शहीद स्मारक लिग : अपराजित रहँदै मनाङ शीर्ष स्थानमा

शहीद स्मारक लिग : अपराजित रहँदै मनाङ शीर्ष स्थानमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ ।

शहीद स्मारक ए डिभिजन लिगको तेस्रो चरणका खेल सकिँदासम्म मनाङ मस्र्याङ्दी क्लब शीर्ष स्थानमा छ । तीन खेलमा शतप्रतिशत नतिजा निकाल्दै मनाङ नौ अङ्कका साथ शीर्ष स्थानमा उक्लिएको हो ।

दुई खेलमा जीत र एक खेलमा बराबरी खेलेको थ्रीस्टार सात अङ्कसहित लिगको दोस्रो स्थानमा छ । दुई खेलमा जीत र एकमा बराबरी खेल्दै ६ अङ्कका साथ मच्छिन्द्र क्लब भने तेस्रो स्थानमा छ । यस्तै दुई खेलमा जीत तथा एकमा हार बेहोरेको त्रिभुवन आर्मी क्लब ६ अङ्कसहित लिगको चौथो स्थानमा छ । जावलाखेल युथ क्लब एकमा जीत दुईमा बराबरी खेल्दै पाँच अङ्कका साथ पाँचौँ स्थानमा, न्युरोड टिम दुई खेलमा जीत र एकमा पराजित हुँदै चार अङ्कका साथ छैटौँ स्थानमा छ ।

नेपाल पुलिस क्लब एउटामा जीत एउटामा हार तथा एउटामा बराबरी खेल्दै चार अङ्क जोडेर सातौँ स्थानमा तथा च्यासल युथ क्लब एक खेलमा जीत, एकमा हार र एउटामा बराबरी खेल्दै चार अङ्कसहित आठौँ स्थानमा छ । उनीहरु समान अङ्क भए पनि गोल अन्तरका आधारमा सातौँ र आठौँ भएका हुन् । सङ्कटा क्लब एउटा खेलमा जीत, एकमा हार तथा एउटामा बराबरी खेल्दै चार अङ्कका साथ नवौँ स्थानमा छ ।

ब्रिगेड ब्वाइज क्लब एउटामा जीत दुई खेलमा हार बेहोर्दै तीन अङ्कसहित लिगको दशौँ स्थानमा तथा हिमालयन शेर्पा क्लब एक खेलमा हार दुईमा बराबरी खेलेर दुई अङ्कका साथ ११ औँ स्थानमा तथा सशस्त्र प्रहरी बलको एपीएफ क्लब दुई खेलमा हार र एकमा बराबरी खेल्दै दुई अङ्कसहित १२ औैँ स्थानमा छ । लिगको तेस्रो चरणको सबै खेलमा पराजित रहेका फेन्डस् क्लब र सरस्वती युथ क्लब अङ्कविहीन अवस्थामा छन् ।

चौथो चरणका खेल आजदेखि

शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत चौथो चरणका खेल आजदेखि शुरु हुँदैछन् । चौथो चरणका सबै खेल सातदोेबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्सको खेल मैदानमा खेलाइने छ । दशरथ रङ्गशालमा नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन कार्यक्रम हुने भएकाले चौथो चरणका सबै खेल सातदोबाटोमा खेलाउनु परेको एन्फाले जनाएको छ । सातदोबाटोमा आज न्युरोड टिम र मच्छिन्द्र क्लबबीच तथा मनाङ मस्र्याङ्दी क्लब र फ्रेण्ड्स क्लबबीच खेल हुनेछ ।
रासस

Logo