गोक्यो तालमा स्केटिङ प्रतियोगिता

गोक्यो तालमा स्केटिङ प्रतियोगिता

केन्द्रबिन्दु
0
Shares

  • सृजना राई

काठमाडौं । सगरमाथा क्षेत्र ‘एड्भेन्चर टुरिजम’को उत्तम हब हो । त्यही सगरमाथा क्षेत्रमा आइस स्केटिङ र आइस हक्कीको आयोजना हुने भएको छ । पर्यटन प्रर्वद्धन गर्न भन्दै नेपाल भ्रमण वर्ष सचिवालयले आयोजना गर्न लागेको पत्रकार सम्मेलनमबाट जानकारी गराएको छ ।

नेपाल सरकारले सन् २०२० मा २० लाख पर्यटन भित्र्याउने लक्ष्यसहित नेपाल भ्रमण वर्षको रुपमा मनाउने घोषणानुसार साहसिक पर्यटकलाई आकर्षित गर्न उक्त प्रतियोगिता गर्न लागेको आयोजकले जनाएको छ । नेपाल भ्रमण वर्ष सचिवालयका संयोजक सुरज बैद्यका अनुसार सगरमाथा क्षेत्रको गोक्यो तालमा आगामी फेब्रुअरी १४ का दिन मैन्त्रीपूर्ण आइस हक्की र आइस स्केटिङ प्रतियोगिता आयोजना हुने भएको छ ।

हिमाली क्षेत्रमा धेरै खर्च गरेर जाने पर्यटकलाई आकर्षित गर्न र अफ सिजनमा समेत नेपालमा पर्यटकहरुलाई भित्र्याउनका लागि यो खेल महत्वपूर्ण हुने विश्वास गरिएको छ । विश्वभरी खुला तालमा हुने यस्ता प्रतियोगिताहरु प्रसिद्ध छन् । नेपालको हिमाली क्षेत्रमा रहेको ठूलो संभावनालाई नेपाल भ्रमण वर्षले एउटा नयाँ उत्पादनका रुपमा अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउने लक्ष्य अनुसार आइस हक्की र आइस स्केटिङ आयोजना गर्न लागिएको हो ।

गोक्यो ताल सोलुखुम्बु जिल्लाको ४ हजार ७ सय ९० मिटर उचाईमा अवस्थित छ । यो प्रतियोगिता संसारकै अग्लो स्थानमा आयोजना हुने पहिलो आइस हक्की र आइस स्केटिङ प्रतियोगिता भएको सचिवालयले दाबि गरेको छ । प्रतियोगितामा अमेरिका, क्यानडा, रसिया र इण्डिया राष्ट्रहरु सहभागि हुदैछ ।

रामसार क्षेत्रमा सूचिकृत गोक्यो क्षेत्र हिमपात र मनमोहक हिमाली दृश्यका लागि आकर्षक मानिन्छ । यस ठाउँमा स्वदेशी तथा विदेशी पर्यटकको मुख्य रोजाइको क्षेत्र पनि हो । सगरमाथा राष्ट्रिय निकुञ्जभित्र रहेको यो तालमा पानी जमेर अहिले आइस हक्की र आइस स्केटिङ प्रतियोगिताका लागि उपयुक्त स्थानका रुपमा रुपान्तरण भएको छ ।

अमेरिकी विशेषज्ञहरुको टोलीले तीन सातासम्म स्थलगत अध्ययन गरी सो क्षेत्र खेलका लागि उपयुक्त भएको निश्कर्ष निकालेको हुँदा आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । गोक्यो क्षेत्रमा ६ वटा मूख्य तालहरु रहेका छन् । सन् २००७ देखि गोक्यो ताल रहेको ७ हजार ७ सय ७० हेक्टर क्षेत्रलाई रामसार क्षेत्रको रुपमा घोषणा गरिएको थियो ।

नेपालीले समेत नियमित अभ्यास गर्न सकुन भनेर अमेरिकास्थित ग्राफ स्केट्चले ३१ वटा स्केट्स सुज समेत सहयोग गरेको छ । त्यस्तै अमेरिकाकै स्क्रिन प्रिन्टिङ एन्ड कस्टम अप्पेरियलले हक्कीको लागि जर्सी र पक सहयोग उपलब्ध गराएको छ ।

गोक्यो क्षेत्रमा हुन लागेको यस आइस स्केटिङ र आइस हक्की प्रतियोगितामा ट्रेकिङ एजेन्सीज एशोसियन अफ नेपाल (टान)को समेत सहयोग रहने सचिवालयले जनाएकाे छ ।

Logo