राष्ट्रिय खेलकुद परिषद् र कृषि बिकास बैंकबीच सम्झौता

राष्ट्रिय खेलकुद परिषद् र कृषि बिकास बैंकबीच सम्झौता

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) र कृषि बिकास बैंकबीच सम्झौता भएको छ । राखेपका सदस्य–सचिव रमेशकुमार सिलवाल र कृषि बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायबीच मंगलवार सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

दश बर्षे सम्झौता पत्र आदान प्रदान गर्दै सदस्य सचिव सिलवालले भने, ‘सहकार्यले दुवै संस्थालाई एक ठाउँमा ल्याएको छ । यसको लाभ स्वभाविक रुपमा दुवैलाई मिल्छ । बैंकहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत छुट्याएको बजेटको २५ प्रतिशत रकम मात्र खेलकुदमा लगानी गर्न सके महत्वपूर्ण योगदान हुनेछ ।’

उनले भने, ‘लगानी गरे परिणाम आउँछ । खेलकुद रिजल्ट दिन सक्षम छ । हामी परिणाम दिएर राष्ट्रको गौरब बढाउँछौं । लगानीमा हामीलाई साथ दिनुहोस् ।’

बैंकका प्रमुख कार्यकारी अधिकृत उपाध्यायले नेपाली खेलकुदसँग प्रत्यक्षरुपमा जोडिन पाउँदा संस्थाले गौरव महशुश गरेको बताए । उनले नेपाली खेलकुदको विकास र विस्तारमा योगदान पुर्याउने उद्देश्यले सहकार्यका लागि अगाडि बढेको बताए ।

प्रमुख कार्यकारी अधिकृत उपाध्यायले भने, ‘भलिबलका १० जना राष्ट्रिय खेलाडीलाई संस्थामा आवद्ध गरेर खेलकुदमा संलग्नता गरेको संस्था पूनः खेलकुदसँग जोडिएको छ । अवश्य पनि नतिजा फलदाय हुनेछ ।’

‘केन्द्रमा मात्र हैन । जिल्ला, प्रदेशमा रहेको हाम्रो संस्थाको माध्यमले पालिका सम्म सहकार्य गर्न सकिन्छ ।’ उनले थपे । सम्झौतामा कर्मचारी कर्जा तथा सापट सम्वन्धि ५ बर्ष स्थायी सेवा अवधि पूरा गरेका कर्मचारीलाई बिना धितो १५ लाख सम्मको तलबी खाता कर्जा उपलब्ध गराउनेछ ।

परिषद्ले संचालन गर्ने तालिम र सेमिनारमा बैंकका तालिम केन्द्र लगायतका पूर्वाधार प्रयोग गर्दा बैंकले तालिम संचालनमा जारी गरेको दरमा ५० प्रतिशत छुट दिनेछ । खेलकुदको विकास र विस्तारका लागि केन्द्रदेखि पालिकासम्म सहमति अनुसार खेल गतिबिधिमा सहकार्य गर्न सकिने उल्लेख छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर परिषद्लाई भौतिक सामाग्री उपलब्ध गराउन सक्नेछ । परिषद्ले संचालन गरेका कुनैपनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताको टिकट छपाई बैंकले गरिदिन सक्ने उल्लेख छ ।

बैंकले छपाई गरेको टिकटमा संस्थाको ब्यवसायिक सन्देश राखिनेछ । बैंकिङ कारोवारका लागि बैंकले परिषद्को बैंकिङ पार्टनर भई काम गर्नेछ ।

Skip This
Skip This
Logo