ललितपुर ।
शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत एघारौँ चरणको आफ्नो खेलमा नेपाल पुलिस क्लब विजयी हुँदै लिगको पाँचौँ स्थानमा पुगेको छ । ललितपुरको सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्सको खेलमैदानमा शुक्रबार भएको खेलमा पुलिस क्लबले ब्रिगेड ब्वाइज क्लबलाई १–० गोलले पराजित गरेको हो ।
पुलिसका लागि भरत साहले निर्णायक गोल गरे । उनले खेलको २९ औँ मिनेटमा गोल गरेका हुन् । खेलको ‘म्यान अफ दी म्याच’ पुलिसका तेज तामाङ घोषित भए । जीतसँगै पुलिसले ११ खेलमध्ये पाँचमा जीत, दुईमा हार तथा चारमा बराबरी खेल्दै १७ अङ्क जोडेको छ । यस्तै ब्रिगेड ब्वाइजले ११ खेलमध्ये आठ अङ्क बटुलेर लिगको ११ औँ स्थानमा छ ।
शनिबार ११ औँ चरण अन्तर्गत दुई खेल हुनेछन् । पहिलो खेल हिमालयन शेर्पा क्लब र च्यासल युथ क्लबबीच एन्फा कम्प्लेक्स सातदोबाटोमा बिहान साढे ११ बजे हुनेछ । दोस्रो खेल सशस्त्र प्रहरी बलको मुख्यालय हलचोकमा मनाङ–मस्र्याङ्दी क्लब र न्यू रोड टोलीबीच दिउँसो ३ बजे हुनेछ । जारी लिगमा हलचोकमा पहिलोपटक खेल हुन लागेको हो ।





























प्रतिक्रिया