जीतपुरसिमरा क्रिकेट कपको उपाधिका लागि मकवानपुर र पर्सा भिड्दै

जीतपुरसिमरा क्रिकेट कपको उपाधिका लागि मकवानपुर र पर्सा भिड्दै

केन्द्रबिन्दु
84
Shares

बारा। जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिताको उपाधिका लागि आज मकवानपुर क्रिकेट संघ र पर्सा क्रिकेट संघ भिड्ने भएका छन्। समूह ‘बी’ को अन्तिम खेलमा शुक्रबार भैरहवालाई पराजित गर्दै मकवानपुर फाइनलमा प्रवेश गरेको हो।

पर्सा समूह ‘ए’ को विजेताको रुपमा फाइनल प्रवेश गरिसकेको छ । पर्साले आयोजक जीतपुरसिमरा स्पोर्टस् क्लब ७७ रन र कलैया क्रिकेट क्लबलाई पाँच विकेटले पराजित गरेको थियो।

यता समूह चरणको पहिलो खेलमा जनकपुरमाथि ३१ रनको जीत निकालेको मकवानपुरले दोस्रो जीत दर्ता गर्ने क्रममा खुकुरी क्रिकेट क्लब भैरहवालाई १५ रनले पराजित गरेको हो। टस हारेर व्याटिङको निम्तो पाएको मकवानपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४८ रन जोडेको थियो।

मकवानपुरका लागि तक्षक सिम्ख्डाले ५४ रन बनाए। उनले २४ बलमा ६ छक्का र एक चौका प्रहार गरे। यसैगरी मकवानपुरका गौरव खड्काले २७, युविन बुढाथोकीले २१, बिशाल फुयालले १९ र सक्षम वस्ताकोटीले ११ रन बनाए।

भैरहवाका रोशनलाल गुप्ताले चार ओभर बलिङ गर्दै ३१ रन खर्चिएर तीन विकेट लिए भने अजयकुमार चौहानले दुई र सन्तोष यादवले एक विकेट हात पारे।

रनरेटका आधारमा फाइनलमा पुग्न मकवानपुरले दिएको १४९ रनको लक्ष्य १४।५ ओभरमै भेट्टाउनुपर्ने बाध्यताका साथ मैदानमा उत्रिएको भैरहवाले १९.३ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १३३ मात्र रन जोड्न सफल भयो।

भैरहवाका रोशनलाल गुप्ताले २८, प्रज्वल थापाले २१, प्रकाश गिरी र अजय चौहानले समान १९ रन बनाए। मकवानपुरका सुवर्ण भट्टले तीन, पियुश शर्मा र बिशाल फुयालले समान २–२, समिर चौलागाई र अशिम श्रेष्ठले १–१ विकेट हात पारे।

भैरहवाले १४.५ ओरभमा लक्ष्य प्राप्त गरेको भए रनरेटका आधारमा समूह विजेता बन्दै फाइनलमा प्रवेश गर्ने थियो भने १६ ओभरमा मकवानपुरलाई पराजित गरेको जनकपुर पेस फाउण्डेशन अन्तिम दुईमा प्रवेश गर्ने थियो।

समूह ‘बी’ को यसअघिका खेलमा मकवानपुरले जनकपुरलाई ३१ रन र जनकपुरले भैरहवालाई ४८ रनले पराजित गर्दै समान २–२ अंक बटुलेका थिए। समूह ‘बी’ को अन्तिम खेलबाट फाइनल पुग्ने टोलीको टुंगो लागेको हो।

खेलको प्लेयर अफ दि म्याच मकवानपुरका तक्षक सिम्ख्डा घोषित भए। उनलाई जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोलाप्रसाद अधिकारीले पुरस्कृत गरेका थिए।

अभियान नेपालको आयोजना र जीतपुरसिमरा उपमहानगरपालिकाको सहयोगमा आयोजित प्रतियोगिताको उपाधि भिडन्त शनिबार हुनेछ। प्रतियोगिताको विजेताले एक लाख र उपविजेताले ५० हजार नगद प्राप्त गर्नेछन्।

Logo