पोखरा ।
राष्ट्रिय खेलकूद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले आगामी फागुन २० देखि गण्डकी प्रदेशमा तय गरिएको नवौँ राष्ट्रिय खेलकूद प्रतियोगिता सञ्चालनको अवस्था नरहेको बताएका छन् ।
मदन भण्डारी स्पोर्टस् एकेडेमी गण्डकी प्रदेशले विहिबार पोखरा रङ्गशालामा आयोजना गरेको खेलाडी सम्मान कार्यक्रममा उनले खेलकूदले माहोल सिर्जना गर्नुपर्नेमा यस वर्ष कोभिड–१९ का कारण अप्ठ्यारो अवस्था रहेकाले राष्ट्रिय खेलकूद सञ्चालन गर्ने अवस्था नरहेको स्पष्ट पारे । उनले भने, “नवौँ राष्ट्रिय खेलकूद फागुन २० देखि गण्डकीमा गर्दछौँ भनेर घोषणा गरेका थियौँ तर अहिले तोकिएको मितिमा सञ्चालन गर्ने अवस्था छैन, अब विसं २०७८ भित्र प्रतियोगिता सञ्चालन गर्न सक्छौँ ।”
सदस्य सचिव सिलवालले स्थानीय, जिल्ला र प्रदेशमा प्रतियोगिता आयोजना गरेर राष्ट्रिय प्रतियोगिता सञ्चालन हुने र राम्रो खेलाडी उत्पादन गर्ने गरी राष्ट्रिय खेलकूदको तयारी गरिनेसमेत स्पष्ट पारे ।
उनले सङ्घ सरकारसँगै प्रदेश र स्थानीय तहहरुले पनि खेलकूद उत्पादनमूलक क्षेत्र हो भन्ने बुझेर खेल पूर्वाधार तथा खेलाडी उत्पादनमा लगानी गर्नु पर्नेमा जोड दिए।
मदन भण्डारी स्पोर्टस् एकेडेमीका केन्द्रीय अध्यक्ष विनोद श्रेष्ठले फाउण्डेशनले खेल क्षेत्रको पूर्वाधार निर्माण र खेल क्षेत्रमा लाग्नेहरुको हौसला अभिवृद्धिमा सहयोग गर्दै आएको बताए ।
गण्डकी प्रदेश विधायन समितिका सभापति एवं फाउण्डेशनका उपाध्यक्ष मोहन रेग्मीले प्रदेश सरकारले खेलकूद विकासलाई प्राथमिकतामा राखेको बताए । फाउण्डेशनका गण्डकी संयोजक एवं राखेप सदस्य राजेशकुमार गुरुङले खेल सङ्घ, पदाधिकारी, सञ्चारकर्मीलगायत सबै पोखरेलीको सहयोगले साग भव्यरूपमा सम्पन्न भएको बताउँदै खेलाडी तथा सहयोगीहरुको योगदानको कदर गर्न सम्मान कार्यक्रम आयोजना गरिएको बताए।
स्वर्ण विजेता खेलाडी सम्मान तथा आर्थिक सहयोग प्रदान
मदन भण्डारी स्पोर्टस् एकेडेमीले नेपालमा गत वर्ष सम्पन्न १३ औँ दक्षिण एशियाली खेलकूद (साग) मा बक्सिङतर्फ स्वर्ण पदक विजेता खेलाडीसहित साग सफल पार्न सहयोग गर्ने व्यक्ति तथा सङ्घसंस्थालाई नगदसहित सम्मान गरेको छ ।
सो अवसरमा राखेपका सदस्यसचिव सिलवालले बक्सिङतर्फ सागमा स्वर्ण पदक विजेता नेपाल पुलिसका भूपेन्द्र थापामगर तथा नेपाल आर्मीका मीनु गुरुङ र सुनिल शाहीलाई जनही रु ५१ हजार ५०० सहित सम्मान गरेका थिए ।
एकेडेमीले सागमा पोखरामा सञ्चालन भएका आठ वटा खेललाई सफल बनाउन भूमिका खेल्ने खेल सङ्घ, सागका १३ विषयगत समिति र खेलकूदका कर्मचारीलाई प्रशंसापत्र तथा नगदले सम्मान गरेको थियो ।
यसैगरी पत्रकार महासङ्घ गण्डकी प्रदेश, कास्की शाखा र खेलकूद पत्रकार मञ्चलाई पनि २१ हजारका दरले नगद तथा सम्मानपत्रद्वारा सम्मान गरिएको थियो । वर्ल्ड पावर लिफ्टिङ च्याम्पियनसीपमा पदक जित्ने खेलाडी तथा खेल पत्रकारलाई समेत नगदसहित सम्मान गरिएको थियो ।
यसैगरी प्याराग्लाइडिङ दुर्घटनामा निधन भएका पाइलट तथा कराते खेलाडी राजु गैरे (नेपाली) का परिवारलाई रु एक लाख एक हजार १११, टेनिस खेलाडी स्व सुरज नगरकोटीको परिवारलाई रु ५० हजार ५५० आर्थिक सहयोग प्रदान गरिएको थियो । पूर्व भलिवल खेलाडी तथा प्रशिक्षकसमेत रहेका जीवन चौधरीलाई रु ७० हजार ७७०, राष्ट्रिय महिला भलिवल खेलाडी लक्ष्मी कुमाललाई रु २१ हजार १११ र क्रिकेट खेलाडी सन्तोष न्यौपानेलाई रु ३० हजार ३३० आर्थिक सहयोग प्रदान गरिएको एकेडेमीका सचिव कृष्ण तिमिल्सिनाले जानकारी दिए।रासस





























प्रतिक्रिया