करण केसीको उत्कृष्ट प्रदर्शनमा नेदरल्यान्डविरुद्ध नेपाल विजयी

करण केसीको उत्कृष्ट प्रदर्शनमा नेदरल्यान्डविरुद्ध नेपाल विजयी

केन्द्रबिन्दु
0
Shares

ओमानमा जारी ५ राष्ट्र सम्मिलित टि–ट्वान्टी सिरिजमा लगातार दोस्रो जीत हात पार्ने क्रममा नेपालले नेदरल्यान्डलाई ४ विकेटले पराजित गरेको छ ।

नेदरल्यान्डले दिएको १ सय ३४ रनको लक्ष्य नेपालले १ बल बाँकी छँदै ६ विकेटको क्षतिमा पूरा गरेको हो । जितसँगै नेपाल अंकतालिकाको शीर्ष स्थानमा पुगेको छ ।

अन्तिम समयमा करण केसीले १४ बलमा ३१ रन बनाएर असम्भवप्रायः बनिसकेको खेलमा नेपाललाई विजयी बनाएका हुन् । केसीले ब्याट मात्र नभई बलिंगतर्फ पनि उत्कृष्ट प्रदर्शन गरेका छन् । उनले ३.३ ओभर बलिंग गर्दै १७  रन दिएर नेदरल्याण्डको ४  विकेट चप्काए ।

अन्तिम ओभरको पहिलो बलमा छक्का प्रहार गरेका करणले दोस्रो बल डट खेले । तेस्रो बलमा उनले चौका निकाले भने चौथो बलमा फेरि छक्का हान्दै स्कोर बराबरी । पाचौं बलमा  एक रन लिँदै उनले नेपाललाई जित दिलाए ।

नेपालका लागि कप्तान पारस खड्काले ४१ बलमा सर्वाधिक ३३ रन बनाए भने विनोद भण्डारीले २२ बलमा २६ रन बनाए । अन्य ब्याट्सम्यानहरूले दोहोरो अंक बनाउन सकेनन् ।

बलिंगतर्फ नेपालका लागि करणले लिएको ४ विकेटबाहेक सन्दिप लामिछानेले ४ ओभरमा २० रन खर्चेर ४ विकेट तथा लक्ष्मण राजवंशीले ४ ओभरमा २८ रन दिएर १ विकेट हात पारे ।

नेपाली बलरविरुद्ध नेदरल्यान्ड्सका कुनै पनि ब्याट्सम्यानले खुलेर खेल्न सकेनन् । उसले १९.३ ओभरमा सबै विकेट गुमाएर १३३ रन मात्र बनाउन सक्यो । पहिलो विकेट सस्तैमा गुमाएको उसका म्याक्स ओ’डाउडले स्टोनिओ स्टल र कोलिन एकरम्यानसँग मिलेर पारी सम्हाले ।

दोस्रो विकेटका लागि स्टलसँग ४१ रनको साझेदारी गरेका ओ’डाउडले तेस्रो विकेटका लागि एकरम्यानसँग ४७ रनको साझेदारी गरे । तेस्रो विकेटका रूपमा एकरम्यान आउट हुँदा नेदरल्याड्सको स्कोर ९७ रन थियो । तर नेदरल्यान्डले थप ३६ जोड्दा सबै विकेट गुमायो । ओ’डाउडले ४३ रन बनाए । एकरम्यानले २९ र स्टलले २१ रन बनाए ।

Logo