सागमा हुने आर्चरी खेलका लागि १६ खेलाडी छनोट

सागमा हुने आर्चरी खेलका लागि १६ खेलाडी छनोट

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

आगामी मङ्सिर १५ देखि २४ गतेसम्म नेपालमा आयोजना हुने १३ औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) मा आर्चरीका लागि १६ खेलाडी छनोट गरिएका छन् ।

भदौ २८ गतेदेखि आजसम्म पोखरा रङ्गशालाको आर्चरी मैदानमा सञ्चालन भएको छनोट प्रतिस्पर्धाबाट १७ पुरुष र ११ महिलामध्येबाट रिकर्भका लागि चार÷चारजना पुरुष तथा महिला खेलाडी छनोट गरिएका नेपाल आर्चरी सङ्घका अध्यक्ष दीपकराज गुरुङले बताउनुभयो ।

पुरुषतर्फ असिम शेरचन (पोखरा), रोशन नगरकोटी (आर्मी), डम्बरबहादुर थापा (आर्मी), तिलक पुन मगर (प्रहरी) तथा महिलामा मित्र राई (आर्मी), ज्ञानु अवाले (आर्मी), विष्णुमाया लिम्बू (पोखरा) र आइसा तामाङ (आर्मी) रहेका छन् । आर्चरीमा रिकर्भ र कम्पाउण्ड क्याटेगोरीमा प्रतिस्पर्धा हुनेछ । कम्पाउण्डतर्फ भने यस अघिनै चार पुरुष र चार महिला खेलाडी छनोट गरी सकिएका खेलाडी छनोट समितिका संयोजक वसन्त थकालीले जानकारी दिनुभयो ।

जसमा पुरुषतर्फ रमेश भट्टचन (काठमाडौँ) सनातन मल्ल (काठमाडौँ), योगेन्द्र शेरचन (पोखरा) र मीनप्रसाद गौचन (काठमाडौं) छन् । महिलातर्फ पार्सदा आचार्य (काठमाडौं) मोनिका राना (पोखरा), रश्मी दर्लामी मगर (पोखरा) र मञ्जु बजगाईँ (आर्मी) रहेका छन् । सागमा छनोट भएका खेलाडीको बन्द प्रशिक्षण आगामी असोज १ गतेदेखि पोखरा रङ्गशालामा शुरु हुने सङ्घले जनाएको छ ।

सागमा आर्चरीतर्फ १० स्वर्ण, १० रजत र १० काश्य पदकका लागि प्रतिस्पर्धा हुनेछ । रिकर्भ पुरुष व्यक्तिगत, पुरुष टिम इभेन्ट, मिक्स, महिला व्यक्तिगत तथा महिला समूह र कम्पाउन्ड पुरुष व्यक्तिगत, पुरुष टिम इभेन्ट, मिक्स, महिला व्यक्तिगत तथा महिला समूह इभेन्ट पदका लागि प्रतिश्पर्धा हुने थकालीले जानकारी दिनुभयो ।

श्रीलङ्काको कोलम्बोमा भएको सागको १० औँ संस्करणबाट आर्चरी खेल प्रतियोगितामा समावेश गरिएको थियो । पहिलोपटक कुनै पनि पदक नजितेको नेपालले ११ औँ संस्करणमा रिकर्भ क्याटेगोरीमा पुरुष टिम इभेन्टमा काश्य पदक प्राप्त गरेको थियो भने १२ औँ सागमा रिकर्भतर्फ पुरुष व्यक्तिगतमा काश्य पदक ल्याएको थियो । यसपटक घरेलु मैदानमा प्रतियोगिता सञ्चालन हुने भएकाले स्वर्ण पदकको आशा गरिएको र खेलाडीले समेत सोही अनुसार कडा मेहनत गरिरहेका सङ्घका अध्यक्ष गुरुङले बताउनुभयो ।
रासस

Logo