नेपालले जित्यो आयरल्याण्ड वुल्भ्सविरुद्धको शृङ्खला, सोमपालकाे ह्याट्रिक विकेट

नेपालले जित्यो आयरल्याण्ड वुल्भ्सविरुद्धको शृङ्खला, सोमपालकाे ह्याट्रिक विकेट

केन्द्रबिन्दु
210
Shares

घरेलु टोली नेपालले आयरल्याण्ड वुल्भ्सविरुद्धको ट्वान्टी-२० शृङ्खलाको उपाधि जितेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार भएको दोस्रो तथा अन्तिम खेलमा नेपालले आयरल्याण्ड वुल्भ्समाथि ७१ रनको जित दर्ता गर्दै शृङ्खलामा क्लिनस्विप गरेको हो ।

हिजो भएको यस शृङ्खलाको पहिलो खेलमा नेपालले आयरल्याण्ड वुल्भ्सलाई छ विकेटले पराजित गरेको थियो ।

नेपालले जितका लागि दिएको १९९ रनको लक्ष्य पछ्याउने क्रममा आयरल्याण्ड वुल्भ्स १८.३ ओभरमा अलआउट हुँदै १२७ रनमै समेटियो । आयरल्याण्डका लागि ओपनर स्टफेन डोहेनी २६ रन जोडे । त्यस्तै, अर्का ओपनर रोस अदैर १७ रन, केड कार्मिचलले १८ रन, कप्तान नेल रकले १७ रन तथा ग्यारेथ डेलानीले १५ रन जोडे । अन्य खेलाडीले दोहोरो रनसमेत छुन सकेनन् ।

बलिङतर्फ नेपालका तीव्र गतिका बलर सोमपाल कामी र स्पिनर कुशल मल्लले समान ३/३ विकेट लिए । १९औं ओभरमा सोमपालले सानदार ह्याट्रिक विकेट लिए । कुशल भुर्तेल, रोहित पौडेल र करण केसीको नाममा एकएक विकेट रह्यो ।

त्यसअघि टस जितेर पहिले ब्याटिङको निर्णय लिएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १९९ रन जोडेको थियाे । नेपालका लागि अलराउण्डर गुलसन झाले सर्वाधिक ४६ रन जोडे । ठूलो शट खेल्ने धुनमा उनी अर्धशतकबाट भने चुके । ३२ बल खेलेका ४ छक्का प्रहार गरे ।

साथै कुशल मल्लले विष्फोटिङ ब्याटिङ गर्दै ३४ रन जोडे । १३ बलको सामना गरेका उनले एक् चौका र ४ छक्का प्रहार गरे । कप्तान रोहितकुमार पौडेलले ५ चौकाको मदतमा ३३ रन जोड्दा ओपनर कुशल भुर्तेलले २५ रन जोडे ।

सन्दीप जोराले पनि सानदार फिनिसिङ गरे । १० बल खेलेका उनले ३ चौका र एक छक्काको मदतमा २१ रन जोडे ।यसअघि नेपालले पहिलाे विकेटका रूपमा ओपनर आशिफ शेखलाई ११ रन बनाउँदा गुमाएको थियो । तेस्रो नम्बरमा क्रिज सम्हाल्न आएका अनिल साह पनि ११ बलमा दुई चौकाको मद्दतले १२ रन बनाउँदै पवेलियन फर्किए ।

बलिङतर्फ म्याथु फोस्टरले ३ विकेट तथा वेन ह्वाइटले २ विकेट लिए ।

आइसिसी टी–२० विश्वकपको तयारीस्वरुप नेपालले आयरल्याण्ड ‘ए’सँग उक्त अभ्यास खेलेको हो । आयरल्यान्डकाे टोलीमा रहेका १५ मध्येका ९ खेलाडीले आयरल्यान्डको राष्ट्रिय टोलीबाट प्रतिनिधित्व गरिसकेका छन् । नेपाली टोलीलाई एकीकृत भएर खेल्न आयरल्यान्डसँगको दुई खेल निकै महत्त्वपूर्ण रहेकाे छ ।

Logo