- विवश कुलुङ
काठमाडौं, १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता मंगलबार सम्पन्न भएको छ । प्रतियोगितामा नेपालले ५१ वटा स्वर्ण पदक जित्दै आफ्नाे लक्ष्य पूरा गरेको छ । घरेलु मैदानको भरपुर सदुपयोग गर्दै ९ जना नेपाली खेलाडीले इतिहास समेत रचेका छन् । यसैकारण १३ औं साग नेपालका लागि ऐतिहासिक सफलता सावित भयो ।
तीन सय १७ स्वर्ण पदकका लागि भएको प्रतियोगितामा ५१ स्वर्ण पदकमाथि कब्जा जनाएपनि यो उपलब्धीमुलक र ऐतिहासिक भन्न गाह्रो भएको छ । नेपालकै पहलमा सन् १९८४ बाट सुरु भएको दक्षिण एसियाली खेलकुद प्रतियोगिताको १३ औं संस्करणसम्म आइपुग्दा संख्यात्मक रुपमा धेरै देखिएको मात्र हो । यसअघि नेपालले सबैभन्दा धेरै ३१ स्वर्ण सन् १९९९ को घरेलुस्थानमा भएको प्रतियोगितामा जितेको थियो । त्यतिबेला भएको ८ औं संस्करणको स्वर्ण र यस वर्ष सम्पन्न भएको १३ औं संस्करणको स्वर्ण संख्यात्मक तथ्याङ्कले २० वटा बढि जितेको सत्य हो । तर औसतमा भने कमजोर तथ्याङ्क हो ।
सन् १९९९ मा सम्पन्न खेलमा १६२ स्वर्णको लागि प्रतिस्पर्धा गर्दा ३१ स्वर्ण जित्नु भनेको सबै स्वर्णको करिब २० प्रतिशत आफ्नो पोल्टामा पार्न सफल भएको थियो । ८ औं संस्करणको खेलबाट थप १० रजत र २४ काश्य समेत हात पारेको थियो । उक्त ८ औं संस्करणको प्रतियोगितामा एथ्लेक्सि, बक्सिङ, फुटबल, कबड्डी, कराँते, सुटिङ, पौडी, टेबल—टेनिस, तेक्वान्दो, भलिबल, जुडो र कुस्ती गरी १२ खेल मात्र समावेश थियो । तर मंगलबार मात्र सम्पन्न खेलमा २८ वटा इभेन्टमा ३१६ स्वर्णका लागि भएको प्रतियोगितामा नेपालले ५१ स्वर्ण जित्नु भनेको औसतमा १६ प्रतिशत स्वर्ण मात्र आफ्नो पोल्टामा पार्न सक्नु हो । घरेलु मैदानमा २० वर्ष पछि भएको साग गेमको समग्र प्रतिशतको आधारमा करिब ४ प्रतिशत खस्किएको भन्न सकिन्छ ।
तर १३औं साथ खेलकुद प्रतियोगितामा नेपालका ९ जना खेलाडीहरूले इतिहास रचेका छन् । पौडीकी गौरिका सिंहको चार स्वर्ण, करातेका मण्डेकाजी श्रेष्ठ, तेक्वान्दोकी आयशा शाक्य र गल्फका सुभाष तामाङले यसै संस्करणमा २–२ स्वर्ण जितेर ऐतिहासिक रेकर्ड कायम गरे । त्यस्तै नेपालले यसअघि साइक्लिङमा स्वर्ण जितेको इतिहास थिएन । यसपटक नेपालले ८ स्वर्णमध्ये चार स्वर्ण हात पार्यो । गल्फमा पनि पहिलो पटक स्वर्ण जित्ने क्रममा सुभाष तामाङले व्यक्तिगत र टिममा नेपाललाई दुई स्वर्ण दिलाए । कुस्तीमा संगीता धामीले इतिहास कोरिन् । उनले नेपाललाई पहिलो पटक कुस्तीमा स्वर्ण दिलाएकी हुन् । एथलेटिक्सतर्फ सन्तोषी श्रेष्ठ सागमा स्वर्ण जित्ने पहिलो महिला बनेकी छन् ।
सम्पन्न १३ औं सागकाे २८ प्रतियोगितामध्ये पोखरामा ८ खेल भयो । पोखरामा आर्चरी, भारोत्तोलन, ह्याण्डबल, फुटबल, विच भलिबल, ट्राइयाथोलन, ब्याडमिन्टन र महिला क्रिकेट खेल सम्पन्न भएको हो । काठमाडौंमा एथ्लेटिक्स, बास्केटबल, बक्सिङ, क्रिकेट, साइक्लिङ, पुरुष फुटबल, कराँते, कबड्डी, खो–खो, पौडी, टेबल टेनिस, भलिबल, हुस्सु, जुडो खेल सम्पन्न भएको छ भने जनकपुरमा जुँडो खेल सम्पन्न हुँदा यस वर्षको १३ औं सागमा नेपालका ५६९ खेलाडीहरूले सहभागीता जनाएका हुन् ।
नेपालका लागि खेल्ने खेलाडीहरूको बाध्यता, सरकारले गरेको बेवास्ता, स्रोतसाधनको अभाव, खानपान सन्तुलनमा समेत नेपाली खेलाडीले भोगेको समस्याका वावजुद ५१ औं स्वर्णसहित ६० रजत र ९५ काश्य जित्नु चानचुने कुरा भने होइन । साथै कुनैपनि पदक जितेपछि दिने प्रोत्साहन रकमले मात्र खेलाडी र खेल उकास्न नसकिने भएकोले खेल क्षेत्रको भौतिक निर्माण, सामाग्री, प्रशिक्षण र दिर्घकालिलन सुरक्षामा समेत लगानीको लागि सरकार तयार हुनु आवश्यक देखिन्छ ।





























प्रतिक्रिया