आईपीएल आजदेखिः भिड्दै छन् चेन्नई र बैंग्लाेर, हेड टु हेडमा काे बलियाे ? [भिडियाे]

आईपीएल आजदेखिः भिड्दै छन् चेन्नई र बैंग्लाेर, हेड टु हेडमा काे बलियाे ? [भिडियाे]

केन्द्रबिन्दु
98
Shares

इन्डियन प्रिमियर लिग(आईपीएल)२०२४ सुरु हुन केही समय मात्रै बाँकी छ । विश्वमै सबैभन्दा प्रसिद्ध क्रिकेट फ्रेन्चाइजका रुपमा परिचित आइपीएलले पछिल्लो वर्ष १० हजार करोड भन्दा बढी भारतीय रकम कमाई गरेको थियो । विश्वभरका सुपरस्टार खेलाडी र भारतीय उदियमान खेलाडीहरुलाई एकसाथ खेलाएर आफ्ना खेलाडीहरुलाई एक्पोेजर प्रदान गर्नका लागि सुरु भएको आइपीएल फ्रेन्चाइजमा अहिले संसारभरका नामी खेलाडीहरु खेल्न चाहन्छन् । ५२ दिन चल्ने क्रिकेटको महामेलामा यसपटक साबिक विजेता चेन्नई सुपर किङ्ससहित रोयल च्यालेन्जर्स बेङ्गलोर, गुजरात टायटन्स, सनराइजर्स हैदराबाद, कोलकाता नाइट राइडर्स, लखनउ सुपर जायन्ट्स, मुम्बई इन्डियन्स, पन्जाब किङ्ग्स, राजस्थान रोयल्स र दिल्ली क्यापिटल्ससहित १० वटा टोलीहरु सहभागी छन् ।

भारतीय क्रिकेट बोर्ड(बिसिसीआई)का अनुसार यो वर्ष ७४ वटा खेलहरु खेलाईने छ । जसमा ७ खेल आफ्नै प्राङगणमा खेलाइने छ भने ७ खेल विपक्षी टोलीको प्राङगणमा खेलाइने छ । १२ भिन्नाभिन्नै शहरहरुमा खेलाइने यो पटकको संस्करणमा हुने सबै खेलहरुको टिकट बिक्रि भइसकेका छन् । बिसिसीआईले यस संस्करणमा हुने सबै प्रतियोगिताहरुका लागि खेल मैदान, टोली र खेलको प्रकृतीहरु हेरेर टिकट मूल्य तोकेको छ । जसमा सबैभन्दा कम टिकटको मुल्य ५०० देखि २६ हजारसम्म राखेको छ ।

आज बेलुकी ८ः १५ बजेदेखि सुरु हुने १७औँ संस्करणको आईपीएलको उद्घाटन खेलमा साबिक विजेता चेन्नई सुपर किङ्स र रोयल च्यालेन्जर्स बेङ्गलोरबिच खेल हुने छ । त्यसअघि चेन्नईस्थित एम. ए. चिदम्बरम क्रिकेट रंगशालामा प्रतियोगिताको भब्य उद्घाटन गरिने छ । उद्घाटन समारोहमा बलिउडका चर्चित हस्तीहरुले आफ्नो प्रस्तुति दिनेछन् ।

रिपोर्टका अनुसार उद्घाटन समारोहमा चर्चित गायक एआर रहमान र सोनु निगमले प्रस्तुति दिनेछन् । यसका अतिरिक्त अक्षय कुमार, टाइगर श्रोफलगायतका चर्चित बलिउड कलाकारले पनि उद्घाटन समारोहमा आफ्नो प्रस्तुति दिनेछन् ।

उद्घाटन खेलमा चेन्नई सुपर किङ्स र रोयल च्यालेन्जर्स बैंग्लोर दुबै टोलीमा अनुभवी खेलाडीहरूको कमी छैन । दुई पूर्वभारतीय क्रिकेट टोलीका कप्तान बिराट कोहली र महेन्द्र सिंह धोनीसँग विदेशी खेलाडीहरूको राम्रो समिश्रण रहेको छ । यसै कारण प्रतियोगिताको उद्दघाटन खेलमा दुवै टोली विजयीका साथ सिजनको सुरुवात गर्न चाहन्छन् ।

आइपीएल इतिहासमा चेन्नई र बेंग्लोरबीच अहिलेसम्म जम्मा ३१ खेल भएको छ । जसमा डिफेन्डिङ च्याम्पियन चेन्नईले २० खेल जितेको छ भने बेंग्लोरले १० खेल मात्र जित्न सकेको छ । दुई टोलीबीचको एउटा खेलको नतिजा भने आएन ।
इतिहास र प्रदर्शनका हिसावले बिराट कोहलीको बेंग्लोरको तुलनामा महेन्द्र सिंह धोनीको चेन्नई धेरै अगाडि रहेको छ । तर, टी–२० क्रिकेटमा एक बलले खेल परिवर्तन हुने भएकाले यो ढाँचामा कुन टोलीले खेल जित्छ भन्न निकै गाह्रो छ ।
दुई टोलीले सन् २०२१ देखि २०२३ सम्म खेलेका पछिल्लो पाँच खेलमध्ये सीएसकेले चार खेल जितेको छ भने आरसीबीले एक खेल मात्र जितेको छ । गत सिजन पनि सीएसकेले बाजी मारेको थियो ।

सिजनको पहिलो खेल सीएसकेले आफ्नो घरेलु मैदान एमए चिदम्बरम स्टेडियममा खेल्दैछ । सीएसकेलाई उसको घरेलु मैदानमा हराउन कुनै पनि टोलीका लागि निकै सकसपूर्ण हुने गर्छ । त्यसमाथी सीएसकेको विशेषता नै हो कि उसले घरेलु अवस्था हेरेर मात्र आफ्नो टिम छनोट गर्छ ।

साथै धोनी आईपीएलको इतिहासमै सर्वाधिक सफल कप्तान हुन् । उनले हालसम्म चेन्नईलाई पाँचपटक आईपीएलको उपाधि जिताई सकेका छन् । यसपटक पनि धोनीको अनुभवबाट चेन्नईले महत्वपूर्ण उपलब्धिको आशा गरेको छ । खासगरी हरेक प्रतिद्वन्द्वीविरुद्ध उपयुक्त रणनीति बनाउन धोनी माहिर मानिन्छन् । तथापी यसपटक धोनीको टोलीमा केही कमजोरीहरु पनि देखिएका छन् । उनी आफैले योपटक कप्तानी छाडेका छन् । साथै ब्याटर डेभोन कनवे र बलर मथिसा पाथिराना घाइते भएका कारण चेन्नई यो सिजन केही दबाबमा छ । यसका अतिरिक्त चेन्नईमा तीव्र गतिका प्रभावशाली बलरको पनि अभाव देखिन्छ ।

चेन्नईको सबैभन्दा ठुलो कमजोरी माथिल्लो क्रमको ब्याटिङमा धेरै विकल्प नहुनु पनि एक हो । हाल चेन्नईसँग पाँचजना प्रभावशाली ब्याट्सम्यान त छन् तर त्यसमध्ये पनि कनवे घाइते अवस्थामा नै छन् । उनले आईपीएलको करिब आधा खेल गुमाउने सम्भावना छ ।

चेन्नईको टोलीमा तीव्र गतिका बलरको पनि अभाव देखिन्छ । हाल टोलीमा मुस्तफिजुर र शार्दुलका रूपमा दुईजना मध्यमतेज गतिका बलर त छन् तर, तीव्र गतिका प्रभावशाली बलर भने एकजना पनि छैनन् ।

यता बैंग्लोरको सबैभन्दा बलियो पक्ष ब्याटिङ नै हो । बैंग्लोरको टोलीमा छैटौँ नम्बरसम्म क्रिज समाल्न आउने ब्याट्सम्यान प्रभावशाली छन् । त्यसैले यो सिजनमा पनि पूर्व कप्तान विराट कोहली कप्तान फाफ डु प्लेसिससँग ओपनिङमा आउने सम्भावना छ । गत सिजन, उनीहरूको ओपनिङ जोडीले निकै राम्रो प्रदर्शन गरेको थियो ।

यस्तै, आरसिबीका लागि मिडल अर्डरमा ग्लेन म्याक्सवेल, सुयश प्रभुदेसाई, रजत पाटीदार र दिनेश कार्तिक जस्ता दिग्गज ब्याट्सम्यानहरु छन् । यसैगरी अल्जारी जोसेफ र लोकी फर्गुसनको आगमनले बैंग्लुरुको बलिङ पनि बलियो देखिएको छ । यति हुँदा हुँदै पनि बैंग्लोरको टोलीमा खेल जिताउन सक्ने स्पिनरहरूको भने निकै अभाव देखिन्छ । यो बैंग्लोरको सबैभन्दा कमजोर पक्ष पनि हो । टोलीमा स्पिनरका रूपमा मयंक डागर, राजन कुमार, हिमांशु शर्मा र करण शर्माजस्ता नयाँ खेलाडीहरु मात्र छन् । उनीहरूमा अनुभवको निकै कमी देखिन्छ । अब कुन टोलीले सुखद् सुरुवात गर्लान् त्यो भने खेलको नतिजाले नै बताउने छ ।

Logo