “कोरोना महामारीको बीचमा प्रतियोगितालाई निरतन्तरता दिन सक्नु नै ठूलो हो”, अध्यक्ष शाहीले भन्, “प्रतियोगिता क्रिकेटको जग हो । हाम्रो उद्देश्य क्रिकेट खेलको विकास गर्ने हो । त्यसैले जग बलियो बनाउनका लागि नरोक्ने निर्णयमा पुगेका हौँ ।”

 

Logo